ए डिभिजन क्लबहरुले बाँकी रकम पाएका छैनन्

चर्च र मच्छिन्द्रको दुरी २ अंक



काठमाडौं । ए डिभिजनका १० क्लबहरुले रकम नपाएको भन्दै शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनीहरुले जारी शहिद स्मारक ए डिभिजन लिगमा पाउनु पर्ने रकम नपाएको गुनासो गरेका हुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको लागि दिइने तयारी खर्चको दोस्रो किस्ता नदिएको क्लबहरुले जनाए । यस्तै खेलको रकम, खेलको बल र हरेक खेलको प्लेयर अफ द म्याचको रकम पनि नपाएको बताइएको छ ।

तर, जारी लिगमा क्लबहरुको विरोध बावजुद उनीहरुले खेल भने बहिष्कार गरेका छैनन् । एन्फाविरुद्ध विरोध जनाएका १० क्लबहरुमा दुई पटकको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र पनि रहेको छ । यस्तै ललितपुरका थ्रीस्टार क्लब, फ्रेन्ड्स क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो, खुमलटारले एन्फाको विरोध जनाइरहँदा त्यही जिल्लाको एक टोली जावलाखेल युथ क्लबले भने यो विरोधमा एक्यवद्धता जनाएन । पत्रकार सम्मेलनमा यो क्लबका पदाधिकारीले सहभागिता जनाएनन् । अन्य तीन ए डिभिजन टोलीमा तीन विभागिय एपीएफ, आर्मी र पुलिसले पनि यो विरोधमा भाग लिएनन् ।

संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले बताएअनुसार एन्फाले लिगको तयारीको लागि प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रकम दिनुपर्ने हो । पहिलो किस्तामा प्रत्येक क्लबका लागि १५ लाख रुपियाँ उपलब्ध गराएको एन्फाले दोस्रो किस्ताको १० लाख रकम उपलब्ध गराएको छैन । यो रकम उपलब्ध गराएपछि तेस्रो तथा अन्तिम किस्तामा ७ लाख ५० हजार दिनुपर्ने हुन्छ । तर, दोस्रो किस्ता नै अहिलेसम्म नदिएपछि क्लबहरुको लागि लिग खेल्ने कठिन भएको जनाएको छ । यस्तै एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले भन एन्फाबाट रकम पाउन नसकिने हो कि भनेर सन्देह गरेका छन् । शेर्पा हिमालयन शेर्पा क्लबका अध्यक्ष हुन् ।

क्लबहरुले निकालेको संयुक्त विज्ञप्तीमा लेखिएको छ—‘२१ औ चरणका खेल भइसक्दा पनि विभिन्न सम्झौता र योजना अनुसारको कुनै पनि कार्य आयोजक संस्था एन्फाले गर्न सकेको छैन । दिन प्रति दिन फुटबल खेलप्रति निराशा छाईरहेको छ । बजार व्यवस्थापन उचित तवरले गर्न नसक्दा व्यापारिक संस्थाहरुले फुटबलमा प्रायोजन गर्न छाडेका छन् । क्लबका पदाधिकारीहरुले आफ्नो मानो घटाएर क्लब संचालन गर्नु परेको अवस्थामा एन्फाले तयारी खर्च दिएन, खेलिसकेको खलको रकम पनि दिएन, दोस्रो किस्ता पनि नदिएको अवस्थामा एन्फाको कमजोरीको बयान गरिरहने पर्दैन । ’

एन्फाले डबल राउन्ड रोबिनको आधारमा संचालन भइरहेको लिग व्यवस्थित तवरले संचालन गर्ने, प्रायोजकहरुको राम्रो व्यवस्था गर्ने, दर्शकहरुलाई फुटबल हेर्न आउनका लागि विभिन्न योजना तयार पारी आकर्षण गराउने, क्लबहरुलाई तयारी खर्च सर्वसुलभ तवरले उपलब्ध गराउनेका साथै गत वर्षको भन्दा तयारी खर्च बढाई दिने तथा गत वर्षको बाँकी रकम समयमै उपलब्ध गराउने जस्ता विभिन्न सम्झौता एन्फाले गरेको थियो ।

