राष्ट्रिय ललितकला प्रदर्शनीमा ६ सय ९ कलाकारका ६ सय ९५ कलाकृति : अवलोकनकर्ता दैनिक १ हजार



नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० जारी छ।

मंगलबार प्रदर्शनीको अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले कला र संस्कृतिको जर्गेनामा राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिँदै प्रदर्शनीमा देशको संस्कृति, प्रकृति, जनजीवन, देशप्रेमलगायत विभेद र समानताको विषयसमेत कलात्मक ढंगले आएको बनाइन्। प्रदर्शनीमा दैनिक एक हजारदेखि १२ सय जनाले अवलोकन गरेको प्रतिष्ठानले जनाएको छ। प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसर नाफा नक्साल र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ।

प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले नेपाली कला र सभ्यताको महाउत्सवको रुपमा यो प्रदर्शनी भएको जनाउँदै म, मेरो देश र मेरो सिर्जना थिममा कलाकृतिलाई राखिएको तथा ती कलामा नेपालीपनको स्वाद लिन पाउने विश्वास व्यक्त गरे। राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० गत जेठ १५ गतेबाट शुरु भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीद्वारा शुभारम्भ गरिएको प्रदर्शनी विभिन्न उच्च पदस्थ व्यक्ति, नेता, कलाकार, राजदूत, सेना, प्रहरीलगायतले अवलोकन गर्दै आएका छन्।

यस अवधिमा पुरस्कृत कलाकारहरुसँग अन्तक्र्रिया, कलामा लैंगिक चुनौती, समकालीन कलामा भौतिकता र गतिशीलता, हस्तकलाः चुनौती र अवसर, परम्परागत–समसामयिक मूर्तिकलाबिचको अन्तरसम्बन्धलगायतका विषयमा समूहगत छलफलसमेत सम्पन्न भएको छ। प्रदर्शनीमा देशभरका लोककला, परम्परागत चित्रकला, मूर्तिकला, समसामयिक चित्रकला, मूर्तिकला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, कार्टुन, भावभङ्गी कला, क्यारिकेचर र डिजिटल विधाअन्तर्गत ६ सय नौ कलाकारका ६ सय ९५ कलाकृति राखिएको छ। यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६ सय ५३ कलाकारका सात सय ५५ कलाकृतिमध्येबाट यी कलाकृतिको छनोट गरिएको प्रतिष्ठानले जनाएको छ। जसअन्तर्गत समसामयिक चित्रकला विधामा दुई सय ३४ कलाकारका दुई सय ६९ कलाकृति, परम्परागत चित्रकला विधामा एक सय ३० कलाकारका एक सय ३६ कलाकृति, समसामयिक मूर्तिकला विधामा ४२ कलाकारका ४६ कलाकृति, परम्परागत मूर्तिकला विधामा ३१ कलाकारका ३९ कलाकृति, हस्तकला विधामा ६३ कलाकारका ८५ कलाकृति, लोककला विधामा ४२ कलाकारका ४७ कलाकृति, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफी विधामा १६ कलाकारका २१ कलाकृति, प्रतिस्थापन कला विधामा १२ कलाकारका १२ कलाकृति, कार्टुन विधामा १७ कलाकारका १७ कलाकृति, भावभङ्गी विधामा १२ कलाकारका १२ कलाकृति, क्यारिकेचर विधामा ४ कलाकारका ४ कलाकृति र डिजिटल विधामा ६ कलाकारका ७ कलाकृति रहेका छन्। यी कलाकृतिमध्ये लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्, बबरमहल तथा समसामयिक चित्रकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा राखिएको छ। प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदिप शाक्यले गरेका हुन्।

प्रदर्शनीको शुभारम्भका दिन यस वर्षको अरनिको राष्ट्रिय ललितकला सम्मान जनही एक लाख रुपियाँसहित क्रमशः मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिएको थियो। राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार जनही २५ हजार रुपियाँसहित क्रमशः नगेन्द्रप्रसाद पौड्याल र नारायणप्रसाद ढुंगानालाई प्रदान गरिएको थियो। यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान संगीता थापालाई प्रदान गरिएको थियो भने राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरिएको थियो।

त्यसैगरी, सासामयिक चित्रकला विधामा राष्ट्रिय ललितकला पुरस्कार ६० हजार रुपैयाँसहित उद्धवराज रिमाललाई प्रदान गरिएको थियो। यसै विधामा ललितकला विशेष पुरस्कार जनही २५ हजार रुपैयाँसहित रीता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरिएको थियोे। त्यस्तै परम्परागत चित्रकला विधामा नगद ६० हजार रुपियाँसहित राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरलाई प्रदान गरियो भने यसै विधामा ललितकला विशेष पुरस्कार जनही २५ हजार रुपियाँसहित रविन्द्र महर्जन र तारामान भोम्जनलाई प्रदान गरिएको छ।

वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कला ६० हजार रुपैयाँसहित विनय रिमाल, जनही २५ हजार रुपियाँसहित ललितकला विशेष पुरस्कार क्यारिकेचर सुश्रिना शाक्य, भावभंगी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई प्रदान गरियो। त्यस्तै, हस्तकला विधामा ललितकला पुरस्कार ६० हजार रुपियाँसहित ज्ञानीराज बज्राचार्य, ललितकला विशेष पुरस्कार जनही २५ हजार रुपियाँसहित शेखमान महर्जन र सुमित्रा भुजेल, लोककला विधामा ललितकला पुरस्कार ६० हजार रुपियाँसहित नम्रता सिंह, ललितकला विशेष पुरस्कार जनही ३५ हजार रुपियाँसहित राजु चित्रकार र ज्योति कुमारी सापकोटा कर्ण, परम्परागत मूर्तिकला विधामा राष्ट्रिय ललितकला पुरस्कार ६० हजार रुपियाँसहित जेरोम महर्जन, ललितकला विशेष पुरस्कार जनही २५ हजार रुपियाँसहित विष्णुप्रसाद लिवी र अनिल शाक्य, समसामयिक मूर्तिकला विधामा राष्ट्रिय ललितकला पुरस्कार ६० हजार रुपियाँसहित रिशिता खत्री, ललितकला विशेष पुरस्कार जनही २५ हजार रुपियाँसहित टीकाराम पौडेल (शशि किरण) र मीना कायस्थलाई प्रदान गरिएको थियो। त्यस्तै म, मेरो देश र मेरो सिर्जना थिममा जारी कला प्रदर्शनीको लोगो निर्माण गर्ने कलाकार प्रा. राधेश्याम मूल्मीलाई ताम्रपत्रबाट सम्मान गरियो भने पुरस्कृतमध्ये राष्ट्रिय ललितकला पुरस्कार प्राप्त गर्ने कलाकारलाई जनही ५० हजार विद्वतवृत्ति प्रदान गरिएको थियो।

यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट जनही २५ हजार रुपियाँसहित सुमन राई, मधेस प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्