लमजुङमा १ सय २२ उद्योग बन्द  



लमजुङ  ।

लमजुङमा एक वर्षको अवधिमा एक सय २२ वटा उद्योग बन्द भएका छन् । आर्थिक मन्दीका कारण धरासायी भएका उद्योगहरू बन्द भएका हुन ।

पर्यटन तथा साना उद्योग कार्यालय लमजुङका अनुसार सयौँको संख्यामा उद्योग बन्द हुँदा ठुलो संख्यामा मजदुरहरूको रोजगारी समेत गुमेको छ । जिल्लामा व्यवसायी र रोजगारी गुमेपछि धेरै युवाहरू विदेश जान बाध्य भएका छन् । देशको आर्थिक अवस्था कमजोर बन्दै गएको र सरकारले समेत स्वदेशी उद्योगहरूलाई चलायमान बनाउन चासो नदिएका कारण उद्योगहरू बन्द भएका हुन् ।

लमजुङमा लामो समयदेखि सञ्चालनमा रहेका भैँसी फार्म, किराना, इलेकट्रोनिक्स  लगायत विभिन्न खालका उद्योगहरू बन्द भएका छन् । लमजुङमा आर्थिक वर्ष ७९÷८० मा उद्योग तर्फ कृषिमूलक ३१ वटा, पर्यटन मूलक १३, सेवामूलक १०, उत्पादन ४ र निर्माण उद्योग १ वटा बन्द भएका छन् ।

त्यसै गरी वाणिज्य तर्फ बन्द हुनेमा किराना ४२, हार्डवेयर ४, इलेकट्रोनिक्स ३, स्टेशनरी ३, सप्लायर्स, इन्टरप्राइजेज र ट्रेर्डस ५ वटा, कस्मेटिक ३ वटा र विविध २ वटा रहेका छन् । कोरोना महामारीसँगै देशमा बढ्दै गएको अर्थिक मन्दीका कारण उद्योगहरू जोगाउन नसक्दा धेरै उद्योगहरू बन्द हुने अवस्थामा पुगेको पर्यटन तथा उद्योग कार्यलयका प्रमुख मिता कुमारी थापाले बताउनु भयो ।

बैकले लगानी नगर्नु र क्रण लगानी गरेबापत बैकमाले महँगो ब्याज उसुली गर्ने गरेका कारण व्यवसायीहरू मारमा परेको उद्योगी व्यवसायीहरूले बताएका छन् । जसका कारण आफ्नै देशमा सिर्जना भएको रोजगार गुम्दै गएको छ । विगतका वर्षमा भन्दा चालु वर्षमा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै फर्म बन्द गर्न कार्यालय आउनेहरूको संख्या बढेको पर्यटन तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्