एन्फाको महत्वपूर्ण योजना अनुरुप संचालन गरेको यूवा खेलाडी उत्पादन गर्ने हेतुले विभिन्न क्लबहरुद्वारा संचालनमा ल्याईएको एकेडेमीप्रति एन्फा आफै उदासीन देखिएको क्लबहरुले आरोप लगाएका छन् । सम्झौता अनुरुपका रकम क्लबहरुलाई भुक्तानी नगर्दा एकेडेमी बन्द हुने अवस्थामा पुगेको जनाइएको छ । त्यत्ति मात्र होइन उमेर समूहको कुनै पनि प्रतियोगिता संचालन गर्न असफल एन्फा राष्ट्रिय टोलीको व्याक अप टोलीका रुपमा रहेको उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग नलिने निर्णयमा पुगेकोेमा पनि क्लबहरुले आलोचना गरेका छन् । आर्थिक अभाव भएको जनाउँदै एन्फाले हालै एएफसी यू २३ छनोट नखेल्ने निर्णयमा पुगेको जनाएको थियो ।

पदाधिकारी रिझाउने विदेश घुमाउने र आफ्नो कार्य समितिमा कसरी बहुमत पुर्याउनमा नै तल्लिन रहेको तथा वर्तमान एन्फा कार्य समिति आफ्नो सेवा सुविधा वढाउने र थप्ने कार्यमा व्यस्त रहेको क्लबहरुले आरोप लगाएका छन्। लिगका सबै खेलको प्रत्यक्ष प्रसारण हुन नसकेकोलगायतका विषयमा क्लबहरुले भनेका छन्, ‘दर्शकहरु प्रत्यक्ष रुपमा खेल हेर्नवाट वन्चित भैरहेका छन् । अझ प्रतियोगिताको उचित तालिका नबनाइदा खेलाडीहरु घाइते भैरहेका छन् । यस्तोे अवस्थामा पनि हामी क्लबहरु नेपाली फुटबल खेलको विकासका लागि खेलिरहँदा समेत आयोजक एन्फा मौन रहेको देखिन्छ । यसले गर्दा क्लबलाई ठूलो आर्थिक संकट उत्पन्न भैरहेको छ ।’

चर्च र मच्छिन्द्रको दुरी २ अंक

जारी लिगको शीर्ष टोली चर्च ब्वाइज युनाइटेड संकटासँग १–० ले पराजित भएको छ । शनिबार भएको शीर्ष तीन टोलीमध्ये तेस्रो स्थानको जावलाखेलले तीन अंक गुमाएको र दोस्रो स्थानको मच्छिन्द्रले २ अंक गुमाएको अवस्थामा चर्चको लागि यो खेल जितेर अंक दुरी बढाउने मौका थियो । तर, संकटाले स्तब्ध तुल्याएपछि चर्च र दोस्रो स्थानको मच्छिन्द्रको दुरी २ अंक भएको छ ।

२२ औं चरणका यी महत्वपूर्ण तीन खेलको नतिजापछि चर्च ब्वाइजको ३८ अंक, मच्छिन्द्रको ३६ अंक र जावलाखेलको ३४ अंक भएको छ । मच्छिन्द्र चर्चसँग २ अंकले पछि र जावलाखेलसँग २ अंकले नै अघि छ । यो समीकरणले बाँकी चरणका खेलहरु निकै रोमाञ्चक हुने पक्का छ ।

मच्छिन्द्र त्रिभुवन आर्मीविरुद्धको खेलमा हारबाट जोगेको थियो । १–० ले पछि परेको मच्छिन्द्रले गोल फर्काएर खेल १–१ बराबरीमा ल्याएको थियो । जावलाखेललाई एपीएफले २–० गोलले स्तब्ध तुल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्