सहकारीबाट १४ करोड लिएर सञ्चालक फरार



काभ्रे । 

बनेपा नगरपालिका वडा नम्बर ७ मा रहेको पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछाप गुन्सी भदौरे ७ घर भई बनेपामा बस्दै आएका २९ वर्षीय कुमार गौतम दुई वटा सहकारीबाट १४ करोड लिएर फरार भएका छन् ।

पुण्यश्वर सहकारीको ९ करोड र द्रौपदा सहकारीको ५ करोड गरी १४ करोड रकम ठगी गरेका गौतम सम्पर्क विहीन छन् । कुमारका बाबु डम्बरप्रसाद गौतम अध्यक्ष रहेको उक्त सहकारीमा कुमारको श्रीमती पवित्रा चौलागाई कोषाध्यक्ष छिन् । सानिआमा कमला चौलागाई सदस्य छन् भने बहिनी मनीषा गौतम लेखा प्रमुख छिन् ।

उता कुमार भने द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष छन् । दुवै संस्थाको लेखापालका रुपमा बहिनी मनीषा कार्यरत छिन् । कान्छो भाइ प्रदीप गौतम ऋण संयोजक छन् । भाइ बुहारी गंगा श्रेष्ठ गौतम र भाइ उद्धव गौतमलाई सहकारीमा कार्यरत रहँदा रहँदै सोही सहकारीको रकमबाट अस्ट्रेलिया पठाइएको छ ।

द्रौपदा सहकारीको करिब ५ करोड रकम अपचलन भएको छ । सञ्चालक समितिमा उपाध्यक्ष रहेका झम्कप्रसाद गौतमको ६५ लाख र उनकै दाजु देवी गौतमको ५१ लाख उनै कुमारले लिएर फरार भएका छन् । सहकारीको चौरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा सहितका ७ हजार २ सय सदस्यको ९ करोड रकम उनै कुमारले खर्च गरेर बेपत्ता भएका हुन् । कुमारका छिमेकी गंगाबहादुर तामाङ सचिव छन् भने निर्माण व्यवसायी अमृत गौतम र गोदाम चोकमा कार्यालय हुँदा घरबेटी रहेका टिकालाल श्रेष्ठ सदस्य छन् । उपाध्यक्ष झम्कप्रसाद गौतम, सदस्य अमृत र टिकालालले बनेपा नगरपालिका,सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालय लगायतका स्थानमा उजुरी गरेका छन् । उनीहरू सहित ३१ जना बचतकर्ताको उजुरीमा हस्ताक्षर छ ।

२०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा ३१ जना बचतकर्ताहरुले डम्बरप्रसाद गौतम सञ्चालक अध्यक्ष र उनकै छोरा कुमार गौतम प्रमुख कार्यकारी अधिकृत रहेको सहकारी पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालय समेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दर्ता गरेका थिए । प्रशासन कार्यालयले उक्त निवेदन सहितको आदेश जिल्ला प्रहरी कार्यालयलाई लेखि पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालयले उक्त निवेदनमाथि कुनै सुनुवाई नगरेको पीडितहरुले बताएका छन् । पीडितहरुले बनेपा नगरपालिकामा  फागुन ११ गते दिएको निवेदनका आधारमा बनेपा नगरपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा फागुन ३० गते पत्र लेखेर कारवाहीका लागि अनुरोध गरेको थियो । पुण्यश्वर, एसियन स्टार र द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आवश्यक कारवाहीका लागि सिफारिस गरेको थियो । विभिन्न कार्यालयमा दिएको निवेदन उपर कतै सुनुवाइ नभएपछि पीडितहरु आफै बागमती प्रदेशको सहकारी मन्त्रालयमा चैत्र ६ गते पुगेका थिए । सोही दिन जिल्ला प्रहरी कार्यालय काभ्रेलाई खोजकार्य तथा आवश्यक कारवाहीका लागि पत्राचार गरेको थियो । बचतकर्तालाई बचत फिर्ताको लागि दिएका चेक पनि बाउन्स हुन थालेका छन् ।

