चिकित्सक कुटपिट घटनामा संलग्नलाई कारबाही नभए सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पार्ने चेतावनी

देशव्यापी प्रभाव पर्दै



हेटौंडा ।

हेटौंडामा दुई चिकित्सक कुटपिटको घटनाको प्रभाव देशव्यापी पर्न थालेको छ । पहिलो शुरुवात बैतडीमा देखिएको छ ।
अस्पतालमा डाक्टरमाथि कुटपिट भएसंगै हेटौंडाका डाक्टरहरुले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र स्वास्थ्यकर्मीको पूर्णसुरक्षा माग गर्नुपर्ने आवाज उठाउँदा यसको प्रभाव बैतडीमा पनि परेको हो ।

जिल्ला प्रशासन कार्यालय, बैतडीलाई पत्र लेख्दै त्यहाँका डाक्टरहरुले स्वास्थ्य सेवामा उपस्थित हुन नसकिने जनाएका छन् । बुधबार हेटौंडा–१ स्थित सञ्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि गरिएको सांघातिक हमलाको निन्दा गर्दै यस्ता गतिविधि जुनसुकै अस्पताल र जोसुकैलाई जतिबेला पनि पर्नसक्ने भएकाले अस्पतालमा कार्यरत् चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सुरक्षाको प्रत्याभूति नभएकाले दोषीलाई कारबाही नभएसम्म मानसिकरुपले विक्षप्त अवस्थामा बिरामी हेर्न असमर्थ रहेको जानकारी गराइएको छ ।

बिहीबार कालोपट्टी बाँधेर विरोध गर्ने र शुक्रबारदेखि आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णयमा बैतडी जिल्ला अस्पतालका चिकित्सक सहमत हुँदै हस्ताक्षरसहितको पत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् ।

हेटौंडामा प्रजिअ, प्रहरी प्रमुखसहित स्वास्थ्यकर्मीको भेलामा कुटपिटमा संलग्नलाई दलहरुको संरक्षणका कारण तत्काल पक्राउ गर्न नसकेको आरोप लागेको छ । करिब एक महिनाअघि अस्पतालमा उपचार गर्न लगिएका बिरामीको उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै डाक्टरमाथि कुटपिट भएको हो । अस्पतालमा कार्यरत् डा. थापा र एनेस्थेसिया विभागका डा. बिडारीलाई युवा समूहले एक्कासी अस्पतालमा आएर बिहीबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

डेंगु र स्वासप्रश्वासको समस्या लिएर उपचारमा आएका एक बिरामीको सञ्चो अस्पतालमा उपचार गरिएको र चितवनमा उपचारका क्रममा मृत्यु भएपछि घटनापछि डाक्टरमाथि हातपात गरिएको प्रहरीले बताएको छ । कुटपिटबाट डा.थापाको मुखको हड्डी भा“च्चिएको छ भने डाक्टर बिडारीको अनुहारमा चोट लागेको छ ।
बिहीबार विहान हेटौंडा अस्पतालमा प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईं र मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको उपस्थितिमा चिकित्सक, निजी अस्पताल सञ्चालक, औषधी व्यवसायी तथा स्वास्थ्यकर्मीले २४ घण्टाभित्र घटनामा संलग्नलाई हदैसम्मको कारबाही नभए सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले अस्पतालमा कार्यरत् डाक्टरहरुले शान्तिसुरक्षा र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा दिइसकेको बताए । ‘काम गर्ने वातावरण छैन । डाक्टरमाथि अस्पतालभित्र कुटपिट हुँदा समेत प्रहरी प्रशासनले केही गर्न सकेन । बाध्य भएर आपत्कालीनबाहेक स्वास्थ्य सेवा दिन नसक्ने अवस्थामा छौं । शुक्रबारबाट सेवा ठप्प हुनेछ,’ उनले भने । घटनापछि असुरक्षा महसुस गर्दै उक्त अस्पतालमा कार्यरत् मकवानपुरबाहिरका ५ डाक्टरले राजीनामा दिएका छन्।

प्रजिअ सेढाईंले घटनामा संलग्नलाई कारबाही गर्ने र त्यसका लागि प्रशासन तयार रहेको दाबी गर्दा मकवानपुरका प्रहरी उपरीक्षक रिजालले उजुरी नपरेसम्म कारबाही प्रक्रिया कमजोर हुने बताए । नेपाल चिकित्सक संघ, निजी अस्पतालहरुको छाता संगठन अफिन र हेटौंडा शाखाले मुद्धा अघि बढाउने कुरा भएको छ ।

मकवानपुर प्रहरीपरिसरभित्र धम्की खेपेका स्वास्थ्यकर्मीहरु भने प्रहरीमा उजुरी दिन डराएका छन् । प्रजिअ र प्रहरी प्रमुखसहित स्वास्थ्यकर्मीको भेलामा कुटपिटमा संलग्नलाई दलहरुको संरक्षणका कारण तत्काल पक्राउ गर्न नसकेको आरोप लागेको छ ।

अस्पतालका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । हेटौंडा–१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारका क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्नेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतककी पत्नी रमा, छोरी रमिता, छोरा रोहित, भतिज अनुपलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

साउन २५ गते प्रधानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । राजेशलाई डेंगुका कारण निमोनियाको समस्या देखिएको थियो । सुरुमा उनलाई साउन २२ गते सञ्चो अस्पताल नै लगिएको थियो । तर, स्वास्थ्य अवस्था गम्भीर देखिएपछि चिकित्सकले बिरामीलाई आईसीयुमा राखेर उपचार गर्न सुझाएका थिए । बिरामीलाई एचडीयुमा राखिएको थियो । अवस्था थप जटिल भएपछि साउन २३ गते चितवन मेडिकल कलेज रिफर गरिएको थियो । त्यहाँ उपचारका क्रममा मृत्यु भएको हो ।

‘डा. विकास र म राउन्डिङमा थियौं । त्यही बेला ४/५ जना आएर कुरा गर्नुछ भने। एकछिनपछि कुरा गरौंला भनेर हामी बिरामीको राउन्डिङमै थियौं,’ डा. बिडारी भान्छन् –राउन्ड लिंदालिँदै २०/२५ जनाको हुल भेला भइसकेको रहेछ । हुल आएर डा.विकासलाई तान्यो र हातले हानिहाल्यो । मैले डाक्टर विकासलाई तान्न खोज्दा मलाई पनि धमाधम हान्न थाल्यो । कोठामा लगेर पनि कुटपिट गरियो ।

प्रतिक्रिया दिनुहोस्