धार्मिक सद्भाव कायम गरियोस्



देशमा पछिल्लो समय धर्मको नाउँमा हिंसा भड्काउने र आक्रमणका घटनाहरु बढ्दै गएका छन् । ती गतिविधिहरु बढ्दै जाँदा धार्मिक समुदायबीच कतिपय अवस्थामा असामान्य अवस्थाहरू बन्दै आएका छन् । अहिले पूर्वी तराई–मधेस अशान्त छ । धार्मिक विषयलाई लिएर पूर्वी तराईमा आगजनी, तोडफोड र आक्रमणका घटनाहरु शृङ्खलाबद्धरुपमा भइरहेका छ । त्यसले गर्दा शान्ति सुरक्षामा गम्भीर असर पारेको छ । त्यसमाथि ती स्थानहरुमा हिन्दू समुदायमाथि मुस्लिम र मुस्लिम समुदायमाथि हिन्दूको आक्रमणका घटनाले झन् डरलाग्दो स्थितिलाई दर्शाउँछ । धर्मको आधारमा गरिने जुनसुकै विभेद निन्दनीय हुने अवस्थामा यसकै आधारमा हुने आक्रमणले साम्प्रदायिक सद्भावलाई खलबल्याएर ठूलो दंगा निम्त्याउन सक्छ । त्यसैले यस विषयमा संवेदनशील भई यस्ता घटनाको जड कारण नै निर्मूल गर्नुपर्ने खाँचो छ । यस घटनामा प्रशासनिकसँगै राजनीतिक ढंगले सम्बोधन गरिनुपर्छ ।

मधेससहित देशका विभिन्न भागमा साम्प्रदायिक घटना फैलिरहेका छन् । पूर्वको धरानदेखि, मधेसको सर्लाही हुँदै पहाडी इलाकामा फैलिरहेको साम्प्रदायिक दंगाले आपसी सद्भाव बिग्रिने त छँदैछ, यसले मुलुकको पनि हित गर्दैन । केही समयअघि धरानमा गोरु काटेर मासु खाएको कुरा सामाजिक सञ्जालमा छाएपछि त्यही निहुँमा दंगा भड्काउने प्रयास भयो । गोरुको मासु खाएको भनिएको भिडियो तथा तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि स्थिति तनावग्रस्त बनेको थियो । धरानमा त्यसअघि नै मन्दिरअगाडि चर्च बनाइएको विषय पनि निकै उचालिएको थियो । भलै, यो विषय बिस्तारै मत्थर भई ठूलो दुर्घटना हुनबाट जोगियो । तर पछि फेरि सर्लाहीको सदरमुकाम मलंगवामा कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा अर्को समुदायले अवरोध गरेको भन्दै विवाद भयो । विवाद बढ्दै गएर झडपकै स्थिति बन्यो ।

मुख्य त धनुषा, महोत्तरी, सर्लाही र पर्साका घटनालाई समग्ररुपमा हेर्नुपर्ने खाँचो छ । सुरक्षा निकायका प्रमुखले समेत साम्प्रदायिक दंगा चुनौतीका रूपमा अगाडि आएको बिफ्रिङ गर्दै आएका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, विविधतामा एकता, धार्मिक–सांस्कृतिक सहिष्णुता र सद्भाव नेपालको मौलिक पहिचान भन्ने विशेषता रहेकोमा केही समययता यसमाथि खलल, आँच पु¥याउने र कमजोर पार्ने प्रयत्न भइराखेको छ । यस्ता गतिविधि अन्जानमा भइराखेका छन् कि कुनै निश्चित प्रयोजनार्थ भइरहेका छन् भन्ने प्रश्न उठेको छ । यसरी धर्मका नाममा भइरहेका गतिविधिहरूलाई अहिले नै समाधान नगरे नियन्त्रणबाहिर नजाला भन्न सकिँदैन । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ ।

धर्म भनेको मानिसको निजी स्वतन्त्रता र आस्थाको विषय हो । नेपालले कानुनीरुपमा सबै धर्मप्रति सम्मान भाव राख्छ । फेरि प्रायः सबैले मैत्री–करुणा सिकाउँछ । अतः धर्मको नाउँमा झगडा गर्नु कुनै पनि हिसाबले उचित छैन । अर्कोतर्फ धर्मलाई राजनीतिक स्वार्थसँग जोड्दा समस्यासमेत आउन सक्ने विषयमा बेलैमा सचेत हुनु आवश्यक छ । यस्ता घटना हुन नदिई धार्मिक सद्भाव कायम राख्न धार्मिक संगठनका अगुवाबाट धार्मिक सहिष्णुता र सम्मान कायम गर्न संयुक्त वक्तव्य जारी गर्ने कार्यलाई बढावा दिनुपर्दछ । राजनीतिक दल, धार्मिक र सांस्कृतिक संस्था एकजुट भएर सद्भाव कायम नगरे परिस्थति भयावह बन्दै जान सक्छ । त्यसैले सम्बन्धित निकायको यसतर्फ ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्