आज राति च्याम्पियन्स लिगको फाइनल, म्यानचेस्टर सिटी र इन्टर मिलान भिड्दै



लन्डन, एजेन्सी । 

च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार राति इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानले प्रतिस्पर्धा गर्दैछन् । टर्कीको इस्तानबुलस्थित अटाटर्क ओलम्पिक स्टेडियममा हुने यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार आज राती १२:४५ बाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै चौंथो च्याम्पियन्स लिग उपाधि चुम्ने योजनामा इन्टर हुनेछ । यसअघि इन्टरले तीन पटक उपाधि जितिसकेको छ । इन्टरले अन्तिम पटक सन् २०१० मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

तर, अर्कोतिर सिटीले भने यो उपाधि अहिलेसम्म जित्न सकेको छैन । इस्तानबुलमा हुने उपाधि भिडन्तमा सिटीले नयाँ इतिहास कोर्न इन्टर मिलानको तगारो पन्छाउनु पर्नेछ । उसो त सिटी सन् २०२१ मा च्याम्पियन्स लिग उपाधिनजिक पुगेकै हो । तर, चेल्सीले सिटीलाई विजेता बन्न दिएन । त्यसको एक वर्षपछि त सिटी रियल मेड्रिडसँग पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो । यसपटकको सेमिफाइनलमा भने सिटीले रियललाई हराएर उपाधि नजिक पुगेको हो ।

सिटीले यो सिजन इङ्लिस प्रिमियर लिग जितिसकेको छ । त्यस्तै, युनाइटेडलाई हराएर एफए कप उचालेको पनि धेरै भएको छैन । प्रिमियर लिग र एफए कप च्याम्पियन सिटी च्याम्पियन्स लिग जित्दै ट्रेबल उपाधि जित्ने योजनामा छ । सिटी कुल नौ पटक इङ्ल्यान्डको च्याम्पियन भएको छ । नौमध्ये सात उपाधि सिटीले आबुधाबीको शाही परिवारले स्वामित्वमा लिएपछि जितेको हो । सिटीमा स्वामित्व परिवर्तन सन् २००८ मा भएको थियो । शाही परिवारको प्रवेशसँगै सिटी इङ्लिस फुटबलको नयाँ शक्ति बनेको भन्दा फरक नपर्ला । तर, युरोपियन क्लब फुटबलमा भने सिटीले अझै धाक जमाउन प्रयासरत नै छ । जसका लागि सिटीले आज हुने खेलको परिणाम कुर्नुपर्ने हुन्छ ।

सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिवालाले सन् २००९ मा बार्सिलोनालाई पनि एकै सिजन ह्याट्रिक उपाधि दिलाएका थिए । ग्वार्डिवालालाई पुन: एकचोटि त्यस्तै दुर्लभ क्षण दोहोर्‍याउने अवसर मिलेको छ । सिटीका लागि आजको खेलमा इर्लिङ हालान्ड र इल्के गुन्डोगन मुख्य भूमिकामा हुनेछन् । हालान्ड च्याम्पियन्स लिगको यो सिजनका सर्वाधिक गोलकर्ता पनि हुन् । उनले जारी सिजनमा १२ गोल गरिसकेका छन् ।

अर्कोतिर सिटी जतिसुकै बलियो भए पनि इन्टर मिलानलाई कमजोर आँके त्यो गलत सावित हुन सक्नेछ । किनभने इन्टर विगतको तीन पटकका विजेता टोली हो र इतिहास पनि गर्विलो नै छ । सन् १९६० कै दशकमा दुई पटक युरोपियन कप जितेको इन्टरले पछिल्लो पटक सन् २०१० मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । सुरुमा युरोपियन कप र त्यसपश्चात च्याम्पियन्स लिग सम्बोधन गरिएको यस प्रतियोगितामा इन्टरले कुल ६ पटक फाइनल खेलेको छ ।

इन्टरले पछिल्लो पटक च्याम्पियन्स लिग जितेको सन् २०१० को सिजनमा कुल तीन उपाधि जितेको थियो । त्यसताका जोजे माउरिन्होको प्रशिक्षणमा रहेको इन्टरले च्याम्पियन्स लिग सहित इटालियन सिरी ‘ए’ र कोपा इटालियाको पनि उपाधि उचालेको थियो । त्यसयता कुनै इटालियन क्लबले च्याम्पियन्स लिग जित्न सकेको छैन ।

यो सिजन सिरी ‘ए’ मा तेस्रो भएको इन्टर सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । त्यसअघि इन्टरले नकआउटका अरु खेलमा बेनफिका र पोर्टोलाई पन्छाएका थिए । दुई सिजनअघि सिरी ‘ए’ च्याम्पियन बनेको इन्टर यसपाली भने कोपा इटालिया उपाधिमै सीमित बन्यो । आज राति हुने फाइनलमा इन्टरका लाउरेटो मार्टिनेज र रोमेलु लुकाकुले मुख्य भूमिका निर्वाह गर्ने अनुमान गरिएको छ । यी दुवै खेलाडी यो सिजन उत्कृष्ट लयमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्