पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

ठाउँ-ठाउँमा पहिरो



धादिङ।

पृथ्वीराजमार्गकोको ठाउँ ठाउँमा पहिरो गएका कारण आइतबार दिउँसोदेखि यातायात अवरुद्ध भएको छ ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण राजमार्गमा पहिरो खसेर सडकमा आवतजावत गर्न नसकिने अवस्था आएको हो ।

गजुरी गाउँपालिका वडा नम्बर १ स्थित पृथ्वी राजमार्गको गजुरी गाउँपालिका कार्यालय नजिकै सडक माथिबाट आएको पहिरोले राजमार्ग यातायात साधन सञ्चालन रोकिएको छ ।

सडकमाथि पहिले खनिएको ठाउँबाट पहिरो रोडमा आएको थियो राजमार्ग अवरुद्ध भएपछि सडक विभागकोे डोजर प्रयोग गरी  राजमार्ग खुलाउने प्रयास भइरहेको तर लगातार वर्षाका कारण समस्या आएको जिल्ला प्रहरी कार्यालय धादिङमा सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

पृथ्वी राजमार्गको धादिङ खण्डका ठाउँ ठाउँमा पहिरो झरेर राजमार्ग एकतर्फी संचालनमा आएको छ । पहिरो हटाएपछि एकतर्फी संचालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

घाटबेसीमा समेत सडक माथिबाट लेदो सहितको पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्ग क्षेत्र सडक फराकिलो बनाउन ठाउँ ठाउँमा खन्ने काम भइरहेको समयमा लगातारको वर्षका कारण सडक अवरुद्ध भएको हो । जताततै पहिरो खसेको छ । साना ठूला ढिस्काहरु सडकमा झरेर राजमार्ग छिनछिनमा बन्द हुने र खुलाउने कार्य समेत भइरहेको छ ।

लगातार वर्ष भएको समयमा सवारी चलाउनु अघि राजमार्गको अवस्था बुझेर सवारी साधन लिएर निस्कनका लागि प्रहरीले आग्रह गरेको छ । धादिङका ग्रामीण सडक भने अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्