जबरजस्ती करणीको अभियोगमा वडा अध्यक्ष धमलाविरुद्ध पक्राउ पुर्जी जारी 



ओखलढुंगा । 

ओखलढुंगाको सुनकोसी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष छवि रमण धमलाविरुद्ध जिल्ला अदालत ओखलढुंगाले पक्राउ पुर्जी जारी गरेको छ । वडा अध्यक्ष धमलालाई सुन कोसी  १० कै एक २५ वर्षीय महिलालाई जबर जस्ती करणी गरेको अभियोग लागेको छ ।

ओखलढुंगा सदर मुकामको एक होटेलमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा पीडित महिलाले वडा अध्यक्षबिरुद्ध गत  पौस ५ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी बालिस्टर सिंहले बताएका छन्  । सोही उजुरीको आधारमा जिल्ला अदालत ओखलढुंगाले अध्यक्ष धमलालाई पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ  ।

  जागीरमा लगाई दिने प्रलोभनमा गत असार २५ गतेका दिन ओखलढुंगा सदर मुकामको एक होटेलमा लगेर जबरजस्ती करणी गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख गरेको ओखलढुंगा प्रहरीले जनाएको छ ।

जबरजस्ती करणीको अभियोग लागेका धमला हाल फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भए पश्चात तत्कालै प्रहरी खोजी कार्य थालेको समेत ओखलढुंगा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्