जेष्ठ नागरिक मैत्री स्थानीय शासनको माग, ललितपुर- १६ द्वारा ६० जना जेष्ठ नागरिक सम्मान



ललितपुर । जेष्ठ नागरिक मैत्री स्थानीय शासन खाँचो औल्याउँदै ललितपुर महानगरपालिका–१६ वडा जेष्ठ नागरिक समितिले ६० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
स्थानीय बालिफमा एक समारोहको आयोजना गरी नेवाः परम्परा अनुसार पहिलो भिमरथारोहण (ज्याजंकू) गरिसकेका वा ७८ वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो।सम्मानित हुनेहरुलाई समितिका संयोजक एवं वडा सदस्य पञ्चबज्र बज्राचार्यले सिरकसहित पौष्टिक आहार, वडाअध्यक्ष निर्मलरत्न शाक्यले दोसल्ला ओढाई, वाग्मती प्रदेश सरकारका विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले सम्मानपत्र प्रदान गर्नुभयो।
सो अवसरमा वडा सदस्य एवं कार्यक्रम संयोजक पञ्चबज्र बज्राचार्यले जेष्ठ नागरिक मैत्री स्थानीय तह बनाउनुपर्ने खाँचो औल्याउँदै त्यसका लागि नीति र बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।
स्थानीयस्तरमा र वडास्तरीमा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरी जेष्ठ नागरिकलाई उत्प्रेरित गर्ने तालिम, जेष्ठ नागरिकको स्वास्थ्य तथा उचित स्याहार, पोषणको सम्बन्धमा  जनचेतनामूलक तालिम तथा गोष्ठी सञ्चालन गर्नुपर्ने पनि संयोजक बज्राचार्यको जोड रहेको छ ।
समारोहमा समितिका संयोजक एवं वडाअध्यक्ष निर्मलरत्न शाक्यले वडाको विकासमा सक्रिय जेष्ठ नागरिकको सहभागितालाई वृद्धि गरी वडाको बजेटबाठ तिनिहरुको हितका कार्यहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण, औषधी निशुल्क वा सहुलियत दरमा वितरण गर्ने, दैनिक समय बिताउन दिवा सेवा केन्द्रको स्थापना गर्ने सोच रहेको जनाउँदै वडाअध्यक्ष शाक्यले त्यसलाई क्रमश व्यवहारमा मूर्त रुप दिँदै जाने बताउनुभयो।
सम्मानित हुनेहरुको तर्फबाट विष्णुगोपाल श्रेष्ठले जेष्ठ नागरिक सम्मान कार्यलाई वडाले निकै प्राथमिकतामा राखेकोले जेष्ठ नागरिकहरुमाझ अझै धेरै बाँच्ने हौसला र आत्मबल मिलेको धारणा राख्नुभयो। समितिका संयोजक राज बज्राचार्य र समितिका सदस्य अशोक श्रेष्ठले जेष्ठ नागरिकको ज्ञान, सीप, अनुभवलाई स्थानीय तहको विकासमा सदुपयोग गर्नुपर्नेमा ध्यानाकर्षण गर्दै त्यसका लागि उपर्युक्त नीति बनाउन माग गर्नुभयो। साे अवसरमा जेष्ठ नागरिकहरूकाे मधुमेह र रक्तचाप जाँच गरिएकाे थियाे।
समितिले यस अघि २०७६ साल  बैशाख २० गते शुक्रबार २ सय ३८ र विसं २०७८ पुस १० गते शनिबार १ सय जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्