शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औं कलेजो प्रत्यारोपण



काठमाडौं । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औं कलेजो प्रत्यारोपण गरिएको छ । गत आइतबार दाङका ४२ वर्षीय बाबुराम विश्वकर्माको कलेजो प्रत्यारोपण गरिएको हो ।

उनलाई आफ्नै श्रीमती ३७ बर्षीया आशा सुनारले कलेजो दान गरेकी हुन् । प्रत्यारोपण शल्यक्रियाको नेतृत्व कलेजो तथा मृर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए । सो प्रत्यारोपणमा भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलबाट आएका चिकित्सक टोलीले सघाएको थियो ।

अस्पतालका निर्देशक डा. श्रेष्ठले प्रत्यारोपित र अंगदाता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । सो प्रत्यारोपणमा सर्जन डा. रोशन घिमिरे, डा।सपना बर्मा, डा. ललित कुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा। आरती राई, डा। निभा श्रेष्ठ, डा। शोभित थापा, डा। रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर जचल संलग्न थिए ।

त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा. समिर दवाडी, डा. विवेक नेपाल, डा. जस्मिन जोशीले गरेका थिए भने पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्कीलगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएको थियो । त्यसैगरी प्रत्यारोपण कार्यको संयोजन कोर्डिनेरहरू डा स्वस्तिक प्रधानाङ्ग, तारा साँध, अर्चना बगाले, सरु कोजु र सनिषा कार्कीले गरेका थिए ।

मुलुकमै पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको यस केन्द्रले हालसम्म ११ जनाको प्रत्यारोपण गरिसकेको छ । प्रत्यारोपणमा हालसम्म ८ जनामा जीवित दाताबाट र ३ जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रमा जम्मा १५ लाखमै कलेजो प्रत्यारोपण हुने गरेको छ।यसैबीच कलेजो ग्रहण कर्ता बाबुराम र कलेजो दाता आशा दुवै जनाले केन्द्रको सेवाबाट आफू अत्यन्त खुशी भएको बताए । आशाले आफू पूर्ण स्वस्थ्यलाभ गरेपछि सम्पूर्ण अंगहरू मृत्यु पश्चात् दान दिन इच्छा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्