४२ करोड ठगेर शिवशिखर सहकारी फरार



–२ हजार बचतकर्ताद्वारा सप्रमाण प्रहरीसमक्ष उजुरी दर्ता
–देशभर १४ अर्ब रुपियाँ निक्षेप संकलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

डडेल्धुरा । वचतकर्तालाई पाँच वर्षपछि दोब्बर रकम भुक्तानी गर्ने सर्तमा डडेल्धुराबाट मात्रै झन्डै ४२ करोड निक्षेप संकलन गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत रकम फिर्ता दिन नसक्दा कार्यालय बन्द गरेको छ भने कर्मचारीहरु फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आह्वानअनुसार शिवशिखर बहुउद्देश्यीय सहकारीबाट ठगिएका डडेल्धुराका २ हजार बढी बचतकर्ताले सप्रमाण प्रहरीसमक्ष उजुरी दर्ता गराएका छन् । भक्तपुरमा प्रधान कार्यालय रहेको सो सहकारी संस्थाले डडेल्धुरा जिल्लामा शाखा कार्यालय स्थापना गरेर ६ हजार वचतकर्ताबाट निक्षेप संकलन गरेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

देशभरका विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरेको शिवशिखर सहकारीले सुदूरपश्चिम प्रदेशमा डडेल्धुरासँगै डोटी, कैलाली र कञ्चनपुरमा शाखा स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिवशिखर सहकारी संस्थामा बचत गरेका सर्वसाधारणलाई उजुरी दिन सार्वजनिक सूचनामार्फत आह्वान गरेको हो । शुक्रबारसम्म २ हजार बढी बचतकर्ताबाट १ हजार ३ सय ६५ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताउनुभयो ।

एउटै परिवारका सदस्य बचतकर्ताबाट सामूहिक उजुरी माग गरिएकाले उजुरी दिने बचतकर्ताको संख्याभन्दा कम उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालय बन्द गरेर सञ्चालक र कर्मचारी फरार रहेकाले उजुरी दिन सर्वसाधारणलाई आग्रह गरिएको हो । पीडितको उजुरीका आधारमा साढे ७ करोड रुपियाँ सहकारीमा जम्मा गरिएको प्रमाण उपलब्ध भएको छ । पीडितको उजुरी लिने कार्य अगामी सातासम्म निरन्तर जारी रहने भएकाले पीडितको संख्या बढ्दै जाने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

सो सहकारीका बचतकर्ता तथा ग्राहक डडेल्धुरा जिल्ला बाहिर डोटी, कैलाली र भारतमा समेत रहेकाले दुई सातासम्म उजुरी आउन सक्ने डीएसपी भट्टले बताउनुभयो । ‘शिवशिखर सहकारी संस्थाका सम्बन्धमा अनुसन्धान शुरु गरिसकेका छौं,’ उहाँले भन्नुभयो– ‘थप अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट समेत भइरहेको छ ।’ सो सहकारीले देशभर १४ अर्ब रुपियाँ निक्षेप संकलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ग्राहकको सावाँ र ब्याजबापतको रकम फिर्ता गर्न नसकेपछि सहकारी बन्द भएको हो ।

सहकारीमा बचत गरेमा पाँच वर्षमा दोब्बर रकम भुक्तानी दिने सर्तमा सर्वसाधारणले सो सहकारी संस्थामा नियमित बचत गरिरहेका थिए । कतिपयले ऋण निकालेर समेत रकम बचत गरेको बताएका छन् । अन्य जिल्लामा रहेका कार्यालयबाट पनि बचतकर्ताले रकम फिर्ता नपाएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा समेत उजुरी दिएकाले डडेल्धुरामा पनि त्यस्तो समस्या भएकाले आवश्यक कागजातसहित उजुरी दिन जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आग्रह गरेपछि हाल उजुरी दर्ता गर्नेहरुको भीड लाग्ने गरेको छ ।

सो सहकारीले डडेल्धुरामा निजी कम्पनीका नामबाट सवा २ करोड रुपियाँ लगानी गरेर मार्ट सञ्चालनमा ल्याएको छ । सो सहकारीले शिवशिखर अर्गनाइजेसन, शिवशिखर प्रालि, शिवशिखर एग्रोलगायत विभिन्न फर्मका नामबाट व्यापार व्यवसाय तथा निक्षेप संकलन गर्दै आएको थियो । डडेल्धुराबाट संकलित निक्षेप शिवशिखर अर्गनाइजेसन र शिवशिखर प्रालिलाई कर्जा दिएको उल्लेख गरिएको छ ।

तर सहकारीले कर्जा प्रवाह गरेको तथ्य प्रमाण भने फेला परेको छैन । कर्जा प्रवाह आफ्नै अर्गनाइजेसन र प्रालिलाई गरेको भन्दै स्थानीय एवं सहकारीका ग्राहक आक्रोशित बनेका छन् । यहाँका बचतकर्ताले सहकारीविरुद्ध उजुरी दर्ता भइसकेकाले सञ्चालक र कर्मचारीलाई तत्काल पक्राउ गरेर बचत रकम फिर्ता गराउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्