दाङमा सवारी दुर्घटना : एकको मृत्यु, ६ जना घाइते



दाङ ।

तुलसीपुर उपमहानगरपालिका-६ स्टार चोकमा आइतबार फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते छन्।

नेपालगन्जबाट रुकुमका लागि छुट्को लु२ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर-१६ डोक्रेनाबाट तुलसीपुर जाँदै गरेको रा १ ह ४४५९ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा ठक्करबाट सख्त घाइते अटोमा सवार तुलसीपुर-१६ डोक्रेनाका १३ वर्षीय दामोदर भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

अटो चालक तुलसीपुर-६ गोलौराका ५७ वर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ।

अटोमा सवार तुलसीपुर-१६ डोक्रेनाका ११ वर्षीया वर्षा बस्नेत, उनकी ६ वर्षीया बहिनी सृष्टी र १८ वर्षीया अञ्जु डाँगी घाइते छन्। अन्य २ को अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्