वाणिज्य बैंकहरूको ब्याजदर ‘कार्टेलिङ’ हट्यो, विकास बैंक र फाइनान्सको कायमै



काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढेपछि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्षको शुरुदेखि नयाँ ब्याजदर लागू गरेका छन् । छाता संगठनद्वारा ब्याजदर तोकेर ‘कार्टेलिङ’ गर्दै आएकोमा यसपटक हटेको छ । ‘कार्टेलिङ’ हटेसँगै मिलेमतोमा निक्षेप संकलन गर्दै आएका बैंक तथा वित्तीय संस्थाले साउन १ गतेदेखि प्रतिस्पर्धाका आधारमा ब्याजदर तय गरेका हुन् ।

नयाँ ब्याजदर अनुसार केही बैंकले यसअघिको ब्यादरभन्दा घटाएका छन् भने केही बढाएका छन् । यसअघि नेपाल बैंकर्स संघले तोकेको मुद्दती निक्षेपको ब्याजदर समान ९ दशमलव ९९ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकको नियममा अघिल्लो ब्याजदरमा १० प्रतिशतसम्म घटबढ गराउन सकिने भएकाले बैंकहरुको ब्याजदर घटबढ भएको हो ।

ब्याजदर बढाउने बैंकहरुमध्ये नबिलले मुद्दतीतर्फको ब्याज १० दशमलव ४९ प्रतिशत पु¥याएको छ । त्यस्तै बचततर्फ ५ दशमलव ९० देखि ७ दशमलव ९० प्रतिशतसम्म ब्याज दिने भएको छ ।

त्यस्तै प्राइम कमर्सियलले बचतमा ५ दशमलव ९३ देखि ७ दशमलव ९३ प्रतिशतर मुद्दतीमा बैंकले १० दशमलव ९३ प्रतिशतसम्म ब्याज दिने भएको छ । एनएमबि बैंकले मुद्दतीतर्फ अधिकतम् १० दशमलव ९८ प्रतिशतसम्म र बचतमा ७ दशमलव ९८ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

यसैगरी कुमारी बैंकले मुद्दतीमा ९ दशमल ९९ प्रतिशतदेखि १० दशमलव शून्य १ प्रतिशत र बचतमा ५ दशमलव ४ प्रतिशतदेखि ७ दशमलव ४ प्रतिशतसम्म ब्याज दिनेछ ।

उता राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ«े बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ, सानिमा, नेपाल बैंक, कृषि विकास बैंकले भने ब्याजदर घटाएका छन् ।

जसमध्ये राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले मुद्दतीतर्फ ८ दशमलव ९९ प्रतिशत ब्याजदर दिने भएको छन् । एसबीआई बैंकले ९ दशमलव १ प्रतिशत, माछापुच्छ«े र एभरेष्ट बैंकले ९, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९दशमलव ९५ प्रतिशत, सिद्धार्थ ९ दशमलव ५ प्रतिशत, सानिमा ९दशमलव ५२ प्रतिशत, नेपाल बैंक ८ दशमलव ९९ प्रतिशत, कृषि विकास बैंक ९दशमलव ५१ प्रतिशतमा झारेको छन् । तर नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, ग्लोबल आइएमई, लक्ष्मी सन्राइज, सिटिजन्स बैंकले भने यसअघिको ९ दशमलव ९९ प्रतिशतको ब्याजदरमै स्थिर राखेका छन् ।

साउन महिनाको लागि बैंकहरुको औसत ब्याजदर ९ दशमलव ७८ प्रतिशत निर्धारण भएको छ । बैंकर्स संघले यसअघि २०७९ भदौमा ब्याजदरलाई खुला छोडे पनि केही समय पछि पुनः सहमतिमा ब्याजदर तोक्दै एकरुपता ल्याउँदै आएको थियो । वित्तीय प्रणालीमा तरलता तथा लगानीयोग्य रकमको अभाव हुन थालेपछि बढेको ब्याजदरलाई थप माथि जान नदिन गत असोज महिनामा बैंकहरुले सहमति गर्दै निक्षेपको ब्याजदर १२ दशमलव १३३ प्रतिशतसम्म पु¥याएका थिए ।

उता विकास बैंक र फाइनान्स कम्पनीले ब्याजदरमा भद्र सहमतिलाई कायमै राखेका छन् । उनीहरुले नयाँ ब्याजदर केही पैसा घटाउने वा बढाउन सक्ने सहमति गरेको छन् ।

आगामी महिनाका लागि विकास बैंकको हालको १० दशमलव ६० प्रतिशत ब्याजदरलाई शून्य दशमलव ५० प्रतिशत विन्दुले घटाई १० दशमलव १० प्रतिशतमा झारेको छन् । यो ब्याजदरमा प्रादेशिक विकास बैंकको हकमा शून्य दशमलव २५ प्रतिशतरहेको छ ।

फाइनान्स कम्पनीले १० दशमलव ६ प्रतिशतमा १० पैसा थपघट गर्ने सहमति भएको छ । तर। क्षेत्रीयस्तरका फाइनान्स कम्पनीले २५ पैसा तलमाथि गर्न सक्ने छन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्षको अन्त्यतिर बैंक तथा वित्तीय संस्थामा अधिक तरलता देखिएको छ । कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ७७ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको नीतिअनुसार ९० प्रतिशतसम्मकोे सीडी रेसियोलाई सहज मानिन्छ । आर्थिक वर्षको अन्त्यतिर सरकारी खर्चको भुक्तानी बढेसँगै बैंकिङ प्रणालीमा रकम जम्मा हुने क्रम बढेको हो । असार महिनामा मात्रै वित्तीय प्रणालीमा डेढ १ खर्ब निक्षेप थपिएको छ । बिहीबारसम्म बैंकिङ प्रणालीमा ५७ खर्ब ३० अर्ब रुपियाँ रहेको छ । यद्यपि, यो अघिल्लो दिनको तुलनामा ६ अर्ब रुपियाँ कम हो ।

उक्त निक्षेपमध्ये वाणिज्य बैंकमा ५० खर्ब ७३ अर्ब रुपियाँ रहेको छ । वाणिज्य बंैकहरुमा ८ अर्ब रुपियाँले निक्षेप बढ्दा विकास बैंक र फाइनान्स कम्पनीमा भने १४ अर्ब रुपियाँले घटेर ६ खर्ब ५७ अर्ब रुपियाँमा झरेको छ । उक्त अवधिमा कुल कर्जा लगानी ४८ खर्ब ५३ अर्ब रुपियाँ रहेको छ । जसमध्ये वाणिज्य बैंकले मात्रै ४२ खर्ब ९४अर्ब रुपियाँ ऋण लगानी गरेका छन् । यस अवधिमा विकास बैंक तथा फाइनान्स कम्पनीले भने ५ खर्ब ५९ अर्ब रुपियाँ ऋण लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्