फिल्म र बहुभाषिक म्युजिक भिडियो अवार्ड हुने



केटीएम अनलाइन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडका अध्यक्ष दीपजोन गुरुङको संयुक्त आयोजनामा जापानमा नेपाल फिल्म तथा बहुभाषिक म्युजिक भिडियो अवार्ड २०२३ हुने भएको छ।

हालै राजधानीमा अभिनेता कृष्ण मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा बहुविधामा पुरस्कार दिने, अग्रज कलाकारलाई सम्मान गर्ने र नेपाली फिल्म तथा बहुभाषिक म्युजिक भिडियोको प्रवद्र्धन गर्ने उद्देश्यले अवार्ड कार्यक्रम गर्न लागिएको जनाइएको छ। विषयगत विज्ञ रहेको निर्णायक मण्डलले तोकिएबमोजिम अवार्डको सिफारिस गर्नेछन्। नेपाली फिल्म तथा बहुभाषिक म्युजिक भिडियोको अवलोकनपश्चात् छनोट भएका कलाकारलाई नाकानो कु, नाकानो २+९+७ टु १६४+००१ टोकियो जापानमा हुने समारोहका बीच पुरस्कृत गरिने छ। कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिनेछ तथा नेपाली र जापानी लोक संस्कृतिसम्बन्धि सांस्कृतिक कार्यक्रम हुने कार्यक्रममा जानकारी गराइयो।

नेपाली फिल्म तथा बहुभाषिक म्युजिक भिडियोका विभिन्न विधागत क्षेत्र चयन गरि दुवैतर्फ उत्कृष्ट अवार्ड प्रदान गरिने जनाइएको छ। अवार्ड समारोहमा अग्रज फिल्म कलाकार, नायक, नायिका, गायक, गायिका तथा अन्य प्राविधिक व्यक्तित्वमा दीर्घ साधना सम्मानद्वारा सम्मानित गरिने छ। फिल्म तथा म्युजिक भिडियोतर्फ उत्कृष्ट नायक र नायिका, उत्कृष्ट निर्देशक, गायक र गायिका, उत्कृष्ट छायांकार, गीतकार, संगीतकार, कम्पोजर, एडिटर तथा अन्य प्राविधिक क्षेत्रका सर्जकलाई पुरस्कार प्रदान गरिने छ। त्यसैगरी बहुभाषिक म्युजिक भिडियोतर्फ उत्कृष्ट नायक र नायिका, मोडल, गीत, संगीत, गायक र गायिका, संगीतकार, एरेन्जर, सम्पादन, कोरियोग्राफी, पोस्ट पोडक्सन, मेकअप, हेयर तथा विधागत पुरस्कारद्वारा पुरस्कृत गरिने जनाइएको छ।

नेपाल र जापानको संयुक्त सांस्कृतिक प्रस्युति सहितको कार्यक्रम आगामी वैशाख ३० गते जापानमा हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्