गर्मी बढेपछि मध्य तराईको जनजीवन अत्यन्तै कष्टकर



वीरगन्ज। 

विगत केही दिनदेखि मध्य तराईमा अत्यधिक गर्मी बढेपछि यहाँका जनजीवन कष्टकर बनेको छ ।  गर्मीका कारण पर्सा,बारा,रौतहट सहितका विद्यालय पनि धमाधम बन्द गरिएको छ । अहिले पर्सा र बारामा दिउँसोको समयमा ४० देखि ४५ डिग्रीसम्म तापक्रम पुग्ने गरेको छ।

विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय तहहरुले पालिका मातहतका विद्यालयहरुमा गर्मीको बिदा दिएर पठनपाठन बन्द गराएका हुन्। पर्साको वीरगन्ज महानगरपालिकाले जेठ १९ गतेदेखि २६ गतेसम्मका लागि कक्षा १२ सम्म पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा बिदा दिएको छ।उसले एक सार्वजनिक सूचना नै जारी गरेर हालका लागि पठनपाठन बन्द गरिएको जनाएका छ ।
गर्मी ह्वातै बढेको तथा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएपछि महानगरले सूचना जारी गरी विद्यालय बन्द गरेको हो।

यस्तै, जेठ १९ गतेदेखि २६ गतेसम्म पर्साकै सखुवा प्रसौनी गाउँपालिकाले पनि विद्यालयमा बिदा दिएको छ। पटेर्वा सुगौली गाउँपालिका–४ भतौडामा रहेको वनदेवी आधारभूत विद्यालयमा बुधबार एक विद्यार्थी गर्मीका कारण बेहोस भएका थिए। उक्त पालिकाले पनि जेठ १९ देखि २८ गते १० दिनका लागि पालिकाका विद्यालयमा बिदा दिएको छ।

 यस्तै, विन्दवासीनी गाँउपालिकाले पनि जेठ १९ गतेदेखि २२ गतेसम्म विद्यालय बन्द गर्ने निणर्य गरेको छ। पर्साकै जगरनाथपुर गाउँपालिकाले पनि शुक्रबारदेखि ८ दिनसम्म पालिकाअन्तर्गतका सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।

 त्यस्तै, छिमेकी जिल्ला बाराको कलैया उपमहानगरपालिकाले पनि सबै शिक्षण संस्था १९ गतेदेखि २४ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।गर्मीअझै बढ्ने भएकाले सचेत रहन पनि बिज्ञहरुले सुझाव दिएका छन् । वीरगन्ज क्षेत्रको गर्मी अझै केही दिन बढ्ने संकेत देखिएकाले . पनि बिद्यालय बन्दको समय बढ्ने सक्ने शिक्षकहरुले बताएका छन् । गर्मीका कारण वीरगन्ज सहितका बजारहरुमा मानिसको चहलपहल घटेको छ भने दैनिक ज्यालामजदुरी गर्नेहरु बढी मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्