बृहत् यौनिकता शिक्षासम्बन्धी प्रथम राष्ट्रिय सम्मेलनमा सरकारको ५ बुँदे प्रतिबद्धता 



काठमाडौँ। 

बुधवारदेखि काठमाडौँमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, यूएनएफपीए नेपाल लगायतका विभिन्न संघ संस्थाहरुको आयोजनामा संचालित बृहत् यौनिकता शिक्षा सम्बन्धी सम्मेलन सरकारको ५ बुँदे प्रतिबद्धताका साथ सम्पन्न भएको छ ।

दिगो विकास लक्ष्य २०३० प्राप्तिको लागि भएको बृहत् यौनिकता शिक्षासम्बन्धी सम्मेलनको मुख्य निष्कर्षहरूलाई यस सम्मेलनका आयोजकले स्वागत गर्दै विविध पक्षमा सरोकारवाला निकायकाबीच छलफल गरी टुग्याएको छ । मार्च २०२३ मा जारी संयुक्त राष्ट्र संघीय विशेष प्रतिवेदनले भेदभाव विना बृहत् यौनिकता शिक्षाको सुनिश्चितताको लागि गरेको आह्वानलाई समेत मनन गर्दै नेपाल सरकार र सम्बद्ध सरोकारवाला संघसंस्था देहायको प्रतिबद्धता तथा यसप्रकारको सन्देश जारी गर्दै कार्यक्रम समापन गरेका छन् ।

प्रतिबद्धता

वृहत् यौनिकता शिक्षा सम्बन्धी नीतिगत, कानुनी तथा कार्य क्रमिक रुपमा भएका व्यवस्थाको कार्यान्वयन गर्न नेपाल सरकारका सम्बन्धित निकायबाट प्रदेश सरकार तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा विद्यालय, स्वास्थ्य संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, युवा लगायत सम्बद्ध बहु सरोकारवालाबीच समन्वय र सहकार्यमा संयुक्त प्रयास गर्ने ।

बृहत् यौनिकता शिक्षालाई सबै किशोरकिशोरी तथा युवाको लागि अत्यावश्यक शिक्षाको रुपमा लिई तत् सम्बन्धमा गुणस्तरीय शिक्षाको प्रत्याभूति हुने गरी युवाका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुयाउने ।

बालविवाह एवम् अनिच्छित गर्भधारण रोक्न, सबै प्रकारका यौन तथा लैङ्गिक हिंसा र हानिकारक अभ्यास, एचआइभी/एड्स लगायत यौनजन्य सङ्क्रमण हुनबाट सबै किशोरकिशोरी तथा युवाको संरक्षण गर्दै किशोरावस्थाबाट वयस्क अवस्थामा सुरक्षित र परिपक्व रूपमा रूपान्तरण हुनका लागि सहजीकरण गर्ने ।

अनलाइन तथा अफलाइनका माध्यमबाट शिक्षक तथा स्वास्थ्यकर्मीको क्षमता विकास एवं अन्य सहयोग मार्फत बृहत् यौनिकता शिक्षासम्बन्धी सिकाइ सामग्री विकास गरी ती सामग्रीको प्रभावकारी प्रयोगमा किशोरकिशोरी, युवा, समुदाय तथा अभिभावकहरूलाई संलग्न गराउने ।

किशोरकिशोरी तथा युवाको सिकाइ अनुभव र असल अभ्यासहरूलाई एक आपसमा आदानप्रदान गर्न प्रोत्साहित गर्ने ।

यस सम्मेलनको सन्देश तथा प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न वृहत् यौनिकता शिक्षाको विकास तथा अभिवृद्धिमा सहकार्य गर्न हामी सबै प्रतिबद्ध रहने छौँ ।

त्यसैगरी संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले विज्ञप्ति जारी गर्दै बृहत्तर यौनिकता शिक्षा विषयमा नेपालमा आयोजना भएको पहिलो राष्ट्रिय सम्मेलन हो । सम्मेलनबारे आफ्नो विचार प्रस्तुत गर्दै संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका आवासीय प्रतिनिधि यङ्गहोङ्गले भन्नुभयो- “युवाहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारहरू प्राप्त गर्न बृहत्तर यौनिकता शिक्षा महत्त्वपूर्ण छ भन्नुभयो । यो क्षेत्रमा लगानी गर्नु भनेको युवा उमेरका मानिसहरूको एउटा पुस्तामा गरिने लगानी मात्र होइन, यो उनीहरूले आफ्नो पूर्ण शिक्षा पूरा गरेको सुनिश्चित गर्न पनि जरुरी छ । नेपालमा न्यून आयबाट मध्यम आय भएको स्थितितर्फ बढ्दै गर्दा यसले सम्पूर्ण समाज र अर्थतन्त्रका लागि समग्रमा सकारात्मक उपलब्धि समेत प्रदान गर्दछ ।दिगो विकासका प्रमुख लक्ष्यहरू र सन् २०३० सम्ममा महिला र बालिकाहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारहरू पूर्ण रूपमा सुरक्षित गर्न जनसङ्ख्या तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले प्रतिबद्धताहरू पूरा गर्न पनि यो महत्त्वपूर्ण छ । यो राष्ट्रिय सम्मेलन यस देशमा बृहत्तर यौनिकता शिक्षाले खेल्न सक्ने महत्त्वपूर्ण भूमिका माथि प्रकाश पार्ने एउटा महत्त्वपूर्ण खुड्किलो हो ।”

सबै प्रकारका यौन तथा लैङ्गिक हिंसा र हानिकारक अभ्यास, एचआइभी/एड्स लगायत यौनजन्य सङ्क्रमण हुनबाट सबै किशोरकिशोरी तथा युवाको संरक्षण गर्दै किशोरावस्थाबाट वयस्क अवस्थामा सुरक्षित र परिपक्वरूपमा रूपान्तरण हुनका लागि सहजीकरण गर्ने ।

बृहत् यौनिक शिक्षालाई विद्यालयका पाठ्यक्रमा समावेश गरी पठनपाठन गरिनुपर्छ भनेर सन् २००७ मा परिवार नियोजन संघले एकलौटी पैरवी गरेको थियो भने, क्रमशः अन्य संघसंस्थाहरु पनि भावबद्ध हुँदै यो सम्मेलन गर्न सफल संघका अध्यक्ष हिमाल कसजुले भन्नुभयो ।

सम्मेलनको समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सभासद् तथा नेपाल परिवार नियोजन संघका महिला सदस्य सिता कुमारी रानाले सकारात्मक सोचले जहाँ आवश्यकता छ त्यहाँ काम गर्‍यो भने भने आवश्य सफलता मिल्ने बताउनुभयो। गरिबलाई सुधार्ने राजनीति गर्दा उद्देश्य प्राप्ति हुने उहाँको भनाइ थियो।

सोही अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव डा.कमल प्रसाद चौलागाईले कार्यक्रममा कार्यपत्र प्रस्तोता, सहभागी सबैलाई आभार व्यक्त गर्दै सूचना र ज्ञानको अभावमा युवा पुस्ता पहुँचबाहिर रहेको र पीडित भएको बाताउनुभयो ।

सम्मेलनमा युवाहरुले बृहत् यौनिक शिक्षालाई सरकारले नीति तथा कार्यक्रममै राख्नुपर्ने माग सहित सामूहिक आव्हान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्