मासिक १ खर्ब रेमिट्यान्स भित्रियो

चालू खाता साढे ६९ अर्ब घाटामा



काठमाडौं । चालू आर्थिक वर्षमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २२ दशमलव ७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव १ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशमलव ८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६ दशमलव ६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ जना पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा शून्य दशमलव ५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८ दशमलव ३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१ दशमलव ९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ दशमलव ८ प्रतिशतले बढेको थियो ।

चालू खाता साढे ६९ अर्ब घाटामा

नेपाल राष्ट्र बैंकको देशको अर्थतन्त्रसम्बन्धी पछिल्लो तथ्यांकमा सरकारको चालू खाता ६९ अर्ब ४० करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्षको ११ महिनाको अवधिमा चालू खाता ५ खर्ब ९२ अर्ब १४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ५३ करोड ६१ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २२ दशमलव ५ प्रतिशतले कमी आई ७ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ९ अर्ब ४९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रहेको थियो । सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्