भिडियो च्यालेन्जमा द नर्थेन वालले मार्यो बाजी



वी विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा राजधानीमा हालै सम्पन्न मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३ मा टिम डुलुवाको द नर्थेन वालले नगद पाँच लाखसहित वेस्ट भिडियो अफ द इयरको उपाधि चुमेको छ।

आर्यन कुँवरको मयुरी चाल नगद दुई लाख रुपियाँसहित प्रतियोगिताको दोस्रो महङ्कवपूर्ण जजेज च्वाइस अवार्ड विजेता बनेको छ भने टिम डुलुवाकै मेरो गाउँ तकसेरा एक लाख रुपियाँ नगदसहित मस्ट एनर्जेटिक भिडियो मेकर अवार्ड विजेता भएको छ। एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीलाई समावेश गराइएको प्रतियोगितामा कुल १० विधामा अवार्ड प्रदान गरिएको थियो।

प्रतियोगितामा आदर्श पाण्डे फ्युचर स्टार अफ द इयर, सन्दकपुर गाउँपालिका मस्ट पोटेन्सियल डेस्टिनेसन, आकाश धिमाल वेस्ट एडिटर, रुमण थापा वेस्ट स्क्रिप्ट–भ्वाइस ओभर, सुरेश कुमार मुखिया वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन, गरिमा भण्डारी वुमन भिडियो मेकर अफ द इयर र सन्तोष मालेकर वेस्ट सिनेमाटोग्राफरको अवार्ड विजेता भए। विजेतालाई जनही एक+एक लाख रुपैयाँ नगदसहित भिडियो च्यालेन्ज अवार्ड प्रदान गरिएको छ। प्रतियोगिताअन्र्तगत सन् २०२० र २०२३ मा प्राप्त दुई सय ५८ भिडियोमध्येबाट विभिन्न दश विधामा ७० भिडियो मनोनयन गरिएको आयोजकले जनाएका छन्।

प्रतियोगितामा फाउन्डेसनका निर्देशक तथा कार्यक्रम संयोजक निर्मल श्रेष्ठले आगामी वर्षदेखि विदेशमा बस्ने नेपालीका लागि समेत लक्षित गरी अर्को विधा मेरो गाउँ, मेरो ठाउँ इन्टरनेसनल थपिने बताए। यस वर्षदेखि विजेता १० भिडियोलाई विभिन्न देशमा प्रदर्शन गरिने पनि उनले जानकारी गराए। प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फाउन्डेसनले उदार भावना र महान् उद्देश्यसहित यो कार्यक्रम आयोजना गरेको बताए। कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म डेस्टिनेसनका लागि नेपालका सुन्दर ठाउँहरुको उजागर गरेको अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बताए।

प्रतिक्रिया दिनुहोस्