पनौती नगरपालिकालाई बालश्रम मुक्त नगर बनाइने



काभ्रे। 

पनौती नगरपालिकालाई बालश्रम मुक्त बनाउन खेल्नु पर्ने भूमिका तथा बालश्रम निवारणका लागि आवश्यक कार्ययोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गरिएको छ । नगर प्रमुख रामशरण भण्डारीले आवश्यक नीति, कानुन तथा योजनाका साथ नगरपालिकालाई बालमैत्री घोषणा गरिए अनुरुप बालश्रम मुक्त बनाउने बताउनुभयो ।

‘बालश्रम मुक्त बनाउन कार्ययोजना तयार गर्ने, बालमैत्री नगरको विगतका कार्यक्रमलाई निरन्तरता दिँदै बालश्रम मुक्त नगर घोषणा गर्ने कार्यक्रमलाई थप ऐन, कानुन तथा कार्यविधि तयार गरी कार्यान्वयन गरिनेछ’– नगर प्रमुख रामशरण भण्डारीले बताउनु भयो–‘नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने, जोखिममा परेका बालबालिकाहरुको उद्धार गर्ने तथा परिवारलाई आय आर्जनमा जोड्ने, बालगृहहरूलाई नगरपालिका भित्र बेहोर्नु पर्ने सामाजिक दायित्व भित्र ल्याई समन्वयको भूमिकामा राख्ने र सराकोरवालाहरुसँगको समन्वयमा आवश्यक कार्य गरेर बालश्रम मुक्त नगर बनाउने छौँ ।’

उपप्रमुख गीता बञ्जाराले पनौती बालमैत्री नगर भएकाले बालश्रम मुक्त बनाउन विगतमा गरिएका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने बताउनु भयो । ‘पनौतीमा विभिन्न पालिका तथा जिल्ला र देशबाट समेत नागरिकहरु आउने र उनीहरूका सन्तान बालश्रममा लाग्ने गरेको तथ्याङ्क देखिएको छ’–उपप्रमुख गीता बञ्जाराले भन्नुभयो–‘बालश्रममा लागेका बालबालिकाहरुलाई उद्धार गरेर सम्बन्धित देशमा पठाउन नसक्दासम्म नेपाल भित्रको समस्या समाधान भए पनि छिमेकी देशका बालबालिकाहरुको अवस्थालाई सुधार्न कठिन छ । भारत लगायतका देशबाट बालबालिकाहरु गाडी ग्यारेज लगायतका उद्योगहरूमा कार्यरत छन् ।’ विभिन्न पालिका तथा छिमेकी जिल्लाबाट समेत पनौती र आसपासका पालिकाहरुमा बालबालिकाहरु श्रममा संलग्न छन् । सहभागी वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा नागरिक समाजका प्रतिनिधिहरुले बालश्रम मुक्त नगर बनाउन सबै पक्षका उत्तिकै समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए ।

पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, सामाजिक विकास शाखा प्रमुख केशव बञ्जारा, विभिन्न शाखाका प्रमुखहरुले बालश्रम मुक्त नगरका लागि समन्वय र नीति तथा योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । सरोकार समाज नेपालका अध्यक्ष अशोक खनालले बनेपा र पनौतीमा बालश्रम मुक्त नगर बनाउने उद्देश्यले सरोकार समाज नेपाल, स्वतन्त्रता अभियान र ग्लोबल मार्च लगायतको सहयोगमा अभियान सुरु गरिएको बताउनुभयो ।

बालश्रम मुक्त नगरका लागि आवश्यक कार्ययोजना, कार्ययोजना भित्र गरिने गतिविधि तथा त्यसका लागि सम्पर्क व्यक्ति लगायतका कार्यमा सहजीकरण गरिएको खनालले बताउनुभयो । कार्यक्रममा विद्यमान ऐन, कानुन तथा संविधानका बुँदा र अधिकारका बारेमा बालअधिकारर्मी उद्धवराज पौड्यालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र लगायतका विषयमा जनप्रतिनिधिहरूले राखेको जिज्ञासामा अन्तर्क्रिया गरिएको थियो । कार्यक्रममा सरोकार समाज नेपालका सचिव सञ्जीव न्यौपानेले जिल्लामा बालबालिकाहरुको अवस्था, अधिकारका लागि भएका प्रयास र बालमैत्री नगरका साथै बालश्रम मुक्त नगर घोषणाका लागि भएका अभ्यासका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्