विश्व मिडवाईफ दिवस धुलिखेल अस्पतालमा मनाइयो



काठमाडौँ। 

विश्व मिडवाईफ दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईदैछ । काठमाडौँ विश्व विद्यालय धुलिखेल अस्पतालले मिडवाईफ दिवसको पूर्व सन्ध्यामा बिहीबार एक कार्यक्रमको आयोजना गरी मनायो । अस्पतालले मिडवाईफ विभाग स्थापना गरेको एक वर्ष पुरा भएको दिनका अवसर तथा विश्व मिडवाईफ दिवसका अवसरमा मिडवाईफ सेवाग्राही र स्त्रीरोग विभागका डाक्टर, नर्सहरुले एकआपसमा खुसी साटासाट गरेका थिए ।

सन् १९९२ देखि हरेक वर्ष ५ मेका दिन अन्तर्राष्ट्रिय मिडवाईप परिसंघ (आईसीएम) ले मिडवाईफहरुको कामको विश्वव्यापी मान्यता र उत्सवको नेतृत्व गर्दै मनाउने गरेको छ । यो दिवस ५० भन्दा बढी राष्ट्रहरुले मनाउने गर्छन् र यसका सदस्य संस्थाहरुसँगको साझेदारीमा आईसीएमद्धारा समन्वय गरिन्छ ।
धुलिखेल अस्पतालले १ वर्ष देखि मिडवाईफद्वारा सञ्चालित प्रसूति कक्षमा बिना औषधि घरमै जसरी परम्परागत रुपमा दक्ष मिडवाईफहरुको नेतृत्वमा सुत्केरी गराउने गरेको धुलिखेल अस्पतालका प्रसुतिरोग विशेषज्ञ तथा प्रो.डा. आभा श्रेष्ठ बताउनुहुन्छ ।

धुलिखेल अस्पतालको मिडवाईफ विभागले गर्भवती महिलाहरुलाई सरल र सहज तरिकाले बच्चा जन्माउन परम्परागत तरिकालाई व्यवस्थित, मर्यादित बनाएको जानकारी गराइयो । सोही अवसरमा “तपाई र तपाईँको गर्भमा रहेको बच्चाको राम्रो स्वास्थ्यको लागि हामी छौ” भन्ने मूल नारालाई सार्थक बनाउन अस्पतालको प्रसूति वार्डको टीमनै लागि परेको जानकारी गराइयो ।

धुलिखेल अस्पतालमा सन् २०२२ मे ५ देखि मिडवाईफ विभागनै स्थापना गरी हाल सम्म ६५ जनालाई सेवा प्रवाह गरेको पनि जानकारी गराइयो ।
मिडवाईफ भनेको के हो ?

मिडवाईफ भन्नाले “अन्तर्राष्ट्रिय कन्फिडरेशन अफ मिडवाईफ’ ले निर्धारण गरेको मापदण्ड अनुरूप मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यावसायिक मिडवाईफ्री शिक्षा हासिल गरी प्रमाणपत्र प्राप्त गरेको र नेपाल नर्सिङ परिषद्ममा मिडवाईफको रूपमा नाम दर्ता गराई कानुनी मान्यता प्राप्त मिडवाईफ्री सेवा प्रदान गर्न योग्य प्रसूतिकर्मीलाई बुझाउँछ ।

मिडवाईफद्वारा सञ्चालित प्रसूति कक्ष: सामान्य गर्भावस्था र स्वास्थ्य सम्बन्धी जटिलताहरू नभएका गर्भवती महिलाहरूको लागि यो प्रसूति कक्ष उपयुक्त हो । जहाँ दक्ष प्रसूतिकर्मीहरूले गर्भावस्थाको प्रारम्भिक जाँचदेखि प्रसव र प्रसव पछि नवजात शिशु र महिलालाई हेरचाह गर्ने प्रबन्ध छ । यस कक्षको प्रमुख व्यक्ति यिनै दक्ष प्रसूतिकर्मीहरू हुन्छन् ।

यसको मुख्य उद्देश्य भनेको दक्ष प्रसूतिकर्मीको थोरै सहायताले प्राकृतिक रूपमा नवजात शिशुको जन्म गराउनु हो । धुलिखेल अस्पतालको मिडवाईफ विभागमा प्रसूति गराउन चाहनेलाई दिइने सुविधाहरु सम्मान जनक हेरचाह, गोपनीयता र आत्मसम्मान कायम राख्ने, परिचित मिडवाईफहरूको समूहद्वारा महिलालाई प्रसव पूर्व, प्रसवको अवधिमा र प्रसूति पछि पनि निरन्तर हेरचाह गरिन्छ ।

महिलाले प्रसूतिको बेला आफ्नो श्रीमान् वा नजिकको व्यक्तिलाई यस कक्षमा सँगै राख्न पाउँछन् । आरामदायी तथा पारिवारिक वातावरण प्रदान गरिन्छ । प्रसवको समयमा महिलालाई घुमफिर गर्ने स्वतन्त्रता दिइन्छ । प्रसवको अवधिमा कुनै पनि औषधि प्रयोग नगरीकन दुखाई कम गर्ने अरू उपायहरू जस्तै ढाडको मालिस, हिँडडुलमा सहयोग गर्ने र प्रसवको बेलामा बलको प्रयोग आदि तरिका सिकाइन्छ ।

