ओम शंकर श्रेष्ठको उपन्यास ‘सम्बन्ध’ विमोचित



काठमाडौं ।

भिक्षु जीवनमा आधारित ओम शंकर श्रेष्ठको उपन्यास ‘सम्बन्ध’ विमोचित भएकाे छ। जीवनबाट निराश भएर भिक्षु जीवन अँगाल्ने, फेरि भिक्षुत्व त्याग्ने र फेरि पनि निराशासहित भिक्षुत्व ग्रहण गर्ने विषयवस्तुमा आधारित श्रेष्ठद्वारा लिखित सामाजिक उपन्यास ‘सम्बन्ध’ विमोचित भएको हाे।

काठमाडौंको रेडक्रस मार्गस्थित सोभिनियर्स ग्यालरी क्याफेमा बिहीबार आयोजित एक कार्यक्रममा बौद्ध धर्मसँग सम्बन्धित उपन्यासको विमोचन गर्दै हास्यव्यंग्यकार मदनकृष्ण श्रेष्ठले विमोचित उपन्यास र उपन्यासकारबारे चर्चा गरेका छन् ।

त्यसैगरी, अर्का हँस्यव्यग्यंकार आचार्यले विमोचित उपन्यासले बुद्धको ज्ञान र दर्शनसँग पाठकलाई जोड्ने र ज्ञान आर्जन गर्न सहयोग पुग्ने चर्चा गरे।

उपन्यासकार श्रेष्ठले मानव र समाजको गतिविधि मात्र नभई समस्या समाधानको विषयलाई पनि आफूले उपन्यासमा प्रस्तुत गरेको जनाउँदै सामाजिक कथावस्तुको उपन्यासलाई आधुनिक परिवेशमा पस्केको बताए।

शिक्षक, साहित्यकार, पत्रकार, कलाकार र गीतकारको बहुआयामिक परिचय निर्माण गरेका श्रेष्ठको सम्बन्ध तीन सय चार पृष्ठको छ। उपन्यास रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो। ओमशंकरले यसअघि यथार्थ कथा संग्रह बजारमा ल्याइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्