परस्त्रीको माया बस्योमा गौरव र शिल्पाको रोमान्टिक अवतार



अभिनेता सुरज पाण्डेको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्म परस्त्रीको पहिलो गीत बिहीबार सार्वजनिक गरिएको छ।

आगामी असार १५ गतेबाट अल नेपाल रिलिज हुने फिल्मको माया बस्यो तिमीस“ग बोलको गीत सार्वजनिक गरिएको हो। केके ब्रदर्स अर्थात् कोशिस र केतन क्षेत्रीको कम्पोज र शब्द रचना रहेको गीतमा संगीत संयोजन उदयराज पौडेलको छ। गीत केतन क्षेत्री र निखिता थापाले गाएका छन्। ग्ल्यामर शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता गौरव विष्ट र अभिनेत्री शिल्पा मास्केलाई ग्ल्यामर रुमै देखाइएको छ।

केही समयअघि उत्तेजक पोस्टर रिलिज गरिएसँगै चर्चामा आएको फिल्मको सार्वजनिक गीत मुस्ताङका रमणीय स्थानमा खिचिएको छ। नेपाली र हिन्दीमा रिलिज हुने फिल्मको गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी रहेको छ।

बिहेपछिको सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माणाधीन फिल्ममा गौरव र शिल्पाका साथमा कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन्। डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालद्वारा निर्माणीधन फिल्ममा लेखन दीपेन्द्र के खनाल र छायांकन निरज कँडेलको छ। फिल्मको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्