गृहमन्त्री श्रेष्ठ सर्लाहीमा

बस्ती हस्तान्तरण, सहभोज र प्रशिक्षण



सर्लाही। 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार दिनभरि सर्लाहीका कार्यक्रमहरूमा व्यस्त हुनुभएको छ। त्यसक्रममा वाग्मती नगरपालिकाको अगुवाइ र मधेस प्रदेश सरकारको समेत सहयोगमा लोपोन्मुख एवम् दलित पहरी समुदायका लागि निर्मित नमुना बस्ती सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ।

नदी किनारमा अव्यवस्थित बसोबास गर्दै आएका १२ पहरी परिवारका ७० जनसंख्याका लागि वाग्मती-११ मा निर्मित १२ वटा एकतल्ले पक्की घर गृहमन्त्री श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो। लोपोन्मुख पहरी समुदायको परम्परागत पेशा माछापालन हो। कतिपयलाई भने हाल वाग्मती नगरपालिकाले क्षमता अनुसार रोजगारी समेत दिएको छ।

बस्ती हस्तान्तरणसँगै पहरी समुदायसहित सहभोज समेत गरिएको थियो। त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले हरेक सीमान्तीकृतहरूलाई सामाजिक न्यायको अनुभूति हुनेगरी गुणात्मक आर्थिक-सामाजिक विकास गर्नु वर्तमान सरकारको मूल प्राथमिकता रहेको बताउनुभयो। वाग्मती नगरपालिकाका मेयर भरत थापाले लोपोन्मुख पहरी समुदायको व्यवस्थापन नगरपालिकाको प्राथमिक दायित्व भएको बताउनुभयो।

सँगै, उपप्रधानमन्त्री श्रेष्ठले नेकपा (माओवादी केन्द्र)को पहलमा सहिद इन्द्र कोइरालाको परिवारका लागि निर्मित आवास समेत हस्तान्तरण गर्नुभएको छ। वाग्मती-१२ मा निर्मित उक्त पक्की आवास १० बर्षे ऐतिहासिक जनयुद्धमा सर्लाहीबाट पहिलो सहिद हुनुभएका इन्द्र कोइरालाकी श्रीमती लक्ष्मी कोइरालालाई औपचारिक हस्तान्तरण गरिएको हो। कोइराला परिवारको आर्थिक अवस्था कमजोर छ।

उपप्रधानमन्त्री श्रेष्ठले आजै लालबन्दीमा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा, मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्नुभएको छ। त्यसक्रममा उहाँले जातीय विभेद र उत्पीडन अन्त्यका लागि वर्तमान सरकार दलितका लागि अझै विशेष अधिकार सुरक्षित गर्नुपर्ने पक्षमा रहेको बताउनुभयो।

‘समाजवादको आधार निर्माणका लागि सामाजिक न्यायसहित गुणात्मक आर्थिक समृद्धिमा अगाडि बढ्न हाम्रो पार्टीलाई समेत रुपान्तरण गर्नु जरुरी छ।’ उहाँले भन्नुभयो- ‘त्यसमा दलित मोर्चा र सबै साथीहरूको हस्तक्षेपकारी भूमिका हुनुपर्छ।’ वर्तमान सकारले जनताले अनुभूति गर्ने गरी कामका प्राथमिकता तय गरेको र सर्लाही जिल्लामा समेत चरम शोषण र आतंकको रूपमा रहेको मिटरव्याज सम्बन्धि समस्यालाई कानुन र आयोग बनाएर समाधान गर्ने कार्यक्रम अगाडि बढी सकेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो।

नेता डाचाराज वाग्ले (जो रहस्यमय सडक दुर्घटनामा दिवङ्गत हुनुभयो), कमल बुढाथोकीसहित भएर आफूले सर्लाहीबाट नै मिटरव्याजबिरोधि अभियानलाई अगाडि बढाएको स्मरण श्रेष्ठले गर्नुभयो। सम्मेलन उद्घाटन समारोहलाई माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल र मोर्चाका केन्द्रीय अध्यक्ष दलजीत श्रीपाइली लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्