प्रचण्ड नेतृत्वको सरकारले अपराध कर्ममा संलग्न र अख्तियारको दुरुपयोग गर्ने सबैलाई दण्डित गर्छ : सांसद दाहाल



सिन्धुली। 

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले वर्तमान सरकारले अपराध कर्ममा संलग्न, अवसर र अख्तियारको दुरुपयोग गर्ने जो कोहीलाई पनि दण्डित गर्ने बताएका छन्।

आज सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम बोल्दै प्रतिनिधिसभा सदस्य दाहालले दोषी कोही नछाड्ने निर्दोष कोही नपर्ने गरी अपराध कर्ममा संलग्न सबैलाई दण्डित गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) को सरकारका सम्बन्धित निकायहरुलाई ठाडो निर्देशन रहेको बताए  । उनले स्वतन्त्र, दबाव र प्रभाव नराखी राज्यका संवैधानिक निकायहरुलाई परिचालन गर्ने हो भने उनीहरु अपराध र अपराधीको जरा सम्म पुग्छन भन्ने विश्वासले सरकारले एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको बताए ।

सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न दक्षता र विज्ञतामा सीआईबीको विकल्प अरु कुनै निकाय वा संयन्त्र नहुने उनको दावी छ । उनले संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारलाई एक सय किलो सुन तस्करी प्रकरणको जरा सम्म पुग्न नदिन अनुसन्धान कार्य प्रभावित गर्ने गलत नियतले संसदमा अवरोध गरेको आरोप समेत लगाए । उनले सुन तस्करी प्रकरणमा अनुसन्धानमा दोषी देखिए आफ्नो पार्टीको भनेर कोही कसैलाई उन्मुक्ति दिने कार्य प्रधानमन्त्रीबाट नहुने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्