
महोत्तरी ।
मन्त्री बनेर झन्डा हल्लाउने मात्रका कारण काम नभएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।
पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमानदारिताका साथ नलाग्दा जनताको काम नभएको गृहमन्त्री श्रेष्ठको तर्क छ ।
महोत्तरीको रामगोपालपुरमा नवनिर्मित वडा भवनको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले जनताको समस्यामा नेता समेत इमानदारी नभएको आरोप लगाए । कुरा गर्ने दिनको अन्त्य भएको बताउँदै जन्तालाइ जनप्रतिनिधि र नेताहरुले काम गरेर नतिजा देखाउने समय आएकोप्रति सजग गराए ।
मिटरव्याज पीडितहरूको समस्यालाइ सरकारले प्रमुखताका साथ लिइरहेको बताउँदै गृहमन्त्री श्रेष्ठले भने : ` काइते कुरा गरेर कुनैपनी प्रहरीले पीडितलाई थप पिडा दिएको छ भने हामीलाई उजुरी दिनुस् हामी कारबाही गर्न तयार छौ ।´ मिटरव्याज पीडितको लागी जनप्रतिनिधिहरुले एजेन्डा बनाउन नसकेकोप्रति पनि गृहमन्त्री श्रेष्ठले गुनासो गरे ।
गृहमन्त्री श्रेष्ठले मधेशमा आउँदा राष्ट्रिय एकताको झल्को आउने गरेको पनि अनुभव सुनाए । उनले भने – `मधेशका श्रमिकहरुले जहिलेपनी राष्ट्रिय स्वाधिन्ता र राष्ट्रिय एकताको लागी आवाज उठाउने गर्दछन्।´