देश दौडाहा सकेर राजधानी फर्कंदै पूर्वराजा ज्ञानेन्द्र



काठमाडौं । करिब सात महिनादेखि देश दौडाहामा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार आज आइतबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । पूर्वराजा ज्ञानेन्द्र परिवारसहित दिउँसो ४ बजे बुद्ध एयरको विमानबाट काठमाडौं आउने कार्यक्रम छ ।

उहाँ गत मंसिर ६ गते पूर्वरानी कोमल, छोरी प्रेरणा, निजी सचिव सागर तिमल्सिना र केही नातेदारसहित दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टि स्टेट पुग्नुभएको थियो । झापाबाट तीन महिनाको बीचमा उहाँ दुईपटक भारत भ्रमणमा पुग्नुभयो । उहाँले गत चैत २० गते सिलगुढी हँुदै पश्चिम बंगाल र दोस्रोपटक वैशाख २२ गते १० दिने भारत लखनउको भ्रमण गर्नुभएको थियो । भारत भ्रमणको क्रममा राजनीतिक नेतृत्वसंग भेटघाट गरी नेपालमा हिन्दु अधिराज्य र राजतन्त्रको आवश्यकताबारे छलफल भएको उहाँका निकट स्रोतले बतायो ।

नेपाल रहँदा हिन्दुराज्यको वकालत शुरू गर्नुभएका पूर्व ज्ञानेन्द्रले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटगरी देशको पछिल्लो अवस्था र राजतन्त्रको आवश्यकताबारे गम्भीर छलफल गर्नुभएको बताइएको छ । योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्री दिलाशा, शिताष्मा, पूजालगायतको टोली लखनउ पुगेका थिए । पूर्वराजा सपरिवार भारत र देश दौडाहामा निस्के पनि पूर्व युवराज पारस भने निर्मलनिवासमै बस्नुभएको थियो ।

देश दौडाहाको क्रममा ज्ञानेन्द्रको जनकपुर, झापा, इनरुवा, सुर्खेत र धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो । नागरिक अभिनन्दन समारोहमा लिखित भाषण वाचन गर्दै उहाँले देश ववार्दीतिर गइसकेको अवस्थामा यस्लाई बचाउन सबै राष्ट्रप्रेमी एकजुट हुनुपर्ने बताउनुभएको थियो । चैत २० गते पूर्वाञ्चलको सुनसरीस्थित इनरुवा मैदानमा पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिएको थियो ।

तीन महिनाअघि ज्ञानेन्द्रलाई भेट गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, महामन्त्री धवलशम्सेर राणा, उपाध्यक्ष रविन्द्र मिश्र, दीपक सिंह, ज्ञानेन्द्र शाहीसहितको टोली चिया बगान पुगेका थिए । सात महिना अवधिमा महत्वपूर्ण राजनीतिक भेटघाट व्यस्त देखिएका पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो अडान हिन्दुराज्य र राजतन्त्र रहेको छ । त्यसमा राप्रपाले खुलेरै समर्थन गरेको छ ।

राप्रपाले आन्दोलनको तयारी थाल्नु र पुर्वराजालाई नागरिक अभिनन्दन गर्नु आन्दोलनको स्वरूप भएको राजावादीको भनाइ छ । काठमाडौं फर्केको केही दिनपछि पूर्वराजा ज्ञानेन्द्रले फेरि विभिन्न जिल्लाको भ्रमण गर्ने बताइएको छ ।

राप्रपा नेपालले संघीयता खारेजीको मुद्दालाई चर्काउन सडक आन्दोलन गर्ने तयारी गरिरहँदा पूर्वराजा ज्ञानेन्द्र भने नागरिकसँग नजिक भइरहनुभएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको सन्देशमा मौन नबस्ने संकेत गरेका पूर्वराजा ज्ञानेन्द्रले सडक र सदनबाट हिन्दुराज्य र राजतन्त्रको मुद्दा उचालेर दलहरूलाई सहकार्यका निम्ति आह्वान गरिसक्नुभएको छ । उहाँले अहिलेको व्यवस्थाले जनताको समस्या समाधान हुन नसकेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्