वी लभ यू फाउन्डेसनद्वारा चन्द्रागिरी डाँडाको पार्कमा वृक्षारोपण



भक्तपुर ।

अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले आमाकाे प्रेम सारा स‌ंसारमा भन्ने नाराभित्र ‘आमाको उद्यान परियोजना’ अन्तर्गत आज चन्द्रागिरी डाँडाको महादेवथान नयाँ पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

चन्द्रागिरी नगरपालिकाको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा २०० वटा रूखका विरूवाहरू रोपिएका छन् । जसअन्तर्गत ७० वटा गोल्डेन स्क्याल्प, ३० वटा एभोगाडो , ५० वटा धूपी, १० वटा अम्बा, २० वटा बरगन्डी बेरी र ५ स्प्रस बेरी गरी विभिन्न प्रजातिका रूखका विरूवाहरू रोपिएको हो ।

कार्यक्रममा पूर्व कृषि मन्त्री तथा वागमती प्रदेश सांसद केशव पोख्रेलले भौतिक पूर्वाधार विकास साथै वातावरणलार्ई जोगाउनु पनि वर्तमान समयको आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।

त्यस्तै मेयर घनश्याम गिरीले वी लभ यू फाउन्डेसनले ठाउँमा–ठाउँमा गरिरहेको यस किसिमको कार्यले समाजको विकास पनि हुने वरिपरिको वातावरण पनि स्वच्छ हुने कुरामा जोड दिँदै रोपिएका विरूवाहरूको नियमित हेरचाह र पानीको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै वी लभ यू फाउन्डेसन नेपालका सल्लाहकार, नारायण श्रेष्ठले जलवायु परिवर्तन र वातावरणीय प्रदूषण झन–झन गम्भीर बन्दैगएपछि हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्ने आवश्यकता बढ्दै गएको र आमाको उद्यान परियोजना मार्फत विश्वव्यापी गाउँका सबै क्षेत्रहरूमा हरियो वन तयार पारेर भावी पुस्तालाई स्वस्थ पृथ्वी हस्तान्तरण गर्न सकौं भन्ने कुरामा जोड दिनुभयो । यस गतिविधिले पार्कलाई हरियाली बनाउन र नागरिकहरूमा वातावरणीय सचेतना जगाउन योगदान पुग्ने अपेक्षा फाउन्डेसनले गरेको छ ।

वृक्षारोपणको उक्त कार्यक्रममा ललितपुर, पुतलीसडक, चन्द्रागिरी, इमाडोल, गोदावरी, रविभवन, बालकुमारी, सुनाकोठीबाट करीब ३०० जना सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा एकै स्वरमा वी लभ यूु भन्ने नारा लगाउँदै वातावरणलाई सुन्दर र सफा राख्न अन्य सहभागी व्यक्तिहरू र स्थानीय बासिन्दाहरूलाई पनि हौसला प्रदान गरिएको थियो ।

कार्यक्रममा बाग्मती प्रदेश सांसद माननीय रमा आलेमगर तथा यमुना श्रेष्ठ र चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको उपस्थिति रहेको थियो । मानव–जातिको हितका लागि जलवायु परिवर्तनसँग लड्न र कार्बन उत्सर्जन न्यूनीकरण गर्न नेतृत्व लिइरहेको अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले ‘आमाको उद्यान परियोजना’ मार्फत स्वदेश तथा विदेशमा वृक्षारोपण कार्यक्रमहरू गरिरहेको छ ।

Un DGC को सहकारी संस्था वी लभ यूले ‘‘आमाको प्रेम सारा संसारमा’’ भन्ने नाराअन्तर्गत वातावरण संरक्षण लगायत आपतकालीन राहत, गरिबी तथा भोकमरी उन्मूलन, पानी तथा सरसफाई, र चिकित्सा तथा स्वास्थ्य सहयोग जस्ता कल्याणकारी गतिविधिहरू पनि निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्