कार्यालय सार्दा मनपरी- पेश्की लिँदै खर्च गर्दै महानगरका कर्मचारी



काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यालय स्थानान्तरण गर्न विभिन्न विभागलाई पेश्की लिएर खर्च गर्ने निर्णय गरेको छ । टेन्डरमार्फत सामग्री खर्च गर्नुपर्ने प्रावधानलाई लत्याउँदै प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पेश्की लिएर खर्च गर्न निर्देशन दिनुभएको हो ।

उच्च स्रोतका अनुसार कार्यकारी स्तरमा निर्णय गरी पेश्की लिएर कार्यालय सजावट गरिएको छ । एउटा विभागले १० लाखभन्दा बढी खर्च गर्नुपर्दा टेन्डरको सूचना जारी गर्नुपर्छ,त्यसो गरेमा तत्काल कार्यालय स्थानान्तरण गर्न नसकिने भन्दै सुटुक्क पेश्की लिएर खर्च गर्ने अधिकार दिएको हो ।

हाल विभाग, महाशाखा, शाखालगायत निकायले माग फारम भरेपछि कामपाले सामानको व्यवस्थापन गर्ने गरेको छ । उच्च स्रोतका अनुसार कमिसनको लोभमा टेन्डर नगरी सोझै सामान खरिद गरिएको हो ।

कार्यालय स्थानान्तरण गर्दा कुन कार्यालयले कति खर्च ग¥यो ? भन्ने विषय गोप्य राखिएको छ । एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने हामीलाई सामान चाहियो भन्छौं, तत्काल ल्याएर फिट गरिन्छ कस्तो सामान कहाँबाट ल्यायो भन्ने विषयमा कुनै जानकारी हँुदैन । महानगरले हतारमा आर्थिक अपचलन गरिरहेको कर्मचारीहरूले आरोप लगाएका छन् ।

हालसम्म कति सामान खरिद भयो भन्ने विषयमा प्रशासकीय अधिकृत र प्रशासन र खरिदका केही कर्मचारीबाहेक कसैलाई जानकारी छैन । कामपाले शुरूमा वैशाख १५ गतेसम्म कार्यालय सरिसक्ने जनाएको थियो । असार लाग्नै लाग्दा पनि ६ वटा विभागसहित करिब एक दर्जन निकाय सर्न सकेका छैनन् ।

कामपा प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलको कार्यालय कहिले सर्ने भन्ने विषयमा कसैलाई जानकारी गराइएको छैन । प्रमुख र उपप्रमुखको कार्यालय जेडीए र राष्ट्रिय सभागृहमा छ । प्रमुख र उपप्रमुखको कार्यालय स्थानान्तरण हुन अझै केही समय लाग्ने कामनपाका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो ।

उहाँले भन्नुभयो– अधिकांश शाखाहरू स्थानान्तरण भइसकेका छन् । अब केही दिनमा सबै शाखा एकै ठाउँमा सर्ने छ र काठमाडौं प्लाजाबाट सेवा दिने छौं । हालसम्म राजस्व विभाग, शिक्षा विभाग,नक्सा विभाग, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, सूचना प्रविधि विभाग सरेका छैनन् ।

त्यस्तै, शहरी योजना आयोग, सार्वजनिक निजी साझेदारी,ट्राफिक व्यवस्थापन शाखा जिन्सी शाखा पनि सर्न सकेको छैन । सरेका कार्यालय पनि भद्रगोल अवस्थामा छन् । सेवाग्राहीले शौचालय प्रयोग गर्न सक्ने अवस्थामा छैन । नयाँ सरेको कार्यालयमा अझै लिफ्ट बनेको छैन । सो भवनमा रहेको मुक्तिनाथ विकास बंैक पूर्ण रूपमा स्थानान्तरण भइसकेको छैन । यस्तो अवस्थामा महानगरले कसरी जनताको सेवा दिन सक्छ भन्ने प्रश्न उठेको छ । कामपाले लिफ्ट मर्मत र विद्युत्का लागि भर्खर टेन्डर आह्वान गरेको छ । मासिक ६० लाख ५० हजार रुपियाँमा भाडामा लिएको सो भवनको पूर्ण रूपमा तयार हुन अझै दुई महिना लाग्ने कर्मचारीहरू बताउँछन् । कामपाका प्रवक्ता मानन्धरले असारसम्म सबै विभाग, महाशाखा, योजना, आयोजना र इकाइ कार्यालय स्थानान्तरण भइसक्ने स्पष्ट पार्नुभयो । दाबी गर्नुभयो ।

काठमाडांै प्लाजाको लथालिंग भवन २०७९ साल चैत ८ गतेदेखि लागु हुनेगरी १० वर्षका लागि भाडामा लिएको थियो । भवन बाहिरबाट हेर्दा भव्य भएपनि भित्र अझै भताभुङ्ग छ । कुनै पनि निकायले आफ्नो घर भाडामा दिँदा पूर्ण रूपमा तयार भएपछि मात्र लेनदेन हुनुपर्ने मान्यता छ तर कामपाले हतारमा करोडौं रुपियाँ खर्च गर्नेगरी भाडामा लिएपछि अनावश्यक रूपमा झण्डै २ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

५ रोपनी क्षेत्रफल रहेको सो भवन ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्ने अवस्थामा रहेको छ । १ लाख १६ हजार वर्गफिट पक्की भवन र ३ हजार ६ वर्गफिटको अस्थायी संरचनासहित प्लाजाको १ लाख १९ हजार वर्गफिटमा कार्यालय सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्