गौशालामा परिणत हुँदै भद्रपुर शीत भण्डार : साढे तीन करोडभन्दा बढी रकम अलपत्र, स्थानीय तह गैरजिम्मेवार



भद्रपुर । भद्रपुरको कृषि उत्पादनको व्यवस्थित भण्डारणका लागि भनेर १३ वर्षअघि निर्माण शुरू गरिएको शीत भण्डार ( कोल्ड स्टोरेज) निर्माण पूरा नभई लथालिंग छाडेको कारण यतिखेर चौपाया राख्ने गौशालामा परिणत भएको छ ।

वि.सं. २०६७ मा नेपालस्थित भारतीय दूतावासमार्फत्झापाको पुरानो नगरपालिका भद्रपुरमा १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोल्ड स्टोरेज बनाउनका लागि बजेट निकासा गरी काम शुरू भएको थियो ।

भारतीय दूतावासले अनुदानस्वरूप बजेट निकासा गरेपछि नगरपालिकाले टेन्डर आह्वान गर्दै ठेक्का प्रक्रियामार्फत कोल्ड स्टोरेज निर्माण कार्य शुरू गरेको एक दशक पार गरिसकेको छ । तर, निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेमा पछिल्लो दुई वर्षयता शीत भण्डार बेवारिसे अवस्थामा रहँदा नयाँबजार क्षेत्रका गाई गोरू थुन्ने ठाउँ (गौशाला)का रूपमा परिणत भएको हो ।

निर्माण सम्झौता हुँदा कर्मचारीको हातमा रहेको स्थानीय सरकार अहिले जनप्रतिनिधिको हातमा छ । जनप्रतिनिधि आएको आधा दशकभन्दा बढी समय भइसक्दा पनि अलपत्र संरचनातर्फ नगरपालिकाका जनप्रतिनिधिले चासो देखाएका छैनन् । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि एक वर्ष व्यतीत भइसकेको छ ।

कुल ४ करोड ७८ लाख ७३ हजार २ सय ५८ रुपियाँ ९० पैसाको अनुमानित लागतमा निर्माण थालिएको शीतभण्डारको निर्माण ठेक्का सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले भ्याटसहित ४ करोड १३ लाख ३७ हजार ३ सय ७४ रुपियाँ ९६ पैसामा १५ महिनामा काम सम्पन्न गरिसक्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो ।

सम्झौताअनुसार २०६७ पुस १५ गते काम शुरू गरेको १५ महिनामा अर्थात् २०६८ चैत्र १६ गतेसम्ममा काम समाप्त हुनुपर्ने थियो । तर, १३ वर्ष पूरा हुन लाग्दा पनि अझसम्म निर्माणको काम सकिएको छैन । दाताबाट आएको करोडौं अनुदान बेवारिसे भएको विषयमा नगर प्रशासनले कुनै चासो नराखेको भन्दै नगरबासीहरूले दुखेसो पोखेका छन् ।

भद्रपुर कृषक समूहका नाममा खरिद गरिएको साविक भद्रपुर १ (हाल भद्रपुर ५) स्थित नयाँ बजारमा मेची नदीको किनारामा पर्ने उक्त जग्गामा भद्रपुर शीत भण्डार निर्माण शुरू गरिएको हो । १३ वर्षको अवधिमा ठेकेदारले बल्लतल्ल यस भवन निर्माण कार्य पूरा गरी रंगरोगन गरेको छ । तर, शीत भण्डारभित्र चाहिने आवश्यक थर्मोकुलर जडान भए पनि ग्याँस हाल्नुपर्ने, ट्रान्समिटर, जेनेरेटर, बिजुलीको सामान जडान र अन्य केही मेसिनरी जडानलगायतका मुख्य काम अझै हुन सकेको छैन ।

गृह मन्त्रलायले काम नगर्ने ठेकेदारलाई कारबाही शुरू गरेपछि ठेकेदार सोनी दुई वर्षअगाडि नगरपालिकाको सम्पर्कमा आएको भए पनि रोकिएको थप काम केही अघि बढेको छैन । गृहले कारबाही गर्न छाडेपछि फेरि ठेकेदार सोनी सम्पर्कविहीन बनेको नगरपालिका स्रोतको दाबी छ । शीत भण्डारमा केही महत्वपूर्ण काम अझै बाँकी रहे पनि ठेकेदार कम्पनीले साढे तीन करोडभन्दा बढी रकम लगिसकेको देखिन्छ ।

स्थानीय सरकार शक्तिशाली तथा अधिकार सम्पन्न भए पनि विगतदेखि अलपत्र परेका संरचना निर्माण सम्पन्न गराई सञ्चालनमा ल्याउन भने निरीह देखिएको छ । पछिल्लोपटक निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा पनि अलपत्र शीतभण्डार निर्माणमा ध्यान पु¥याउन सकेको छैन । यद्यपि,केही प्राविधिक विषय बाँकी रहेकोले ढिलाइ भएको भन्दै वडा अध्यक्ष वन्धु कार्कीले शीत भण्डार छिटोभन्दा छिटो सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

सो विषयमा नगरप्रमुख गणेश पोखरेलसँग जिज्ञासा राख्दा शीत भण्डार निर्माणको कार्य अन्तिम चरणमा रहेकोले प्राविधिक पक्षका बारेमा सरोकारवालासँग छलफल चलाई सञ्चालनका लागि हस्तान्तरण प्रक्रियामा लैजाने तयारी गरिरहेको बताउनुभयो । चौपाया राखिएको सम्बन्धमा भने आफूलाई जानकारी नभएको भन्दै उहाँले त्यसबारे बुझेर चौपाया भए हटाइने बताउनुभयो ।

भद्रपुरको कृषि उपज संरक्षण तथा विकासलाई टेवा पु¥याउन नेपाल–भारत मैत्री संघको पहलमा भद्रपुरमा शीत भण्डार निर्माणका लागि भारतीय दूतावाससँग आग्रह गरिएको थियो । दूतावासले सहयोग गर्ने भएपछि भद्रपुरका उद्योगीहरूले शीत भण्डार आफूहरूको हातबाट नफुत्किओस् भनेर हतार–हतार नेपाल–भारत मैत्री संघमा आवद्ध भएकामध्ये पनि सीमित व्यक्तिहरूलाई समावेश गरी कृषक समूह नामको प्राइभेट कम्पनी दर्ता गराएका थिए ।

उद्योगीलाई मात्र सेयरधनी सदस्य बनाइएको सो कृषक समूहलाई भारतीय दूतावासले सहयोग नगर्ने र वास्तविक कृषि पेशामा लागेका कृषकको समूहलाई मात्र मान्यता दिने भएपछि तिनै उद्योगीले पुनः भद्रपुर कृषक समूह नामक गैरसरकारी संस्था दर्ता गराए । उद्योगीहरूले गैरसरकारी संस्था दर्ता गराए पनि दूतावासले स्थानीय निकायमार्फत मात्र सहयोग गर्ने भएपछि कृषि समूहले साविक भद्रपुर १ मा रहेको गोविन्द सरियाको झण्डै एक बिघा जग्गा खरिद गरी सोही जग्गामा कोल्ड स्टोरेज बनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्