ट्राफिक प्रहरीद्वारा सडकमै सवारीको यान्त्रिक अवस्था जाँच



पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतद्वारा सडकमै सवारीको यान्त्रिक अवस्था जाँच गर्ने अभियानको थालनी गरिएको छ ।

यान्त्रिक अवस्था परीक्षण नगरिएका तथा यन्त्रमा समस्या देखिँदा देखिँदै पनि जबरजस्ती सवारी चलाउँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले बेला बेलामा यान्त्रिक अवस्थाको बारेमा जानकारी लिने गरि परीक्षणको थालनी गरिएको हो ।

अभियानका क्रममा कुश्मा नगरपालिका–१ पाङस्थित मालढुङ्गामा पर्वत, बागलुङ र म्याग्दी आउजाउ गर्ने सवारीहरुको परीक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार सवारी दुर्घटनामा धेरै कारणहरुमध्येको एउटा यान्त्रिक अवस्था सही अवस्थामा नरहनु पनि रहेकाले सवारीका धनी, चालक र सहचालकलाई सचेत गराउनको लागि परीक्षण अभियान थालिएको हो ।

यातायात व्यवस्था कार्यालय बागलुङसँग सहकार्य गरेर यातायात व्यवस्था कार्यालयमा रहेका तथा आवश्यकता अनुसार बाहिरको जनशक्ति समेत परिचालन गरेर सडकमा गुड्दै गरेका सवारीलाई रोकेर सवारीको अवस्थाको बारेमा परीक्षण गरिएको छ । सवारीको परीक्षणको क्रममा वर्षा भइरहेको बेलामा सवारी चलाउन सहज बनाउन वाइपर नचल्ने अवस्थामा रहेको, अनावश्यक रुपमा सवारीको स्वरुप परिवर्तन गरेको, आवश्यकता र समयानुसार सवारीको सर्भिसिङ नगरेको लगायतका समस्याहरु भेटिएका छन्।

अभियानको सुरुवाती चरणमा झन्डै ७५ वटा सवारीहरुको इन्जिन, टायर, ब्रेक, क्लच, ह्यान्डल, एक्सीलेरेटर, ब्याट्री लगायतका भाग र यन्त्रको परीक्षण गरिएको थियो । ‘हरेक दिन हरेक पटक ट्राफिक प्रहरीले सवारीको यान्त्रिक अवस्थाको बारेमा जाँचेर आउजाउ गराउन त सम्भव हुँदैन नै ।

तर हामीले सवारीका धनी, चालक, सहचालक र आवश्यकता अनुसार यात्रुह पनि आफू रहेको सवारीको यान्त्रिक अवस्थाका बारेमा चनाखो भएको हुनुपर्छ भन्ने सन्देश दिन खोजेका हौँ,’ ट्राफिक प्रहरी प्रमुख निउरे भन्नुहुन्छ ‘सवारी र चालकका कागजपत्रको परीक्षण गरेजस्तै बेला बेलामा यन्त्र र उपकरणको अवस्था कस्तो अवस्थामा रहेको छ भन्ने परीक्षण गर्ने छौँ । सवारी जाँच गर्ने बेलामा चालक र सञ्चालकहरूलाई यान्त्रिक परीक्षणको महत्त्वको बारेमा सम्झाएर छाडेका छौँ ।’

ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पर्चा पम्प्लेट वितरण, स्टिकर टाँस गर्ने, मास्क वितरण गर्ने र छत तथा हुटमा यात्रु प्रशिक्षण कार्यक्रम, सदरमुकाम लक्षित चालक सहचालक प्रशिक्षण कार्यक्रम, सडक प्रयोगकर्ता र विद्यार्थीहरुलाई प्रशिक्षण दिने, सवारी चालकहरुको स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमहरु पनि सञ्चालन गरिएको प्रहरी नायव निरीक्षक निउरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्