महिलाको इच्छा अनुसार जन्म आसनको लागि प्रसूतिकर्मीद्वारा सहयोग प्रदान हुनेछ । महिलाहरूसँग साझेदारीमा काम गर्ने र उनीहरूको व्यक्तिगत परिस्थिति र प्रत्येक महिलाको विचारको सम्मान गरिन्छ । प्रत्येक महिलाको व्यक्तिगत आवश्यकताहरूलाई पूरा गर्न अन्य स्वास्थ्यकर्मीहरूसँग समन्वय गरिन्छ । बच्चा र आमामा आउन सक्ने जटिलतालाई समाधान गर्न अतिरिक्त आपत्कालीन व्यवस्थापनको पनि सुविधा भएको र आवश्यकता परेमा महिलालाई प्रसूतिकक्षमा समयमै स्थानान्तरण गरिने व्यवस्था रहेको जानकारी गराइयो ।

प्रसूति पछि पनि आमा र नवजात शिशुको स्वास्थ्य अवस्था बारे प्रसूतिकर्मीद्वारा निरन्तर हेरचाह र परामर्शको लागि टेलिफोनबाट सुत्केरी पछिको ३ दिन, ७ दिन र २१ दिनमा पुनः सम्पर्क गरी आवश्यक जानकारी दिने र आवश्यक परेमा परामर्श पनि दिने व्यवस्था रहेको जानकारी गराइयो ।

कार्यक्रममा परम्परागत रुपमा सुत्केरी हुँदाका फाइदाहरूका बारेमा यसरी जानकारी गराइयो ः महिलाहरूले प्राकृतिक रूपमा नवजात शिशुको जन्म गराउने अवसर मिल्नेछ । प्राकृतिक रूपमा प्रसव गराउँदा महिलाहरूमा प्रसवको परिणाम राम्रो हुने साथै प्रसवको अनुभवमा पनि सन्तुष्टि मिल्छ । सकारात्मक प्रसव अनुभव प्राप्त गर्नु महिलाहरूको प्रमुख अधिकार हो । यो सुत्केरी हुने सबै महिलाहरूको लागि महत्त्वपूर्ण लक्ष्य हो । जुन यो प्रसव कक्षमा प्राप्त गराउन कोसिस गरिन्छ । महिलाहरूलाई गोपनीयता प्रदान गरिन्छ साथै महिलाको हेरचाहको लागि १ जना साथीको उपस्थितिलाई पनि अनुमति दिइन्छ ।

सबैभन्दा साना खुट्टाले हाम्रो हृदयमा सबैभन्दा ठूलो छाप बनाउँछ । यो मायाको आनन्द लिनुहोस् । एक स्वस्थ बच्चाको आमाबाबु हुनुभन्दा अनमोल केही हुनेछैन भन्दै शुभकामना आदान प्रदान गरियो । बार्षिकोत्सवलाई मनमोहक बनाउँदै मिडवाईफको टीमले सांस्कृतिक कार्यक्रम, नृत्य प्रस्तुत गरेका थिए भने लल्मी मैया प्रजापतिले मानवको पहिलो घर शीर्षकको कविता वाचन समेत गर्नुभएको थियो ।

मानवको पहिलो घर

तिमीलाई थाहा छ कि छैन; मानव हो ? तिमी बसेको पहिलो घर कुन हो ? राम्रोसँग सुन तिमी; त्यो घर पाठेघर हो । संसारलाई धान्ने काम; यसले नै गर्ने हो ।
बाह्र–चौध वर्ष हुँदा पाठेघरले मासिक धर्म सुरु गर्छ । चालिस –पचास वर्षसम्म त्यो घरले निरन्तर धर्म पालना गर्ने हो बीर्य पुरुषको पाए पछि भुणहरु पाल्ने हो । राम्रो पोषण र वातावरण पाए मात्र स्वस्थ बच्चा दिने हो ।

पचास–पचपन्न वर्षसम्म, मासिक धर्म बन्द हुने हो । यसलाई महिनावारी सुक्ने वा मेनोपोज भन्ने हो । त्यसपछि महिलामा अनेक परिवर्तन आउने हो । धेरै थरी लक्षणहरू देखाई समस्यामा पार्ने हो ।

त्यसैले त गाइने वार्डमा बिरामी बढ्ने हो । योनी र लिङ्ग, सफा भए; पाठेघर स्वस्थ हुने हो ! महिला बिरामी हुन एउटा कारण पाठेघरको समस्या हो । त्यसैले कुरा बुझ मानव हो, मायाले घरबार चलाउने हो ।

लक्ष्मी मैया प्रजापती
एसोसिएट प्रोफेसर केयूएसएमएस
नर्स म्यानेजर अब्स गाइनो वार्ड धुलिखेल अस्पताल ।

प्रतिक्रिया दिनुहोस्