छायाँनाथ रारालाई भ्रष्टाचारमुक्त बनाउँछौँ : प्रमुख प्रशासकीय अधिकृत शाही



-पशुपति शाही
प्रमुख प्रशासकीय अधिकृत
छायाँनाथ रारा नगरपालिका, मुगु

मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ– पशुपति शाही । उहाँले आफ्नो तलब भत्ताबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउनुभएको छ भने सार्वजनिक सुनुवाइका कार्यक्रम पनि नियमित गर्दै आउनुभउको छ । प्रस्तुत छ, शाहीसँग जिल्ला संवाददाता वीरबहादुर बमले नगरपालिका केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश :

विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहनुभएको छ ?

हामीले योजना छनोट गर्दा सहभागितामूलक र मागमा आधारित भएर अवलम्बन गर्ने गरेका छौं । नगरपालिकामा हुने विकास निर्माणका योजनाहरु विद्युतीय बोलपत्र र उपभोक्ता समितिबाट गर्ने गरेका छौं । योजनाको दिगोपन र सुशासनका लागि अनुगमन प्रणालीलाई जोड दिइएको छ । भुक्तानी प्रणालीलाई बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्ने गरिएको छ । सार्वजनिक सेवा प्रवाहलाई नतिजामूलक, जनमैत्री तथा प्रभावकारी बनाउन नागरिक बडापत्रको व्यवस्था, आईसीटीको प्रयोग, घुम्ती सेवा, हेल्थ डेस्क, कार्यालय तथा कर्मचारी व्यवस्थापनमा जोड दिइएको छ ।

बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के–कस्ता योजना बनाउनुभएको छ ?

बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न विषयगत समिति गठन गरिएको छ । त्यस्तै, शाखा प्रमुखहरुसँग प्राविधिक कर्मचारीसँग वडा सचिवसँग समय–समयमा छलफल तथा आवश्यकताका आधारमा बैठक सञ्चालन गर्ने गरेका छौं । बजेट एवं नीति कार्यकक्रमको कार्यान्वयनका लागि आवश्यक कानुन, नीति तथा कार्यविधि तयार गर्ने कामसमेत गरिएको छ ।

पालिकावासीका लागि कुनै विशेष कार्यक्रम ल्याउनुभएको छ ?

अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरूप १ लाख रुपियाँ उपलब्ध गराइरहेका छौं । लघुउद्यमअन्तर्गत आयआर्जनका कार्यक्रम सञ्चालन गरिएको छ । १ हजार २ सय ५६ दलित घर–परिवारलाई दशैंभत्ता (२५ सयका दरले) वितरण गरेका छौं । उपचार खर्च बेहोर्न नसक्नेका लागि उपचार खर्च सहयोग गरेका छौं । विपद्मा परेकालाई राहात सहयोग गरेका छौं ।

जनप्रतिनिधि विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन कत्तिको संवेदनशील भएको पाउनुभएको छ ?

जनप्रतिनिधिहरू विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन संवेदनशील नै भएको पाएको छु । जनप्रतिनिधिबाट सहकार्य र समन्वय भइरहेको पाएको छु ।

१ छायाँनाथ रारालाई भष्ट्राचाररहित नगरपालिका बनाउने दृढ संकल्पका साथ काम गरिरहेका छौं । स्वास्थ्य तथा शैक्षिक सुधार विकास निर्माणमा लागिरहेका छौं ।

२ विकास निर्माणका योजना विद्युतीय बोलपत्र र उपभोक्ता समितिबाट गर्ने गरेका छौं । योजनाको दिगोपन र सुशासनका लागि अनुगमन प्रणालीलाई जोड दिइएको छ । भुक्तानी प्रणालीलाई बैंकिङ प्रणालीमार्फत गरिएको छ

तपाईंको पालिकामा जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो छ ?

जनप्रतिनिधि र कर्मचारीको अन्योन्याश्रित सम्बन्ध छ । नगर प्रमुखले नै भष्ट्राचारमुक्त नगरपालिकाको अभियानमा सबै जनप्रतिनिधि र कर्मचारीलाई एकत्रित गर्नुभएको छ । जनप्रतिनिधि र कर्मचारीको रोहवरमा योजनाको संयुक्त अनुगमन र सार्वजनिक सुनुवाई कार्यक्रम हुने गरेको छ ।

विकास निर्माणमा जनसहभागिता कत्तिको पाउनुभएको छ ?

