मन्त्री  दुलालद्वारा आयोजनाहरुको अनुगमन 

९३  किलोमिटरको लामो  जनमुक्ति मार्ग बन्दै 



काभ्रे ।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले काभ्रेको महाभारत गाउँपालिकाका आयोजनाहरुको  अनुगमन गर्नु भएको छ।  महाभारत गाउँपालिका महादेवटार तीनखुट्टेदेखि गाउँपालिका  केन्द्रसम्म पुग्ने ८.७ किमी सडक कालोपत्रे र दुई  वटा पुल समयमै निर्माण सम्पन्न नभएपछि मन्त्री दुलाल नेतृत्वको टिमले शुक्रबार अनुगमन गरेको हो।

अनुगमनपछि  आयोजित सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री दुलालले काभ्रे मंगलटार स्थित बिपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुर स्थित मदनभण्डारी लोक मार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गर्ने उद्घोष गर्नुभयो।

उक्त मार्गका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षबाट नै काम सुरु गर्ने गरी २ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित गर्ने मन्त्री दुलालले प्रतिबद्धता जनाउनुभएको छ । ९३ किलोमिटरको जनमुक्ति मार्गलाई प्रदेश राजमार्गको रुपमा विकास गर्ने उहाँको भनाई छ ।

यो मार्गले काभ्रेको विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका तथा मकवानपुर जिल्लाका नागरिक लाभान्वित हुनेछन् ।
सोही  कार्यक्रममा स्थानीयले भने संघ, प्रदेश र स्थानीय सरकारले घोषणा गरेका महत्त्वपूर्ण आयोजना अलपत्र परेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

सडक, पुल, विद्युतको क्षेत्रमा महत्त्वाकाङ्क्षी योजना अघि सारिएपनि उपलब्धि भने निराशाजनक रहेको उनीहरुको गुनासो छ । महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडक कालोपत्रेको योजना ३ वर्षमा पनि पुरा नभएको उनीहरुको गुनासो थियो ।

उक्त सडक खण्ड अन्तर्गत ८ दशमलव ७ किलोमिटर सडक २ वर्षभित्र पुरा गर्ने गरी काम सुरु भएपनि अहिलेसम्म प्रगती निराशाजनक छ । थपिएको १ वर्षको अवधिमा समेत ३० प्रतिशत पनि काम भएको छैन । यस्तै तीन खुट्टेमा निर्माणाधीन पक्की पुलको पनि उल्लेख्य काम भएको छैन । मंलटार–पिंथली–रजबास–भुमेचुली–चारकिल्ला–तीनखुट्टे सडक पनि अलपत्र छ ।

ठेकेदारको लापरबाहीले समयमै काम सम्पन्न हुन नसकेको स्थानीयको गुनासोपछि मन्त्री दुलालले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिनुभएको छ । सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीको कम्पनी कालोसूचीमा राख्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान दोङ, प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री रत्नप्रसाद ढकाल, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, महाभारत गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, भौतिक पूर्वाधार मन्त्रालयका सचिव शंकर प्रसाद पण्डित लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्