प्रचण्ड–मोदीबीच आज हैदरावादमा भेटवार्ता हुँदै, विकास आयोजनासम्बन्धी समझदारी र सम्झौतामा हस्ताक्षर हुने

प्रधानमन्त्रीलाई राज्यमन्त्री लेखीको स्वागत



–प्रधानमन्त्री दाहाललाई संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीद्वारा स्वागत ।
–प्रचण्ड–मोदी छलफलमा लगानी प्रवद्र्धन, हवाई रुट, ऊर्जा क्षेत्रमा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारणलगायत विकास परियोजनाले प्राथमिकता पाउने ।
–भारतको बथनाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म रेल सञ्चालन शुरू गर्ने ।
–सीमा समस्या समाधानका विषय प्राथमिकता बाहिर ।

काठमाडौं । छिमेकी मुलुक भारतको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार भारत पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भारतको हैदरावाद हाउसमा भेटवार्ता हुँदै छ । हैदरावाद हाउसमा बिहान ११ बजे हुने द्विपक्षीय भेटवार्तामा केही विकास आयोजनासम्बन्धी समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यतालिका तय गरिएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आधा घण्टाको छुट्टै भेटवार्ता हुने समय निर्धारण गरिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

बैठकमा व्यापार, पारवहन, लगानी प्रवद्र्धन, ऊर्जा क्षेत्रमा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाललगायतका विषयमा छलफल हुने आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो– ‘द्विपक्षीय छलफलमा विद्युत्मा भारतीय लगानी भित्र्याउने प्राथमिकताका विषय हुनेछन् । भारतको भूमि हुँदै बंगलादेश विद्युत् निर्यात गर्नेबारे ठोस कुराकानी हुनेछ । त्यस्तै, पञ्चेश्वर परियोजनामा प्रगति हुन नसकेको विषयमा समेत छलफल हुनेछ ।’

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले सिँचाइ र जलविद्युत्का लागि महाकालीमा साझा उपयोग हुने गरी डीपीआर टुंगो लगाउने, नयाँ पारबहन सन्धिलाई टुंगो पु¥याउने, सीमा समस्यालगायतका कतिपय विषय सम्बोधन गर्न वातावरण बनाउन छलफल अगाडि बढाउने बताइएको छ । यद्यपि, सीमा समस्याको विषयले भने प्राथमिकता पाउनेगरी छलफलको कार्यतालिका राखिएको छैन । सीमा समस्या समाधानका विषयमा अनौपचारिक छलफल हुने बताइए पनि उक्त विषयले प्रवेश पाउने नपाउने टुंगो छैन । सीमा समस्या समाधानका विषयमा आवश्यक छलफल गर्ने वातावरण बनाउन यो भ्रमणले सहयोग पुग्ने प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहाकार हरिबोल गजुरेलले बताउनुभयो ।

गजुरेलले भन्नुभयो– ‘सीमा विवादका विषयमा छलफल भए पनि सो विषयमा निष्कर्ष निकाल्नेगरी आवश्यक थप छलफल गर्न यो भ्रमणले बाटो खुल्नेछ ।’ सीमा विवादको विषय धेरै पहिलादेखि र जटिल भएकाले अहिले यो विषयमा अल्मलिँदा तत्काल आवश्यक विकास परियोजना साझेदारीका सवालहरू ओझेलमा पर्न सक्ने उहाँले बताउनुभयो । लगानी प्रवद्र्धन, हवाई रुट, ऊर्जा क्षेत्रमा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारणलगायत विकास परियोजनालाई नै अहिलेको प्राथमिक विषय बनाइएकाले उक्त भ्रमणपछि हुने अनौपचारिक छलफलले सीमा विवादको विषयलाई सहजीकरण गर्न विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको अवसर पारेर दुवै देशका प्रधानमन्त्रीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्मको कार्गो रेल सञ्चालनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुने कार्यक्रम छ ।

दिवा भोजपछि आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नुहुनेछ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

यसअघि बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेर हैदरावाद हाउसमा फर्कर्नुहुनेछ । शुक्रबार प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जानुहुनेछ । चौथो दिन (जेठ २० गते) शनिबार इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्कनुहुनेछ । सोही दिन नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट प्रधानमन्त्री दाहाल काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
फोटो पनि छ

प्रधानमन्त्रीलाई राज्यमन्त्री लेखीको स्वागत

भारतका समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा बुधबार भारतको नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभयो । विदेशमन्त्री एस जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि अमेरिकामा रहेका कारण दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश राज्यमन्त्री लेखीले स्वागत गर्नुभएको हो ।

बुधबार दिउँसो १ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेको प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधि मण्डल ३ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । प्रचण्डसहितका अतिथिहरूलाई भारत सरकारले सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा बस्ने व्यवस्था मिलाएको छ ।

प्रधानमन्त्री दाहालले सोही होटलमा साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको थियो । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, प्रचण्डकी छोरी गंगा दाहाललगायत छन् ।

प्रतिक्रिया दिनुहोस्