यातायात धनगढीका पूर्व कर्मचारी पक्राउ, हाकिमसहित अर्का फरार 



धनगढी। 

यातायात व्यवस्था कार्यालय धनगढीका एक पूर्व कर्मचारी पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार हालै लिखत सम्बन्धी कसुर (किर्ते) मुद्दामा उनलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा यातायात धनगढीका तत्कालीन  सहायक कम्प्युटर अपरेटर (करार) नरेन्द्रकुमार कठरिया रहेको स्रोतले बतायो। स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतले कैलाली प्रहरीलाई पक्राउ गर्न भनेपछि समातेर थुनेको हो।

प्रहरीले सोही मुद्दाका २ जना प्रतिवादी फरार रहेको जनाएको छ। फरार हुनेमा यातायात कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाह र कम्प्युटर अपरेटर पवनकुमार रावल रहेका छन्। तत्कालीन समयमा यातायातमा कार्यरत शाहको हालको दरबन्दी मुख्यमन्त्रीको कार्यालय धनगढी र रावलको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको पाइएको छ। प्रहरीले उनीहरूसमेत जोडिएको मुद्दाका प्रतिवादीलाई समातेपछि शाह र रावल फरार रहेको बताइन्छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहसहित कठरिया र रावलविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो। तत्कालीन कार्यालय प्रमुख शाहले प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरूलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौँ परीक्षार्थीहरूलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको अख्तियारका प्रवक्ता भोला दाहालले बताएका थिए। कार्यालय प्रमुख शाहले सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

त्यस्तै, यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीहररुको लिखित परीक्षाको परिणाम फेरबदल गरेका थिए। प्रयोगात्मक परीक्षामा अनुत्तिर्ण भएका २८३ जनालाई उत्तीर्ण बनाएको आरोप शाहविरुद्ध लगाइएको थियो।

शाहले प्रयोगात्मक परीक्षामा सहभागी नै नभएका ३९ जनालाई उत्तीर्ण भनेर सिस्टममा प्रविष्ट गरेको दावी गरिएको थियो। रावलले सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका ४ जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण बनाएको अख्तियारले जनाएको थियो।

अख्तियारले सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध पनि मुद्धा दायर गरेको थियो। अख्तियारले शाहको निर्देशनमा कठरिया र रावलले फिल्ड प्रतिवेदन नै सच्याएको जनाएको छ। आर्थिक वर्ष २०७८/७९ मा शाह यातायात व्यवस्था कार्यालय धनगढी प्रमुखका रुपमा कार्यरत रहेका बेला उक्त बदमासी भएको अख्तियारले जनाएको छ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा अहिले पनि मुद्दा चलिरहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्