अर्थतन्त्रको आशा



देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भएको कुरा बजारमा चर्चा भइरहे तापनि नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भने देशको अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख भएको संकेत गरिएको छ । सरकारले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा चैत मसान्तमा साढे नौ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।

विदेशी विनिमय सञ्चिति १७ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । चालू खातामा सुधार भए पनि अझै घाटामा रहेको छ, तथापि शोधनान्तर बचत भएको छ । समीक्षा अवधिसम्म चालू खाता ५१ अर्ब ८२ करोडले घाटामा रहेको छ तर शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा चालू खाता ५ खर्ब १० अर्ब ५८ करोड र शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

त्यस्तै वैदेशिक व्यापारमा घाटा १७ दशमलव १ प्रतिशतले घटेको छ । पर्यटक आगमन बढेर भ्रमण आय ९४ दशमलव ३ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपियाँमा २४ दशमलव २ प्रतिशत र अमेरिकी डलरमा १३ दशमलव ९ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकमा केही सूचकहरुले अर्थतन्त्र सुधारतर्फ गएको देखिए पनि चालू आर्थिक वर्ष आर्थिक वृद्धि दर कम रहने देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशत र उत्पादकको मूल्यमा १ दशमलव ८६ प्रतिशत रहने अनुमान गरेको छ । त्यस्तै यस अवधिमा संघीय सरकारको कुल खर्च १८ दशमलव ७ प्रतिशतले बढेको छ भने राजस्व परिचालन १३ दशमलव ३४ प्रतिशतले घट्दा सरकारको राजस्व घाटा २ खर्ब ५९ अर्ब १० करोड रहेको छ । सरकारले दायित्व भुक्तानी गर्न बाँकी रहेकाले यो तथ्यांक अझै बढ्न सक्ने अवस्था छ ।

सरकारको कुल खर्चमा चालू खर्चको अंश ७४ दशमलव ९ प्रतिशत रहेको छ । यस अवधिमा चालू र पुँजीगत शीर्षकतर्फ विनियोजित बजेटको क्रमशः ५९ दशमलव ७ प्रतिशत र २८ दशमलव २ प्रतिशत खर्च भइसकेको छ । चौथो त्रैमासिकमा यो खर्च अझै बढ्ने स्थिति छ । तर, चालू आर्थिक वर्षमा पनि विगतका वर्षहरुमा जस्तै सरकारको पुँजीगत खर्च वृद्धि हुने अवस्था देखिँदैन । अझ यस वर्ष अघिल्ला वर्षको तुलनामा झन् घट्ने अवस्था देखिएको छ । लामो समयसम्म निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार क्षेत्र प्रभावित भएका कारण आर्थिक वृद्धि लक्षितभन्दा न्यून छ ।

वार्षिक औसत मुद्रास्फीति प्रक्षेपितभन्दा उच्च रहने अनुमान छ । मौद्रिक तथा कर्जा विस्तारलाई मध्यनजर गर्दा माग पक्षभन्दा आपूर्ति पक्षबाट मूल्यमा चाप पर्न गएको स्थिति छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको आकार बढ्न गएको छ । बैंकिङ क्षेत्र लक्षित गैरव्यावसायिक गतिविधिले निष्क्रिय कर्जा बढ्नुका साथै व्यावसायिक वातावरणमा समेत प्रतिकूल असर परेको छ । निष्क्रिय कर्जा वृद्धि हुँदा ब्याजदरमाथि चाप पर्नुको अतिरिक्त मुलुकको लगानी क्षमतामा समेत ह्रास आउने खतरा देखिएको पृष्ठभूमिमा केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

आगामी आर्थिक वर्षका निम्ति बजेट लेखन भइरहेको सन्दर्भमा देखा परेका यी सूचकहरूले आगामी दिनमा देशको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्षमा पुग्न सोही अनुसारको वित्त र मौद्रिक नीतिको खाँचो हुन्छ । यति बेला देशको अर्थतन्त्रका सूचकहरूले देश संकटमा रहेको उल्लेख नगरे पनि सहज अवस्था पनि नरहेको स्पष्ट छ । तसर्थ, यिनै तथ्यलाई आधार बनाएर यथार्थमा आधारित नीति तथा कार्यक्रमको अहिले आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्