तिलगंगाले आँखा दान महादानको नारासहित सामूहिक श्रद्धाञ्जली–सभा गर्ने 



काठमाडौँ। 

तिलगंगा आँखा प्रतिष्ठानले विगत वर्षमा जस्तै यो वर्ष पनि आँखा दान गर्ने दाताहरुको सम्झनामा सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ ।
आँखा दान महादान भन्ने उक्तिसँगै दृष्टिविहिनहरुलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दै आएको नेपाल आँखा कार्यक्रम अन्तर्गतको नेपाल आँखा बैंकले समय समयमा मरणोपरान्त आँखाको नानी दान गरी अमरत्व प्राप्त गर्नुहुने श्रद्धेय महानुभावहरूको सम्झना र सम्मानमा उहाँहरुका परिवारहरुको उपस्थितिमा श्रद्धा सुमन अर्पण गर्न सामूहिक श्रद्धाञ्जली–सभा को आयोजना गर्दै आएको छ ।

बितेका ३ वर्षमा कोभिडको कारणले हुन नसकेको यो कार्यक्रमलाइ निरन्तरता दिँदै यही ज्येष्ठ २७ गते शनिवार श्रद्धाञ्जली सभाको आयोजना गर्न लागेको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ । आँखाको नानीमा सङ्क्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा,अज्ञानता र गरिबीको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुने प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 नेपालमा दृष्टिविहीन हुनुको दोस्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउनु नै हो । नेपालमा आँखाको नानीका कारण दृष्टिविहीन भएका थुप्रै व्यक्तिहरु छन् जो फेरि यो संसार नियाल्ने पर्खाइमा छन् । त्यस्ता व्यक्तिहरुका लागि तपार्इँ हामीले मृत्यु पश्चात् आँखा दान गरिदिने हो भने दुई देखि चार दृष्टिविहीनले यो संसार पुनः देख्न पाउँछन् । त्यस्ता व्यक्तिहरुका लागि नेपाल आँखा बैंकले सुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान साबित भएको छ । नेपाल आँखा बैंकमा हाल सम्म झन्डै १ लाख भन्दा बढी दाताले मृत्यु पर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् । १२ हजार भन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन् र पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको प्रतिष्ठानले जनाएको छ ।

विभिन्न कारणवश आँखाको नानी बिग्रिएर दृष्टिविहीन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको आँखा बैंकले जनाएको छ । आँखा बैकले मृत्यु पश्चात् आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन,परीक्षण र संचय लगायत आवश्यक परेकालाई नानी  उपलब्ध गराउने गर्दछ । सुरुवातको अवस्थामा पशुपतिको आर्यघाट लगायत विभिन्न ठाँउमा गएर आँखा दान सम्बन्धी मानिसहरुमा जनचेतना जगाई यस सम्बन्धी बुझाइन्थ्यो । अहिले यी सँगै आर्यघाट विद्युतीय शवदाह गृह लगायत काठमाडौँमा रहेका ४ वटा ठूला अस्पताल वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल,गंगालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखा बैकबाट खटाइएका परामर्शदाताहरूले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ । जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ । त्यस्तै गरेर स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लाहान, हेटौडा, भरतपुर,लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रिय आँखा नानी संकलन केन्द्रहरु स्थापना भई आँखाको नानीहरु संकलन गरिरहेको जनाएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ भन्नुहुन्छ, धेरैभन्दा धेरै मानिसहरूलाई मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न र गराउन, दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदानप्रदान गर्नुपर्छ । दिवङ्गत आत्माको चिर शान्तिको लागि सामूहिक श्रद्धाञ्जली अर्पण गर्नु यस सभाको मुख्य उद्देश्य हो ।  अहिले धेरै मानिसहरुको आँखा दान प्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुदैछ । नेपाल भरि आँखा बैंकको सेवा दिई राखेका छौँ ।

नेपाल आँखा बैंकका व्यवस्थापक शंख नारायण त्वायना भन्नुहुन्छ, मानिसको मृत्युपश्चात जसरी धार्मिक रितीरिवाज अनुसार संस्कार गरिन्छ त्यसरी नै आँखादान लाई पनि संस्कारको रुपमा स्थापित गर्न सके दृष्टिविहीनलाई पूःन दृष्टि प्रदान गर्न  अझ प्रभावकारी साबित हुनसक्छ । नेपालमा आँखादान गर्न र गराउनको लागि जनमानसलाई सु–सूचित गर्ने उद्देश्यले नेपाल आँखादान समाजको पनि स्थापना भएको छ । यसले नेपालभरि सबै क्षेत्रमा शाखा÷प्रशाखा मार्फत आँखादान सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरी आँखाको नानीको कारणले दृष्टिविहीन भएकालाई देख्न देखाउन कार्यक्रमहरुको तर्जुमा गरेको छ । यसमा कोही शुभचिन्तक आफ्नो स्थानीयस्तरमा समाहित भएर लाग्न सक्नुहुनेछ ।

यस आँखा बैंकले इन्टरनेशनल फिड्रेशन या आँखा बैंक तथा साइट लाइफले निर्धारण गरेको अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पुरा गरी अन्तर्राष्ट्रिय गुणस्तरलाई कायम राख्दछ । बैंकमा आँखाको नानी शुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने हाल आँखाको नानी देश भित्रबाटै संकलन गरी स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपलब्ध गराएको छ ।

सबैलाई दृष्टि दिने हाम्रो यस अभियानमा सुरुवातदेखि पशुपति विकास कोष र अन्तर्राष्ट्रिय सहयोगी संस्था हिमालयन क्याट्र्याक्ट प्रोजेक्टले गरेको योगदान लगायत फ्रेड हलोज फाउण्डेसन, लायन्स क्लव अफ पशुपतिनाथ ,नेपाल आँखा दान समाज, सञ्चारमाध्यम र अन्य सम्बन्धित सम्पूर्ण शुभचिन्तक तथा क्षेत्रले दिनुभएको साथ र गर्नुभएको सहयोगको लागि यस प्रतिष्ठान धन्यवाद व्यक्त गर्दछ, । मृत्युपछि अगोमा जलेर वा जमिनमा पुरिएर खेर जाने आँखाको नानी, कसैका लागि प्रयोगमा आउनु, सत्कर्म हो । आँखा दान जस्तो मानवीय कार्यका लागि सबैलाई उत्प्रेरणा जगाई आत्मा शान्तिको कामना गरौँ ।

प्रतिक्रिया दिनुहोस्