सुर्तीजन्य पदार्थ विरुद्धको अभियन्ता पुरस्कृत



काठमाडौँ  ।
सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा महत्त्वपूर्ण योगदान पु¥याएका छ जना व्यक्ति तथा संस्था पुरस्कृत भएका छन् । विश्व धूमपानरहित दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय स्वास्थ्य कर कोष सचिवालयले बुधवार आयोजना गरेको विशेष समारोहमा स्वास्थ्य मन्त्री व्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा उपस्थित हुनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पुरस्कार प्रदान गर्नुभएको थियो ।  यसअघि पुरस्कृत व्यक्ति तथा संस्थाको छनौट गर्न स्वास्थ्य सचिव डा रोशन पोखरेलको संयोजकत्वमा ६ सदस्यीय पुरस्कार छनौट समिति गठन भएको थियो । सोही समितिको सिफारिसको आधारमा बुधवार पुरस्कार वितरण गरिएको हो ।

स्वास्थ्य कर कोष सचिवालयका अनुसार पत्रकार तर्फ हेल्थटुडे मासिक पत्रिकाका सम्पादक पदमराज जोशी पुरस्कृत हुनुभएको छ । उहाँले सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा समाचारका माध्यमबाट महत्त्वपूर्ण योगदान दिएको भन्दै पुरस्कृत गरिएको हो ।

यस्तै संस्थातर्फ एक्सन नेपालले पाएको छ । उक्त संस्थाले सुर्तीजन्य पदार्थविरुद्धको अभियानलाई निरन्तर रूपमा सञ्चालन गर्दै जनचेतनामूलक कार्यमा समेत योगदान गरेको भन्दै पुरस्कृत गरिएको जनाएको छ । यस्तै अर्को संस्था नेपाल विकास अनुसन्धान प्रतिष्ठानलाई पनि पुरस्कृत गरिएको छ । सो संस्थाले सुर्तीजन्य पदार्थ न्यूनीकरणका लागि निरन्तर रूपमा अनुसन्धानमूलक कार्य गरेको भन्दै पुरस्कृत गरिएको हो ।

यस्तै यस पटक सुर्तीजन्य पदार्थ विरुद्धको ऐन नियम कार्यान्वयन गर्ने सार्वजनिक निकायको रूपमा विराटनगर महानगरपालिका पुरस्कृत भएको छ । यसै गरी सुर्तीजन्य पदार्थको असर र प्रभावकार बारेमा निरन्तर वकालत गरेको भन्दै प्रा डा. रिता थापालाई पनि पुरस्कृत गरिएको छ ।

यस्तै कर कोष सचिवालयले सुर्तीजन्य पदार्थविरुद्धको कानुन कार्यान्वयनमा निरन्तर काम गरेको भन्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भक्तबहादुर केसीलाई पनि पुरस्कृत गरेको छ । पुरस्कृत हुने प्रत्येकले नगद रु ५० हजार र कदर पत्र प्राप्त गरेका छन् । यो पुरस्कार तीन वर्ष पछि बाँडिएको हो । यसअघि २०७६ साल १७ जेठका दिन यो पुरस्कार पहिलो पटक विभिन्न छ विधामा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्