डम्बरप्रसाद गौतमले सहकारीको अध्यक्ष नभएको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । जबकी २०७५ असोज १९ गते उनकै अध्यक्षतामा बैठक बसेर सहकारीका विभिन्न निर्णय गर्दै ऋण लगानी र असुली गरिएको छ । बचतकर्ताहरुको घेरामा परेका बेला बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्यको उपस्थितिमा बचतकर्ताहरुको सबै रकम फिर्ता गर्छु भन्दै कागज गरेका डम्बर अहिले अध्यक्ष नै आफू नभएको करकापमा कागज गरेको फर्जी कागजात लेखेर अदालत पुगेका छन् । उनले कार्यालय बन्द रहने सूचना आफ्नै हस्ताक्षरमा टाँस गरेका थिए । आफै कार्यालय बन्दको सूचना टाँस गरेर आफै म अध्यक्ष छैन भनेर जाने नौटङ्की र ठगीको पराकाष्ठा के हुन सक्छ ?  कुमार आफैले व्यक्तिगत रुपमा १ करोड ३६ लाख ९१ हजार ५ सय ८३ रुपैयाँ खर्च गरेको रेकर्डमा उल्लेख छ । उनले सहकारीबाट लगानी गरेको ऋण पनि परिवारका सदस्यमा मात्रै छ । ७ करोड भन्दा धेरै रकम उनले आफ्नै परिवारका सदस्यलाई लगानी गरेका छन् । बनेपा शाखाबाट ४४ जनाले लिएको ऋण मध्ये अशोक चौलागाई सानिआमाका छोरा, गणेशप्रसाद दुलाल मामा, सृजना दर्लामी मगर (कुमारको एकाघर), गायत्रराज ठकुरी (आफन्त), लक्ष्मी चौलागाई गौतम (बुहारी), उद्धव गौतम (भाइ माइलो), विशाल रानाभाट(उनको नाममा आफै चलाएको १९ लाख), गंगा श्रेष्ठ गौतम (माइली बुहारी), सहदेव चौलागाई(जेठान), मनिष कर्की (पसल प्रतीक सुज), नवराज धिताल (नाताको ज्वाइँ), देवी मल्ल (आफन्त) र अधिकांश ऋणीहरु रामेछापकै उनका गाउँका छन् । कतिलाई जानकारी नभईकन पनि कुमारले उनीहरूको नागरिकता फोटोकपीका आधारमा ऋण लगानी गरेर आफै खर्च गरेका छन् ।

कुमारले सहकारी लिनु अघिका संचालकहरुविरुद्ध उनकै बाबु डम्बरबहादुर मुद्दामा गएका हुन् । बचत उठाउने, आफ्नै परिवारका सदस्य राखेर सहकारी सञ्चालन गर्ने र ऋण समेत लगानी गरिरहँदा पनि बचतकर्ताहरुले ब्याजको लोभमा प्रश्न उठाएका थिएनन् । जब प्रश्न उठ्यो कुमारलाई फरार गराउँदै बाबु डम्बरबहादुर अदालत पुगे । जुन आफैले गरेको कागज र सम्झौता विपरीत थियो । उनीहरूको मनसाय नै ठगी गरेको रकम नतिर्ने भन्ने रहेको बचतकर्ताहरुले बताएका छन् । कानुनी कारबाही मार्फत बचत फिर्ताका लागि पीडितहरुले दैनिक जसो सरकारी कार्यालय धाएको भए पनि कसैले सुनुवाइ गरेको छैन । जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ पनि मौन छ । बनेपामा पारिवारिक रुपमा सञ्चालन भएका अन्य थुप्रै सहकारी छन् । शहरी क्षेत्रमा व्यक्तिगत रुपमा सञ्चालन भएका अधिकांश सहकारी संकटमा छन् । तर सामूहिक रुपमा सञ्चालन भएका सहकारीहरुमा वित्तीय सकंट छैन । अधिकांश सहकारीहरुले सहकारी ऐन र कार्यविधि पालाना भने गरेका छैनन् । छाता संगठनहरुमा समेत ऐन कार्यान्वयन हुन सकेको छैन ।

काभ्रेमा पछिल्लो दुई वर्षमा भागेका सहकारी
१) विनायक

२) अखण्ड

३) मालाश्री

४) पुण्यश्वर

५) द्रौपदा

६) सत्कार

७) एशियन स्टार

८) स्वर्णिम

संकटग्रस्त

१) मुकुल

२) युनिटी

(कुल १७ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको विभागमा दर्ता भएको उजुरीमा उल्लेख छ ।)

प्रतिक्रिया दिनुहोस्