राष्ट्र र राष्ट्रबासीको सेवामा तल्लीन हुन प्रधानमन्त्रीको निर्देशन



भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवसैनिक अधिकृतहरूलाई सैनिक सेवाको अन्तिम घडीसम्म सेवा कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लिन हुन निर्देशन दिनुभएको छ ।

भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीहरूलाई आयुक्त पद प्रदान कवाज प्रर्दशन कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ठ ढंगबाट सम्पादन गर्दै, जनताको सेवामा समर्पित हुँदै नेपाली सेनाको छबिलाई थप उचाईमा पुर्याउने जिम्मेवारी नव आयुक्तहरुमा थपिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरू र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको सही आँकलन गरि जटिल चुनौतीहरूबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशिलता आजको आवश्यकता हो ।
प्रम प्रचण्डले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्नसक्ने गतिशिलता आजको आवश्यकता भएको बताउनुभयो ।

नेपाली सेनाले हाँसिल गरेको राष्ट्र र जनताको विश्वास यसको कार्य सम्पादनमा स्पष्ट झल्कने गरेको उहाँले चर्चा गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले देशभित्र मात्रै नभई देश बाहिरसमेत नेपाली शान्ति सेनाको रूपमा विश्वका बिभिन्न द्वन्द्वग्रस्त देशहरूमा शान्ति दूतको रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ पुर्याएको योगदानले नेपाललाई शान्ति सैनिकहरूको देशको रूपमा चिनाउन सफल भएको बताउनुभयो ।

प्रचण्डले सुरक्षा चुनौतीका साथैै भविस्यमा देखा पर्नसक्ने अन्य चुनौतीको सामना गर्न नेपाली सेना सदैव सजग, सतर्क एवं तयार रहने विश्वास व्यक्त गर्नुभयो । संसारभरी बीर गोर्खालीको देश भन्ने पहिचान पनि नेपाली सेनाकै बहादुरी र वीरताबाट हाँसिल भएको हो भन्दै उहाँले यस पहिचानलाई नेपाली सेनाले आधुनिक हातहतियार, प्रबिधिमैत्री, तालिम, श्रोत साधन र सम्पन्न उच्च हौसला युक्त उत्कृृष्ट सेनाको रूपमा स्थापित गरेको बताउनुभयो । संबैधानिक सरकारको मातहत र निर्देशनमा व्यबसायिक एवं मर्यादित संगठनको रूपमा स्थापित गर्न नेपाली सेनाले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले विश्वशान्ति स्थापनार्थ पुर्याएको योगदानले नेपाललाई शान्ति सैनिकहरुको देशको रूपमा चिनाउन सफल भएको बताउनुभयो । नेपाली सेना बहुआयामिक, सबल, सक्षम एवं सुदृढ संगठनको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित भएको भन्दै उहाँले वर्तमान अबस्थामा हाम्रो मुलुक बिभिन्न परिस्थितिबीच समृद्ध भविस्यतर्फ उन्मुख रहेको चर्चा गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “विकास र सम्बृद्धिका लागि नियम संगत सुरक्षा र सुरक्षा सुदृढीकरणका लागि विकास अपरिहार्य छ ।” वर्तमान अबस्थामा तालिम लिने शिक्षार्थीहरू बढ्दै गएको तर तालिम इलाका घट्दै गएको अबस्थामा त्यसको समस्या समाधानका लागि यस तालिम केन्द्रको उपकेन्द्र निर्माणका लागि आफ्नो तर्फबाट पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले तालिममा मित्र राष्ट्र बंगलादेश, श्रीलंका र जाम्बियाका एक–एक जना अधिकृत समेत यो कवाजमा सहभागि भएको र विगतमा पनि बिभिन्न मित्र राष्ट्रबाट १० वर्षमा २३ जना आयुक्त भएको थाहा पाउदा खुसी लागेको बताउनुभयो ।

सि.नं ६० अधिकृत क्याडेट तालिममा ८६ जना र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिममा ३५ जनाले तीनवर्षे तालिम पूरा गरि आयुक्त पद प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सि.नं ६० अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने कृष्ण खड्का र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने खगेन्द्र कार्कीलाई खुकुरी तथा महिलातर्फ उत्कृष्ट हुने अप्सरा बुढाथोकीलाई छडि अवार्ड प्रदान गर्नुभयो ।

कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्