अविरल वर्षाले क्षति पुर्‍याएपछि उद्धारका लागि खटियो नेपाली सेना

 देशभर भएका उद्धारकार्यको शब्द चित्र   



काठमाडौँ । 

मुलुकभर परेको अविरल वर्षाले देशभर क्षति  पु¥याउने काम तीव्र भइरहेको बेला जनधनको क्षति कम गर्न नेपाली सेनाले उद्धार कार्यलाई  तीव्रता दिएका छन्  । बर्षाका कारण गएको बाढी पहिरो तथा डुबानमा परेका नागरिकको जीउ धनको सुरक्षाका लागि देशभर नेपाली सेना तथा अन्य सुरक्षा फौजले उद्धार कार्यलाई तीव्रता दिएका हुन्  । अविरल वर्षाका कारण जनजीवन प्रभावित इलाकामा नेपाली सेनाको खोज तथा उद्धार टोलीले देशभर उद्धार कार्यलाई तीव्रता दिएको पाइएको छ ।

 देशभर भएका उद्धारकार्यको शब्द चित्र

   

अविरल वर्षाको कारण बाराको आदर्शकोतवाल गाउँपालिका–१, चिउटाहास्थित गाउँबस्तीमा जमुनी खोला पसेर डुबान भएपछि सो इलाकामा बसोबास गर्ने स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

निजगढ नगरपालिका–८, कछहरिया टोलस्थित लाल बकैया खोलामा रहेको ड्याम पानीको बहाव बढी भई कटान गर्न शुरु गरेपश्चात उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी समेतको सहकार्यमा अस्थायी तटबन्ध निर्माण गरिएको छ ।

सर्लाहीको धनकौल गाउँपालिका–४, मैनाथपुरस्थित बागमती नदीको किनारमा आएको बाढीको कारण फसेका स्थानीयवासीहाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै कौडेना गाउँपालिका, शिवनगर–७ मा डुबानमा परेका स्थानीयवासीको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

कैलालीको, कैलारी गाउँपालिका–७ स्थित कटैनी खोलामा आएको बाढीका कारण डुबानमा परेका बसन्ता, भुईयाफाँट र बडकी बसन्त ईलाकामा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

दोलखाको, विगु गाउँपालिका–२ बासपानीस्थित तामाकोशी नदीको किनारमा माछा मार्ने क्रममा माथिबाट पहिरो खसेर पुरिएका एक जना स्थानीयवासीको शव तामाकोशी नदीको खोँचबाट निकालिएको छ ।

 धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहामा कमला नदीको बहाव बढी तटबन्ध भत्काउन शुरु भएपछि अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरिएको छ । त्यसैगरी, रौतहटको  दुर्गा भगवती गाउँपालिका–४, भलोहिया पिपरा ईलाकामा बागमती नदी प्रवेश गर्न सक्ने सम्भावना रहेकोले सो स्थानमा अस्थायी बाध निर्माण गरी स्थानीयलाई सुरक्षित बनाइएको छ ।

रौतहटको, परोहा नगरपालिका–४ स्थित लाल बकैया नदीको वीरङ्गवामा फसेका ३ जना स्थानीयवासी तथा मौलापुर नगरपालिका–१ स्थित टिकुलिया ईलाकामा सोही नदीमा आएको बाढीमा फसेका एक बालकको उद्धार गरिएको छ ।

कञ्चनपुरको, भिमदत्त नगरपालिका–१८, ट्राफिक चोकस्थित डुबानमा परेको घरमा बसोबास गर्ने पाँच जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

डडेल्धुराको पर्शुराम नगरपालिका–१२ जोगबुढा र सिमल खेतको वीचमा पर्ने पुन्तुरा खोलामा आएको बाढीका कारण फसेका दुई जना स्थानीयवासीको उद्धार गरी आफन्तलाई बुझाइएको छ ।

 कैलालीको, भजनी नगरपालिका–८ मा बाढीका कारण डुबानमा परेको सुनाफाँटा गाँउमा बसोबास गर्ने स्थानीयको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

कैलालीको , गोदावरी नगरपालिका–४ स्थित गोदावरी धाममा गोदावरी खोलाको भङ्गालो पस्ने खतरा भएपछि उक्त स्थानमा बसोबास गर्ने सर्वसाधारण, बटुक तथा पशु चौपायालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

 कैलालीको, गोदावरी नगरपालिका–४ बुढीतोला स्थित महाकाली राजमार्ग (अत्तरिया डडेल्धुरा सडक खण्ड)  मा पहिरोका कारण सडक अवरुद्ध भएको सडक खण्डमा खसेको पहिरो हटाउन सहयोग गर्नुका साथै उक्त सडक खण्ड हुँदै आएका बिरामीलाई खानी डाँडा तर्फको रोड हेडबाट (करिब ७०० मिटर गोरेटो बाटो) स्ट्रेचरमा बोकेर ल्याई एम्बुलेन्स मार्फत उपचारको लागि धनगढीतर्फ पठाइको छ ।

 दोलखाको, जिरी नगरपालिका–७, सिक्रे स्थित स्थानीयवासीको घर पहिरोका कारण क्षति भएकोले उक्त स्थानको पहिरो हटाई पहिरो जान सक्ने सम्भावित स्थानमा पहिरो रोक्ने अस्थायी प्रबन्ध गरिएको छ ।

 मकवानपुरको, भिमफेदी गाउँपालिका–२ भैसेस्थित भैसे–पालुङ्ग सडक खण्डमा पहिरो खसी स्थानीयवासीको घर र पसल पुरिएको तथा सडक समेत अवरुद्ध भएपछि  घर तथा पसलको सामान सुरक्षित स्थानमा स्थानान्तरण गरि अवरुद्ध सडक खुलाउने काम भएको  छ ।

काठमाडौंको, टोखा नगरपालिका–३, सरस्वती हाईटस्थित स्थानीयवासीको दुईवटा घरको बीच भागमा पहिरो गई उक्त घरहरु जोखिममा रहेकोले पहिरो रोकथामको लागि अस्थायी प्रबन्ध गरि जोखिममा रहेका घरलाई सुरक्षित बनाइएको छ ।

देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोका कारण हराइरहेका व्यक्तिको खोजी कार्य जारी रहेको छ । संभावित विपद्का घटनालाई दृष्टिगत गरी नेपाली सेनाको खोज तथा उद्धार टोली देशका विभिन्न स्थानमा तैनाथ रहनुका साथै हवाइ उद्धारको लागि इटहरी, काठमाडौं र सुर्खेतमा सैनिक हेलिकप्टर समेत तयारी अवस्थामा रहेको  सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्