सहकारी मार्फत ‘तरकारी तथा फलफूल’ एम्बुलेन्स



काभ्रे।

एईआइएन लक्जम्वर्गको सहयोगमा बेथान्चोक गाउँपालिकाको ग्रामीण महिला तरकारी तथा फलफूल सहकारी संस्थालाई तरकारी तथा फलफूल ढुवानीका लागि ढुवानी साधन प्राप्त भएको छ । ताजा तरकारी तथा फलफूल ढुवानीका लागि ‘तरकारी तथा फलफूल’ एम्बुलेन्सका रुपमा उक्त सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ । महिला सशक्तीकरण तथा आत्मनिर्भरका लागि ब्यवसायीक खेती गर्ने उद्देश्यले बेथान्चोक गाउँपालिकामा सहकारी मार्फत विभिन्न कार्यक्रम सुरु भएका छन् ।

३० लाख ८० हजार रुपैयाँ खर्च भएको उक्त सवारी साधनका लागि २५ लाख ८० हजार ग्रामीण विकास संस्था मार्फत उक्त रकम सहकारीले प्राप्त गरेको हो । राजधानीबाट ५० किमी टाढा रहेको बेथान्चोक गाउँपालिकामा उत्पादित तरकारी समयमै बजार पु¥याउन उक्त सवारी साधन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । ‘सहकारीमा आबद्ध महिला सदस्यहरूद्वारा उत्पादित तरकारी तथा फलफूल ढुवानीका लागि अत्यावश्यक रहेको सवारी साधन उपलब्ध भएसँग ताजा तरकारी समयमै बजारमा पठाउन सहज हुने अपेक्षा गरेका छौँ’–अध्यक्ष विमला अधिकारीले भन्नुभयो–‘निजी क्षेत्रका ढुवानी साधन तरकारी तथा फलफूल बजार पु¥याउन समयमै उपलब्ध हुन नसक्दा सहकारीमा आबद्ध सदस्य कृषकहरुले ब्यहोर्नु परेको हैरानी अन्त्य भएको छ ।’ ढुवानी सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी व्यवस्थापनको तयारी गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो । एईआन लग्जम्वर्गका फ्रान्को, फोएर ग्रुपकी अमिरा लगायतको टोलीले नेपाल प्रतिनिधि रमेश त्वयना, ग्रामीण विकास संस्थाका अध्यक्ष गीता शर्मा, कार्यकारी निर्देशक डिएन तिमल्सिना, संस्थापक मुरली शर्मा,  लगायतको टिम मार्फत सहकारीलाई ढुवानी सवारी हस्तान्तरण गरेको थियो ।

२०७८ वैशाख १ गते स्थापना भएको उक्त सहकारीमा १ हजार ७ सदस्य छन् । २८ लाख ८६ हजार ३ सय शेयर पुँजी, २६ लाख २ हजार २ सय २४ कुल बचत, ३४ लाख ४० हजार पुँजीगत अनुदान गरी ९६ लाख १२ हजार १ सय ८८ कुल कारोबार गरेको संस्थाले ६० लाख ३२ हजार ३ सय ३० ऋण १० प्रतिशत ब्याजमा लगानी गरेको छ । बचतकर्ताहरुलाई ६ प्रतिशत ब्याज उपलब्ध गराएको संस्थाले सदस्यहरुका ग्रामीण विकास संस्था मार्फत ४१ घर धुरीमा १ हजार बोट किवी, ६९ घर धुरीमा १६ सय बोट कागती, ३१ घर धुरीमा ३१ बोट ओखरका बिरुवा वितरण गरेको छ । अर्ग्यानिक तरकारी उत्पादनका लागि आईपिएम कृषक पाठशाला सञ्चालन गरी जैविक विषादी उत्पादनका लागि आवश्यक पर्ने तालिम प्रदान गरेको छ । पशुपालनका लागि ५ हजार घाँसका बिरुवा वितरण गरेको छ । हात्तीपाइले, गोवन, निमारो, हाडेओखर, जिरा लगायतका घाँसका बिरुवाहरू उपलब्ध गराइएको छ ।

सदस्यहरुलाई ३५ वटा प्लास्टिक टनेल, ४२ वटा गोठ सुधार, ६० घरधुरीमा करेसाबारी निर्माण, ४ घरमा गोबरग्याँस, स्थायी पानी पोखरी मार्फत ६० रोपनी जमिन सिंचाईको कार्यक्रम सम्पन्न भएको छ । जसबाट २० घर परिवार लाभान्वित भएका छन् । जलवायु अनुकुलन कार्यक्रम बेथान्चोकका विभिन्न वडामा सञ्चालन भएका छन् । चार वर्षमा गाउँपालिकाका ४ सय ९७ घर धुरी प्रत्यक्ष प्रभावित हुने गरी कार्यक्रम सञ्चालन गरिएको ग्रामीण विकास संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले बताउनु भयो । संस्थाकी रचना श्रेष्ठले महिलाहरुको आर्थिक सशक्तीकरणमा ढुवानी सवारी महत्त्वपूर्ण हुने बताउनु भयो । उत्पादित तरकारी तथा फलफूल सिधै बजारमा पु¥याउँदा बिचौलियाबाट ठगिने डर पनि नहुनुका साथै नगदमै कारोबार गर्न सहज भएको बताउनु भयो । बिचौलियाले सामान खरिद गर्दा उधारो लैजाने, कतिपय अवस्थामा सामानको उचित मूल्य पनि नदिने र सामान लगे पछि पैसा पनि नदिने अवस्थाको अन्त्य हुने श्रेष्ठले बताउनु भयो । संस्थाकी सञ्चालक पार्वती सापकोटाले उत्पादित सामाग्रीलाई बजारीकरण गर्न, तरकारीको बेर्ना उत्पादनका लागि नर्सरी निर्माण गर्न, सामुदायिक विउ बैकको स्थापना गर्न, ज्ञान र सिपको तालिम प्रदान गर्न, महिला किसानहरुका लागि ब्यवसायीक खेती विस्तार गर्न, विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउन, नेतृत्व तथा व्यक्तित्वको विकास गर्न, तरकारी तथा फलफूलका लागि शितभण्डार स्थापना गरी नमुना गाउँ बनाउन आवश्यक सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।

सहकारीमा आबद्ध महिलाहरुले उक्त क्षेत्रमा एक सिजनमा आलु ३० लाख केजी, बन्दा ३ लाख ७५ हजार केजी, मुला ३ लाख ५४ हजार केजी, धनियाँ ५० हजार केजी, काउली ५० हजार केजी उत्पादन गरी बजार पु¥याएको संस्थाकी कोषाध्यक्ष राधिका तिमल्सिनाले बताउनु भयो । सहकारीबाट ५ सय २५ जनाले आलु, बन्दा, मुला लगायतका तरकारी उत्पादनका लागि ऋण लिएका छन् । ३९ जना कृषकहरुले कृषि ज्ञान केन्द्रबाट विभिन्न प्रविधिका सामाग्रीहरू समेत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्