सञ्जीवनीमा विद्यार्थी नेता छान्न ‘मतदान’



काभ्रे। 

कक्षा ८,९ र १० मा अध्ययन गर्ने बालबालिकाहरुले सामाजिक विषयमा ‘निर्वाचन’, संघीय तथा प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसद गठनको प्रकृया लगायतका संविधानमा उल्लेख भएका पुस्तकमा पढ्नु पर्ने विविध विषयलाई सञ्जीवनी नमूना माध्यमिक विद्यालयले मतदान मार्फत अभ्यास गराएको छ ।

‘विद्यार्थीहरुलाई संसदीय अभ्याससँगै सरकार गठन लगायतका विविध प्रक्रियाका लागि हुने निर्वाचनका बारेमा प्रयोगात्मक रुपमा जानकारी गराउने उद्देश्यले मतदान आयोजना गरिएको हो’–विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले भन्नुभयो–‘विद्यालयले १५ वर्षदेखि विद्यार्थी नेता छान्ने र अतिरिक्त क्रियाकलाप तथा वर्षभरी विद्यालयमा हुने सांस्कृतिक, सामाजिक क्रियाकलाप तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने मतदानको प्रमुख उद्देश्य हो ।’ कक्षा ९ र १० लाई सामाजिक विषय पढाउने दुई शिक्षक शशिकला काफ्ले र सानुकान्छा श्रेष्ठ निर्वाचन अधिकृत तोकिएका थिए । रिपु क्षेत्री प्रमुखमा निर्वाचित भए । उनका प्रतिस्पर्धी अन्य पाँच विद्यार्थीले उम्मेदवारी दर्ता गराएका थिए । उपप्रमुख पदमा तीन जना उम्मेदवारमा दुई जना विजयी भए । प्रतीक्षा घिमिरे र राजन उपाध्याय विजयी भएको निर्वाचन समितिले घोषणा गरेको थियो ।

कक्षा ४ देखि १० सम्मका ८ सय विद्यार्थी सहभागी निर्वाचनका लागि ९ उम्मेदवार प्रतिस्पर्धामा थिए । इसिडी देखि कक्षा १० सम्म एक हजार विद्यार्थी अध्ययनरत विद्यालयमा आयोजना गरिएको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतपेटिका, स्वस्तिक छाप लगायतका अन्य सामाग्री उपलब्ध गराएको थियो । निर्वाचनका लागि सहजीकरण कक्षा ६,७ र ८ का सामाजिक विषय शिक्षक उद्धवप्रसाद तिमल्सिना, अतिरिक्त क्रियाकलाप संयोजक सुन्दरलाल श्रेष्ठले गर्नु भएको थियो भने विद्यालय व्यवस्थापन समिति सदस्य केपी बञ्जारा र प्रह्लाद शर्मा हुमागाईँले अनुगमन गर्नु भएको थियो । निर्वाचन पर्यवेक्षण तथा अन्य कार्य प्रधानाध्यापक लोकेन्द्र ढकाल लगायतले गर्नु भएको थियो । यस अघि विद्यालयले ६ वटा सदनबाट दुई दुई जना विद्यार्थी प्रतिनिधि छनौट गरिसकेको छ ।

नेपालको संविधानले प्रत्यक्ष रुपमा सरकार प्रमुख छान्ने व्यवस्था गरेको छैन ।

आम नागरिकले अस्थिर सरकारका कारण प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक रहेको बताए पनि संविधान संशोधन विना उक्त व्यवस्था सम्भव छैन । पाठ्यक्रममा उल्लेख भएको प्रत्यक्ष तथा अप्रत्यक्ष निर्वाचनले बालबालिकाहरुको रुचि र त्यसको अभ्यासका बारेमा जानकारी गराउन सकिने प्रावधान राखिएकाले विद्यालयले प्रत्यक्ष निर्वाचनको माध्यमबाट विद्यालयको प्रमुख र उपप्रमुख छनौट गरेको प्रधानाध्यापक लोकेन्द्र ढकालले बताउनु भयो । मतदानका लागि विद्यालयले जेठ १८ गते बिहीबार उम्मेदवारी दर्ता गरेको थियो भने निर्वाचनको दिन बिहान उम्मेदवारका बारेमा दाबी विरोध लगायतका कार्यक्रम राखेको थियो । बिहान १० बजेबाट दुई बजेसम्म तोकिएको निर्वाचनको मत परिणाम ४ बजे सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्