कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ५० जनाले एमबीबीएस अध्ययन गर्न पाउने



जुम्ला। 

  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा वर्षमा ५० जना  एमबीबीएस चिकित्सक उत्पादन हुने भएका छन् । चिकित्सा शिक्षा आयोगले हालै निर्धारण गरेको सिटमा प्रतिष्ठानले ५० जना नयाँ विद्यार्थी भर्ना गर्न पाउने भएको हो ।

यसअघि उसको कोटामा ३० सिट मात्रै थियो । २० सिटबाट चिकित्सा शिक्षाको स्नातक पढाउन थालेको प्रतिष्ठान अब चौथो ब्याचको भर्ना लिँदै छ । सुरुको वर्ष २० र त्यसपछिका दुई वर्षमा ३०–३० जना भर्ना लिएर एमबीबीएस पढाइरहेको छ ।

   प्रतिष्ठानमा अहिले ९० जना शिक्षक–प्राध्यापक छन् । दैनिक ६ सय जना भन्दा बढी बिरामी उपचारका लागि यहाँ आउने गर्छन्  । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने, ‘सञ्चालनमा आएको छोटो समयमै एमबीबीएसमा ५० जनाको सिट पाउनुलाई महत्त्वपूर्ण उपलब्धि मानेका छौँ । गुणस्तरलाई विशेष ध्यान दिएर अब केही वर्ष ५० सिट मात्रै पढाउने योजना छ ।’

प्रतिष्ठानले बीएमएस, बीफर्मा, एमडी–एमएस लगायतका विभिन्न विधाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै वर्षबाट बीएस्सी नर्सिङको पढाइ पनि सुरु गर्ने गरी पहिलो वर्ष २० जनालाई भर्ना लिने उपकुलपति डा. रावलले जानकारी दिए । उनले भने, ‘दुर्गम र पिछडिएको क्षेत्रमा सञ्चालित प्रतिष्ठान संसारकै एक नमुना बन्ने बाटोमा छ । तर, यति धेरै प्रगति गरिसक्दा पनि सरकारले खासै ध्यान नदिने गरेकोले अपेक्षित सहयोग भने पाएका छैनौँ ।’

प्रतिक्रिया दिनुहोस्