व्यक्तिगत प्रायोजनका निम्ति ड्रोन क्यामेराको प्रयोग गर्न नपाइने 



लमजुङ।

जिल्ला प्रशासन कार्यालय लमजुङले व्यक्तिगत प्रायोजनका निम्ति ड्रोन क्यामेराको प्रयोग गर्न नपाइने बताएको छ । जिल्लामा अनुमति विनानै व्यक्तिगत प्रयोगका निम्ति ड्रोन क्यामेरा प्रयोगमा ल्याइएको भन्दै कानुन सम्बत ल्याउनेका लागि निगरानी गर्ने भएको हो ।

कुनै पनि क्षेत्रमा ड्रोन क्यामेरा प्रयोगका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था भएता पनि जिल्लामा भने पछिल्लो समय ड्रोन क्यामेराको प्रयोग बढ्दै गएको लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताउनुभयो । ड्रोन क्यामेरा प्रयोगका सम्बन्धमा कानुनी रूपमै निश्चित प्रावधान बनेको र सोही बमोजिम कार्यान्वयनका निम्ति निगरानी बढाउन लागिएको प्रजिअ अधिकारीको भनाई छ ।

कुनै पनि व्यक्तीलाई ड्रोन क्यामेराको प्रयोग गर्न दिने वा नदिने भन्दा पनि त्यसको प्रयोग कहाँ के कसरी भइरहेको छ भन्ने विषयमा सम्बन्धित निकायमा जानकारी हुनुपर्ने प्रजिअ अधिकारीको भनाई छ । विशेष गरी व्यक्तिगत प्रायोजनमा प्रयोग भइरहेका वा गरिने ड्रोन क्यामेरा प्रयोग गर्नु अघि कानुनी प्रावधान बमोजिम सम्बन्धित निकायबाट पूर्व स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था भएकोले त्यसको कार्यान्वयन गर्न लागिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

पूर्व स्वीकृतिबिना ड्रोन क्यामराको उपयोग गरी तस्बिर वा भिडियो दृश्य रेकर्ड गरे नागरिक उड्डयन प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने कानुनी प्रावधान छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पसँगै स्वदेशी र विदेशी सञ्चारमाध्यम र संस्थाले आफूखुसी ड्रोन क्यामराको प्रयोग गरी तस्बिर र भिडियो लिएपछि सरकारले सञ्चार मन्त्रालयको अनुमति अनिवार्य लिएर प्रयोग गर्नुपर्ने गरी निर्देशिका बनाएको हो । निर्देशिकाले धार्मिक र सांस्कृतिक स्थल, सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र र हवाई मार्गमा असर पर्नसक्ने क्षेत्रमा ड्रोन उडानमा रोक लगाएको छ ।

यस्तै सुरक्षा निकाय र संवेदनशील क्षेत्रको एक हजार मिटर परिसरभित्र ड्रोन क्यामराको प्रयोग गरे कानुन अनुसार कारबाही हुने गृहले आफ्नो वेबसाइटमा राखेको निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार प्रयोगकर्ताको विस्तृत विवरण सुरक्षा निकायमा पेस गरी उडानपछि प्राप्त सूचना, एरियल फोटो, नक्सालगायत सबै सामग्री स्थानीय प्रशासन र सुरक्षा निकायमा अनिवार्य पेस गर्नुपर्ने व्यवस्था छ ।

व्यक्तिगत घरजग्गा, सार्वजनिक इलाका, धार्मिक तथा सांस्कृतिक वैभवका क्षेत्र र महत्त्वपूर्ण पुरातात्त्विक संवेदनशील क्षेत्र ’नो फ्लाई जोन’ तोकिएकाले त्यस्ता क्षेत्रमा ड्रोन क्यामराको प्रयोग निषेधित गरिएको छ । अन्तर्राष्ट्रिय सीमाको पाँच हजार मिटर क्षेत्रमा समेत यस्तो उडान गर्न नपाइने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्