सीटीईभीटीले भर्ना खोलेपछि प्रवेश परीक्षा स्थगित

अवकाश भएका सदस्य सचिव काफ्लेले कुर्सी नछाडेपछि मन्त्रालय र सीटीईभीटीबीच टकराब



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा÷प्रमाणपत्र तहका सम्पूर्ण प्रवेश परीक्षा स्थगित गरेको छ । सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेको जोडबलले जबरजस्ती सिट निर्धारण गरेर भर्ना खोलेपछि चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा स्थगित गराएको हो ।

कानुनतः सदस्य सचिवको पदावधि गइसकेपछि पनि सिट निर्धारण र भर्ना गर्न स्वीकृत गरेपछि मन्त्रालयले आपत्ति जनाएको थियो । त्यही कारण प्रवेश परीक्षा स्थगित भएको सीटीईभीटी स्रोतले बतायो । यसअघि २४ र २६ गते परीक्षाको मिति तोकिएको थियो । परीक्षा सञ्चालन गर्न बसेको सुरक्षा समितिको बैठकमा मन्त्रालयले विवाद समाधान नभएका कारण परीक्षा गर्ने विषयमा सोच्नुपर्ने बताएको थियो ।

परिषद्का अध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको रोहवरमा आइतबार बसेको सुरक्षा समितिको बैठकमा सदस्य सचिवको वैधताको प्रश्न उठेको थियो । परीक्षा सुरक्षा समितिका संयोजक शिक्षा सचिव सुरेश अधिकारीले मन्त्रालयले कारबाही गरेको सदस्यसचिवले गरेको प्रक्रिया कानुनसम्मत नरहेको बताउनुभएको थियो । सदस्य सचिवकै कारण प्रवेश परीक्षा स्थगित भएको भए पनि विशेष कारण देखाउँदै सीटीईभीटीले सम्पूर्ण कार्यक्रमको प्रवेश परीक्षाको मिति परिवर्तन गरेको हो ।

सूचनामा वर्गीकृत प्रवेश परीक्षा आगामी भदौ २ गते बिहान ८ बजेदेखि डिप्लोमा÷प्रमाणपत्र तह छात्रवृत्ति तर्फको र दिउँसो १ बजेदेखि प्रि–डिप्लोमा तहको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उल्लेख छ । त्यसै गरी डिप्लोमा÷प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फको सम्पूर्ण कार्यक्रमहरूको प्रवेश परीक्षा भदौ ६ गते बिहान ८ बजे र प्रि–डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको सम्पूर्ण कार्यक्रमहरूकोे प्रवेश परीक्षा सोही दिन दिउँसो १ बजेदेखि सञ्चालन उल्लेख छ ।

शैक्षिक सत्र २०८०–०८१ का लागि गत असार २९ र ३० गते प्रकाशित प्रवेश परीक्षाका लागि आवेदन दिने म्याद थप गरी सीटीईभीटीले साउन २६ गतेसम्म तय गरेको छ। चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीचको विवादका कारण सयौं विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् ।

उक्त बैठकमा शिक्षामन्त्री अशोककुमार राई र शिक्षा सचिव सुरेश अधिकारीले दुई संस्थाबीच आपसमा समन्वय गरेर अघि बढ्न निर्देशन दिएपछि सोहीअनुरूप आगामी १५ दिनभित्र सहमति एवं समन्वय गरेर सञ्चालन गर्ने गरी हाललाई परीक्षा स्थगित गरेको बताइएको छ ।

आयोगको अधिकार हस्तक्षेप गर्दै सीटीईभीटीले प्रमाणपत्र तहका नर्सिङ, फार्मेसी, ल्याब असिस्टेन्ट, डेन्टल हाइजेनिस्टलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयको अध्ययन गर्ने संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने, भर्ना आह्वान गर्ने, परीक्षा सञ्चालन गर्ने, परीक्षाफल सार्वजनिक गर्नेलगायतका कार्य गर्दै आएको छ ।

आयोगले आशयपत्र दिएपछि आयोगले समिति गठन गर्ने र नियमावलीको नियम ८ मा समितिको सिफारिसमा आयोगले स्वीकृत गर्ने कानुनी व्यवस्था छ । सीटीईभीटीले ऐन तथा नियमावलीको प्रतिकूल हुनेगरी गैरकानुनी कार्य गरेको ठहर गर्दै आयोगले तत्काल निर्णय कार्यान्वयन नगर्न सीटीईभीटीलाई आग्रह गरेको थियो । सीटीईभीटीले सोही आग्रहलाई अटेर गरेपछि मन्त्रालयले तत्कालका लागि प्रवेश परीक्षा स्थगित गरेको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ११ को उपदफा (१) तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ६ मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि शिक्षण संस्था स्थापना गर्न चाहनेले त्यस्तो संस्था स्थापनाका लागि आयोगबाट आशयपत्र लिनुपर्ने व्यवस्था छ ।

आयोगको ऐनको दफा १५ को उपदफा ९५ मा परिषद्ले सञ्चालन गरेको प्रमाणपत्रतहभन्दा मुनिका चिकित्सा शिक्षासम्बन्धी कुनै पनि प्राविधिक कार्यहरू तोकिएबमोजिम फेज आउट र तोकेको मापदण्डबमोजिम अपग्रेड गरिनेछ । आयोगले सम्बन्धन सिफारिस नभएका, आयोगबाट सिट संख्या निर्धारण नभएका शिक्षण संस्थाहरूमा चिकित्सा शिक्षाको पठनपाठनको लागि विद्यार्थी भर्ना गराएमा वा विद्यार्थी भर्ना भएमा ती विद्यार्थीको उपाधि नेपाल स्वास्थ्य व्यवसायी परिषद्लगायत सम्बन्धित विषयगत काउन्सिलमा दर्ता नहुने चेतावनी दिइसकेको छ । सोही चेतावनीपछि डराएको सीटीईभीटीले प्रवेश परीक्षा स्थगित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्