सुबाशलाई ५ स्ट्रोकको अग्रता



काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा सुबाश तामाङर्ले ५ स्ट्रोकको अग्रता बनाएका छन् ।

नेपाल नम्बर एक एमेच्योर गल्फर सुवासले पहिलो दिन ९–अन्डर ६३ को उत्कृष्ट स्कोर दर्ता गरेका हुन् । यो स्कोरमा सुबाशले प्रोफेसनल गल्फर तोरण विक्रम शाहीलाई ५ स्ट्रोकले पछि पारेका हुन् । गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा तोरणले पहिलो दिनको खेल ४–अन्डर ६८ मा पुरा गरे । जयराम श्रेष्ठ र शिवराम पौडेलले ३–अन्डर ६९ को स्कोरमा संयुक्तरुपमा तेस्रो स्थान बाँडे।

यसैगरी एमेच्योर खेलाडी सदभाव आचार्य २–अन्डर ७० सहित पाँचौ स्थानमा छन् । १–अन्डर ७१ को स्कोरमा डिफेन्डिङ च्याम्पियन शुक्र बहादुर राई सहित कृष्णमान राजबाहक र दिनेश प्रजापति संयुक्तरुपमा छैटौं स्थानमा छन् । यसैगरी सूर्य प्रसाद शर्मा, भुवन नगरकोटी, दल बहादुर लामा, रबि खड्का र राजेन्द्र थापा मगर संयुक्तरुपमा नवौं स्थानमा छन्। उनीहरूले पहिलो दिनको खेल इभन–पार ७२ मा सकाए।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीले ७२ होलको प्रतियोगिता खेल्नेछन्। ३६ होलको समाप्तीमा शीर्ष २१ प्रो र कम्तिमा ६ एमेच्योर खेलाडीले कट बनाउनेछन्।

कुल १५ लाख २० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ। यसैगरी दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः १ लाख ७० हजार, १ लाख २० हजार र १ लाख प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद हात पार्नेछन्।

भुवन सर्वाधिक कमाउने गल्फर

सूर्य नेपाल गल्फ टुर अन्तर्गत ८ मध्ये ७ वटा प्रतियोगिताको सकिंदा भुवन नगरकोटी यो सिजन सर्वाधिक कमाउने खेलाडी सुचीको शीर्षस्थानमा छन् । उनले ५ लाख १३ हजार ५ सय रुपैयाँ कमाएका हुन् । उनी भन्दा १९ हजार ५ सय रुपैयाँ कम ४ लाख ९४ हजार रुपैयाँका साथ दोस्रो नम्बरमा शुक्रबहादुर राई रहेका छन् । यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको छिनोफानो समेत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्