जुगेडीका किसानहरुद्वारा युनाइटेड सिमेन्टसँग क्षतिपूर्ति माग



धादिङ । 

दक्षिणपूर्वी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलोका कारण उद्योग वरपरका किसानहरुले क्षतिपूर्ति माग गरेका छन् ।

मोतीलाल दुगडको स्वामित्वमा रहेको सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलोका कारण कृषि उत्पादनमा ह्रास आएको, स्थानीयहरु बिरामी पर्ने गरेको भन्दै क्षतिपूर्ति माग गरेका हुन् ।

उद्योग स्थापना भएदेखि नै मारमा परेको भन्दै उनीहरुले अहिलेसम्म कुनै निकायले पनि ध्यान नदिएको गुनासो गरेका छन् । प्रदूषणका कारण स्थानीयहरुलाई दैनिक जीवनयापनमा समेत असहज भएको जुगेडी खाद्य अधिकार प्रभावित समूहका संयोजक रमा राईले बताउनुभयो ।

स्थानीयबासीहरुमा श्वासप्रश्वासको समस्या देखिएको, घाँटी खसखस गर्ने, आँखा पिरो हुने, चिलाउने, जिउ चिलाउने, घाउ खटिरा निस्कने, जस्ता समस्या आएको  जुगेडीका ६८ वर्षीय मुकुन्द राईको भनाइ छ ।

सिमेन्ट उद्योगबाट प्रभावितहरुले राहत क्षतिपूर्ति नपाएपछि आफ्नो माग सुनुवाइका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले समस्या समाधान गर्न पत्रकारहरुसँग समेत छलफल गर्दै स्थानीयलाई साथ दिन आग्रह समेत गरेका छन्।

सिमेन्ट उद्योगबाट निस्कने धँवाधुलो पूर्ण रुपमा बन्द गर्नुपर्ने, मुख्य राजमार्गदेखि उद्योगसम्म आउने सडक चौडा, पक्की ढलान वा कालोपत्र गर्नु पर्ने, कृषि बिमा गर्दै हालसम्मको नोक्सानीको एकमुष्ट क्षतिपूर्ति दिनुपर्ने, स्थानीयको पूर्णरुपमा  स्वास्थ्य बिमा गरिदिनुपर्ने र जुगेडीमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्नुपर्ने, उद्योग स्थापना गर्दा एकघरएक रोजगारको आश्वासन पुरा गर्नुपर्ने, स्थानीय महिलालाई हस्तकलाको सिप दिनु पर्ने, वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन अनुसारकाम भएनभएको जाँच गर्नुपर्ने, पोलिर्फम उत्पादन गर्दा प्रयोग भएको केमिकलबाट स्थानीयहरू बिरामी पर्न थालेकोले स्थानीयलाई असर नपर्ने गरी उद्योग सञ्चालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको मागपत्रमा उल्लेख छ ।

२ सय ३० परिवार राई समुदायको बसोबास रहेको क्षेत्र जुगेडी जिल्लाकै पहिलो तरकारी पकेट क्षेत्र समेत हो। यहाँका मानिसहरु अधिकांशको मुख्य पेशा कृषि नै भएको तर गाउँको बिचमा उद्योग संचालनमा आएपछि पहिलेको तुलनामा आर्थिक तथा सामाजिक नोक्सानी पुगीश्रमकोमूल्य समेत नआएको रामकृष्ण राईले बताउनुभयो।

घरका झ्यालहरु सधैँ बन्द गर्नुपर्ने, कपडा धोएर बाहिर सुकाउन नमिल्ने, बस्तुभाउलाई घाँस पखालेर खुवाउन पर्ने अवस्था आएको र सिमेन्ट उद्योगको असर र यसै गाउँको बस्तीमा संचालित पोलि फर्म उत्पादन गर्दा प्रयोग भएको केमिकलबाट स्थानीयहरू बिरामी पर्न थालेको स्थानीयबासीको भनाइ छ ।

मारमा परेका स्थानीयहरुले बारम्बार गुनासो राखेपनि अहिलेसम्म कुनै निकायले ध्यान दिएको छैन । स्थानीय प्रभावितहरुको ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारीले धुनीबेसी नगरपालिकासंग छलफल गरी समस्या समाधानको पहल गर्ने बताउनुभएको छ।

प्रभावितहरुको सुरक्षा, क्षतिपूर्ति र उद्योग स्थापना गर्दाका सर्तहरु कार्यान्वयन गर्न लगाइने प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्