परराष्ट्र मामिलामा राजनीति हावी हुने प्रवृति रोक्नैपर्छ : पूर्व परराष्ट्र सचिव आचार्य



काठमाडौं । ‘हाम्रो परराष्ट्र मामिलामा राजनीति हावी हुने गरेको छ । राष्ट्रहितभन्दा पार्टी र व्यक्तिगत फाइदाका लागि परराष्ट्र नीतिलाई राजनीतिकरण गर्ने गरिएको छ ।

राजनीतिक लाभका लागि हाम्रा आन्तरिक मुद्दामा पनि छिमेकी राष्ट्रहरू र शक्ति राष्ट्रहरुको हस्तक्षेप खोज्ने र सँगसँगै कुनै एक शक्तिको पक्ष लिने प्रवृति छ । यस्तो प्रवृतिलाई हामीले रोक्नैपर्छ । परराष्ट्र नीतिमा गल्ती गर्ने सुविधा छैन । यसले राष्ट्रलाई ठूलो क्षति पुर्याउँछ ।’

यो भनाइ हो पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यको । परराष्ट्र मन्त्रालयले आइतबार राजधानीमा आयोजना गरेको प्रोफेसर यदुनाथ खनाल प्रवचन श्रृंखलाको दोस्रो संस्करणमा प्रवचन दिने क्रममा उनले परराष्ट्र नीतिमा सदैव स्पष्टता, विश्वसनीयता, र निरन्तरतालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले परराष्ट्र नीतिमा अस्पष्टता वा दुविधा देखिए राजनीतिक अभिलाषा र लोकप्रियताका लागी खेल्नेले ठाउँ पाउने बताए ।

नेपालको राष्ट्रिय हितको सुरक्षा परिवर्तनशील अन्तर्राष्ट्रिय वातावरणमा परराष्ट्र नीतिको छनोट विषयमा बोल्दै कुटनीतिज्ञ आचार्यले भने– ‘दुई पक्षिय वा बहुपक्षिय कुनै पनि विषयमा सम्बन्धित राष्ट्र वा पक्षलाई हाम्रो नीति स्पष्ट पार्न परराष्ट्र मन्त्रालयले ढिलाइ गर्नुहुन्न् । नीति स्पष्ट पार्न ढिलाई हुँदा अमेरिकाको एमसीसी र एसपीपीमा के भयो भन्ने हामी सबैले देख्यौं ।’ उनले हामी कुनै पनि शक्तिको सैन्य गठबन्धनको सदस्य नबन्ने तर हाम्रो आर्थिक विकासमा सबैको सहयोग लिने हाम्रो नीतिबारे हाम्रा सबै मित्र राष्ट्रहरूलाई स्पष्ट पार्नुपर्ने बताए ।

कार्यक्रममा उनले नेपाल हात्तीको चालमा दौडिरहेको भारत र उडिरहेको ड्रागनजस्तै चीनको बीचमा रहेर पनि कछुवाको गतिमा विस्तारै अघि बढिरहेको टिप्पणी गर्दै नेपालले समयमै ‘ट्रान्जिट इकोनोमी’को फाइदा उठाउनुपर्ने आवश्यक्ता औंल्याए । उनले भने– ‘भारत र चीनले सहकार्य गर्दा होस् वा प्रतिस्पर्धा गर्दा हामीले फाइदा लिन सक्नुपर्छ ।

उनीहरूसँग डराएर टेबुलमा आएका सबै स्वीकार गर्ने होइन, हाम्रो फाइदा केमा छ, त्यो हेर्नुपर्छ । त्यसमाथि चीन अब क्षेत्रीय मात्रै होइन, विश्व शक्तिकै रुपमा उदीयमान भैरहेको समयमा हामीले कसरी फाइदा लिन सक्छौं, त्यतातर्फ ध्यान दिनु जरुरी छ ।’

पूर्वपरराष्ट्र सचिव आचार्यले कूटनीतिमा लगानी गर्नु भनेको विलासिताको लागि नभएको भन्दै सरकारलाई कूटनीतिमा पर्याप्त लगानी गर्न आग्रह पनि गरे ।

उनले लुम्बिनीलाई पर्यटकीय क्षेत्रको रुपमा मात्रै सिमित नगरी विश्वस्तरिय आध्यात्मिक र सांस्कृतिक सम्पदाको रुपमा विकास गर्नुपर्ने सुझाव पनि दिए ।

कार्यक्रममा पररष्ट्र सचिव भरतराज पौड्यालले नेपालको परराष्ट्र नीतिका साथै परराष्ट्र सम्बन्धमा प्रोफेसर यदुनाथ खनालको उल्लेखनीय योगदानको स्मरण गर्दै उनको सम्मानमा प्रवचन श्रृंखला शुरु गरिएको जानकारी दिए । उनले प्रत्येक वर्ष आयोजना गरिने यो श्रृंखलामा नेपालको राष्ट्रिय हितलाई सहयोग पुग्नेगरी राष्ट्रिय, क्षेत्रिय र अन्तरराष्ट्रिय विषयहरूमा छलफल गरिने जानकारी पनि दिए ।

 

प्रतिक्रिया दिनुहोस्