दुई करोड भन्दा बढी लागतमा निर्मित विद्यालय भवन उद्घाटन

सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाऔँ : बिजुक्छे



भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरु नै समर्पित भएर लाग्नुपर्ने बताउनुभएको छ । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा रहेको भक्तपुरको मेधा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले समर्पित शिक्षक र नयाँ प्रविधिको प्रयोगले मात्र शिक्षा र विद्यालयमा सुधार गर्न सकिने बताउनुभएको हो ।

देशभरका सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा दिने गरी अब्बल बनाउन सके विद्यार्थीको कमी नहुने बताउनु भयो । उहाँले मेधा मावि भक्तपुरको उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको चर्चा गर्दै भक्तपुरका धेरै सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गरेकाले यहाँका उत्कृष्ट सामुदायिक विद्यालयमा थेग्नै नसक्ने गरी विद्यार्थीको चाप बढेको बताउनु भयो ।

यहाँको विद्यालयबाट देशभरका सामुदायिक विद्यालयले पाठ सिक्दै नमुनाको सामुदायिक विद्यालयका रुपमा बिकास गर्दै लैजान सके देशभरका जनताले सुलभ रुपमा गुणस्तरीय शिक्षा पाउने उहाँको भनाई थियो । कार्यक्रममा उहाँले पूर्व शिक्षक, कर्मचारी, विद्यालय निर्माणका लागि सहयोग पुर्‍याउने दाता एवं सहयोगीहरुलाई दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गरी सम्मान गर्नुभयो ।

कार्यक्रममा आरपी फाउन्डेसनका प्रमुख रवीन्द्र पुरी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई सीएलपीयूआईका निर्देशक डिल्लीराम लुइँटेल, शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख रमेशप्रसाद मैनाली, सुलर हिल्फे फ्यूर नेपालका प्रमुख मिस्टर योर्गबार (व्यभचन द्यजबच) लगायतले विद्यालयले शैक्षिक गुणस्तरीयतासँगै परम्परागत एवं कलात्न्मक शैलीमा सुविधा सम्पन्न नयाँ भवनले विद्यार्थीहरुमा उत्साह थप्ने चर्चा गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम हाडाले विद्यालयबारे जानकारी दिँदै २००४ साल फागुनमा स्थापना भएको यस विद्यालय २०७६ सालमा प्रदेश नं. ३ र नेपालकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पुरस्कार प्राप्त गरेको बताउनुभयो ।

उहाँले २०६० सालबाट प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हाल्दै हालै ह्दयघातबाट मृत्युवरण हुनु भएका गंगाधर हाडाको स्मृतिमा भवनको नामाकरण गरिएको बताउनु भयो । आठ आना २ पैसा क्षेत्रफलमा कलात्मक शैलीमा निर्माण भएको उक्त भवनमा सात वटा कक्षा कोठा, एक कम्प्युटर ल्याब र एक भान्छा कोठा रहेको भन्दै उहाँले उक्त भवनमा कक्षा पिजिदेखि कक्षा तीनसम्मका २६० बालबालिका अध्ययन गरेको बताउनु भयो ।

विद्यालय भवन निर्माणका लागि शिक्षा जिल आयोजना कार्यानवयन इकाईबाट रु. एक करोड नौ लाख, सुलर हिल्फे फ्युर नेपाल (जर्मनी) र आरपि फाउण्डेसनबाट रु. ५० लाख, रोटरी डिस्ट्रिक्ट ३२९२ यआरआर कार्यक्रम तथा रोटरी क्लब अफ भक्तपुरबाट रु. २८ लाख, भक्तपुर नगरपालिकाबाट रु. २५ लाखको सहयोग प्राप्त भएको र विद्यालयले रु. ११ लाख ७८ हजार ६३४ थप गरी कूल रु. दुई करोड २३ लाख ७८ हजार ६३४ को लागतमा निर्माण सम्पन्न भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्