विकास निर्माणमा जनसहभागिता उल्लेख्य पाएको छु । श्रमदानमा पनि नागरिकको उपस्थिति राम्रो हुने गरेको छ । गमगढीमा बसपार्क निर्माण, बसपार्कमा खानेपानी निर्माण, चौनखोला गोरेटो बाटो निर्माण, नाला निकास, अल्का–साँघु काठेपुल निर्माण, ठिनी खानेपानी निर्माण, झ्यारी खानेपानी मर्मत जनश्रमदानबाटै भएको हो ।

छायाँनाथ रारामा बेरुजु र सार्वजनिक खरिदको अवस्थाचाहिँ कस्तो छ ?

सामान्यतया स्थानीय तहलाई दैनिक रूपमा सञ्चालन गर्नलाई सार्वजनिक खरिद ऐन–२०६३ र खरिद नियमावली–२०६४ को परिधिभित्र रहेर खरिद गर्ने गरेका छौं । बेरुजु फछ्र्यौटका लागि हामी सक्रिय रूपमा लागेका छौं । बरुजु रकमलाई घटाउने काममा हामी लागिपरेका छौं ।

काम गर्दै जाँदा आएका समस्या के छन् ?

रारा र गमगढीमा पर्यटनको बसाइ लम्ब्यान सकिएको छैन । मुगुका धार्मिक पर्यटकीय क्षेत्र छायाँनाथ, रिणीमोक्ष क्षेत्रमा सडक पूर्वाधार पु¥याउन सकिएको छैन भने बिजुली र सडकको पहुँच नगरपालिकाका सबै वडामा पु¥याउन सकिएको छैन ।

प्रदेश र केन्द्रीय सरकारसँग अन्तरसम्बन्ध कसरी स्थापित गरिरहनुभएको छ ?

स्थानीय, प्रदेश र संघसँगको अन्तरसम्बन्ध तथा समन्वयको संयन्त्र कानुनद्वारा नै निर्धारण भएको छ । कानुनी र व्यावहारिक दुवै माध्यमको प्रयोग गरी अन्तर तहको सम्बन्ध तथा समन्वयको कार्य भइरहेको छ ।

छायाँनाथ रारामा विकास निर्माणका काम कस्तो छ ?

गमगढी बजारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएर बजार एरिया सफा र व्यवस्थित बनाएका छौं । सुम्ली झोलुंगे पुल निर्माण, १० वटा बृहत् खानेपानी योजना सञ्चालन, १३ वटा आरसीसी बाटो निर्माण, ४ वडा कार्यालयका पक्की भवन, १८ वटा विद्यालयमा पक्की भवन, ३ वटा सामुदायिक स्वास्थ्य इकाइ निर्माण, चौनखोला र रोप्टा खोला बेलिब्रिज निर्माण, २ वटा नगर बस सञ्चालन, कालिका मालिका मन्दिर निर्माण लगायतका पूर्वाधार विकासका काम भएको छन् ।

स्थानीय तहको आयस्रोत वृद्धि गर्न के गरिरहनुभएको छ ?

स्थानीय तहको स्रोत वृद्धि गर्न करको दायर बढाइएको छ । पर्यटनक्षेत्रको विकास गर्न लागेका छांै ।

नगरिकको स्तरवृद्धिका लागि चाहिँ के गर्नुभएको छ ?

सिलाइकटाइ तालिम, कम्प्युटर तालिम, लोकसेवा तालिम, २ सय गोठालालाई आवश्यक सामग्री वितरण पनि गरेका छौं । सहकारीलाई कृषि र पशुपाल व्यवसायमा जोड दिन अनुदान उपलब्ध गराउँदै आएका छौं ।

अन्त्यमा केही भन्नु छ कि ?

छायाँनाथ रारालाई भष्ट्राचाररहित नगरपालिका बनाउने दृढ संकल्पका साथ काम गरिरहेका छौं । स्वास्थ्य तथा शैक्षिक सुधार विकास निर्माणमा लागिरहेका छौं । गुणस्तरीयताका लागि सम्बन्धित क्षेत्रमै छड्के अनुगमन र सार्वजनिक सुनुवाइलाई निरन्तरता दिँदै आएका छौ ंं।

प्रतिक्रिया दिनुहोस्