काँग्रेसमा रुवाबासी चल्यो : गगन थापा 



पोखरा । 

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसमा रुवाबासी चलेको बताएका छन् । नेपालमा जन्मिएका पिपलपाते पार्टीको कुरा सुनेर काँग्रेस रुन थालेको उनको भनाई छ । काँग्रेस पोखरा महानगरपालिका कार्यसमितिको आयोजनामा भएको दोस्रो नगर सम्मेलनमा  सम्बोधन गर्दै महामन्त्री थापाले २०८४ सालमा चुनाव हारिन्छ भन्दै काँग्रेसमा रुवाबासी सुरुभएको सुनाए ।

‘अहिले हामी सकियो सकियो सकियो भनिरहेको छौं । ०६० सालको अवस्थामा पनि हामी सकियो भनेका थियौ  । कोही मान्छे २०८० सालमा आएर ०६० सालमा फर्किन चाहन्छ ? ०७९ सालमा चुनाव भयो जताततै चुनाव हुइकेको छ । संघमा चुनाव जितेको छ । ठुलो पार्टी बनेको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री, लुम्बिनी प्रदेशमा यहि मुख्यमन्त्री, सुदूरपश्चिममा मुख्यमन्त्री, यता ठोक्यो वडा अध्यक्ष उता ठोक्यो मेयर । चुनाव लड्छ जित्छ अनि काँग्रेसले देशभरको कार्यक्रममा रुवावासी चल्छ । रुवावासी के मा भन्दा ०८४ सालको चुनाव हारिन्छ’ उनले भने, ‘०७९ सालमा चुनाव जित्ने चुनाव आउन चार वर्ष छ । केही दिनपछि, केही हप्ता त्यो नि नभए केही महिनापछि संघको प्रधानमन्त्री काँग्रेस । सबै प्रदेशको मुख्य मन्त्री काँग्रेस मेयर काँग्रेस । सबैभन्दा ठुलो पार्टी हामी बन्ने अनि ०८४ मा चुनाव हारिन्छ की भनेर छाती ठोकेर रुवावासी । मैले काँग्रेस रोयो भन्छु । किन रोयो भन्दा खेरी चुनाव हारिन्छ भनेर ।’

काङ्ग्रेसभित्र मौलाएको विकृतिका कारण त्रासको वातावरण सिर्जना भएको उनको भनाई थियो । पार्टी चुनाव जित्नका लागि मात्र नभई देश विकास र परिवर्तनको नेतृत्व गर्ने भएकाले जस्तो सुकै चुनौती आएपनि त्यसको सामना गर्न सधैँ तयार हुन उनले अनुरोध गरे । पार्टीका कार्यकर्ता बीचमै अलमलिएको र त्यो बाट निस्कनुपर्ने बताए । देशको अर्थ, उत्पादन, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रको शक्तिसंग काँग्रेस जोडिएको पार्टी भएपनि आफैलाई सानो बनाउने काम भएको छ । पार्टीसंगै देशको समस्या समाधान गर्न लाग्नुपर्ने र हरेक पालिकाका जनप्रतिनिधिलाई इमान्दार भएर काम गर्न अनुरोध गर्दै उनले देशको मुख्य रोग भ्रष्टाचार रहेको बताए । पोखरा महानगरपालिकाका मेयरले राम्रो काम गरेमा बोकेर हिँड्न र नराम्रो काम गरे खबरदारी गर्दै छाड्न अनुरोध गरे ।

०८२ सालमा पार्टीको अधिवेशन हुने र नयाँ नेतृत्व पाउने सुनाए । ‘हाम्रो पार्टी अहिले कस्तो भयो भन्दा एउटा पार्टीको अधिवेशन कसरी लड्ने, अध्यक्षमा कसरी हराउने । अर्को देशको चुनाव कसरी लड्ने । हामीसँग दुई कुरा छन् ०८२ मा पार्टीको अधिवेशन गर्ने हो ०८४ मा चुनाव लड्ने हो यो भन्दा बाहेक केही हुँदैन’ उनले भने, ‘अब वर्तमान सभापतिलाई विधानले पनि अध्यक्ष बन्न दिँदैन त्यसैले ढुक्क हुनुहोस् नयाँ नेतृत्व आउँछ । यसको संयोजक म आफै हुँ ०८२ को मंसिर कट्दैन । ०८३ मा देशभर सम्मेलन गर्ने हो ०८४ मा चुनाव लड्ने हो ।’ उनका अनुसार अहिले नेताहरुकै कारण नेपालका विश्वविद्यालय ध्वस्त भएका छन् । देशमा विश्वविद्यालयलाई व्यवस्थित गर्न नसक्दा युवाहरू विदेश जाने प्रवृत्ति बढ्दो रहेको र यसलाई रोक्न विश्वविद्यालय ऐन ल्याउने तयारी भइरहेको छ । देशको शिक्षा प्रणाली राम्रो भएमा आर्थिक उन्नति गर्न सकिने उनको भनाई थियो ।

सोही सम्मेलनको सम्बोधन गर्दै केन्द्रीय सदस्य गुरु बरालले काँग्रेसले अप्ठ्यारोमा देशको नेतृत्व सम्हाल्दै आएको सुनाए । उनले देशलाई दुर्घटनाबाट जोगाउन काँग्रेस बाहेक कुनै शक्तिले नसक्ने बताए । काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले काँग्रेसमा प्रजातन्त्र हराउँदै गएको सुनाए । उनले प्रजातन्त्र हराउँदै गए पार्टी क्लबमा परिणत हुने बताए । युवाहरू बिदेसिने क्रमले काँग्रेस कमजोर भएको र युवालाई स्वदेशमा राख्न स्वरोजगार आवश्यकता रहेको उहाँको भनाई छ । महानगरपालिका सभापति सुरेन्द्रमान विजुक्छेले आगामी ०८४ सालको निर्वाचन काँग्रेसका लागि चुनौती भएको बताए । उनले जनताले काँग्रेस सरकारमा हुँदा समेत ठम्याउन नसक्नु दुःखको कुरा रहेको सुनाए । सम्मेलनमा कोषाध्यक्ष सम्मर बहादुर श्रेष्ठ र  सचिव टुवराज बास्तोलाले प्रगति प्रतिवेदन समेत सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्